७ वैशाख २०८१ शुक्रबार
अर्थ

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेका सुपथ मूल्य पसलमा उपभोक्ताले लाभ लिएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले पसल सञ्चालन गरेका हुन्। 

असोज १ गतेबाट सञ्चालन गरेका पसलमा उपभोक्ताको  भिड लागेको छ। मुलुकका ७५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ। आम उपभोक्तालाई सुविधा दिनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४३ स्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले ३२ स्थानमा सुपथ पसल सञ्चालनमा ल्याएका हुन्।

कर्पोरेसनले उपत्यकाका कालिमाटी, कोटेश्वर, सतुंगल, जावलाखेल र भक्तपुर गरी ६ स्थानमा सञ्चालनमा गरेको छ। साल्ट ट्रेडिङले उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर,लहान, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, भैरहवा, कृष्णनगर, दाङ, सुर्खेत, नेपालगञ्ज, टिकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेलधुरा, बेलौरी र त्रिशुलीमा पसल सञ्चालन गरेको छ।

खाद्य कम्पनीले उपत्यकाको थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायक पसल गरेको छ। खाद्य व्यापार कम्पनी र कर्पोरेसनले विगतका वर्ष सँग–सँगै आउटलेट सञ्चालन गर्दै आएकोमा यो वर्ष कोभिडको कारण भिडभाड नहोस भनेर छुट्टा–छुट्टै आउटलेट राखेका छन्।

सुपथ मूल्य पसलमा चिनी, नुन लगायतका खाद्य वस्तुमा छुट दिइएको छ। कर्पोरेसन, व्यापार कम्पनी र दुग्ध विकास संस्थाले नुन, चिनी, घीउ, पनिर, चामल लगायतका खाद्य वस्तुमा छुट दिएका छन्। खाद्यका पसलहरुमा नून किलोमा दुई रुपैयाँ, दालमा पाँच रुपैयाँ चिउरामा पाँच रुपैयाँ, आटा पाँच रुपैयाँ, तेल (तोरी) पाँच रुपैयाँ,तेल (सूर्यमुखी) पाँच रुपैयाँ, चिनी पाँच रुपैयाँ, चामलमा पाँच रुपैयाँ, सिमीमा १० रुपैयाँ, फापर १० रुपैयाँ र तेल (भटमास)मा १० रुपैयाँ छुट रहेको छ।

खाद्य तथा व्यापार कम्पनीले चामल, दालमा प्रतिकिलो पाँच रुपैयाँ, खाने तेलमा लिटरमा ब्राण्ड दुग्ध विकास संस्थानले घीउ र पनिरमा छुट दिएको छ। संस्थानले केन्द्रीय कार्यालय लैनचौर, न्युरोड, खुमलटारबाट छुट दिएको छ। एक लिटर घीउमा ५० रुपैयाँ, पनिर २०० ग्राममा पाँच रुपैयाँ, आधा केजीमा १० रुपैयाँ र एक किलोमा २० रुपैयाँ छुट दिएको संस्थानले जनाएको छ।

सुपथ मूल्य पसलमा नुन प्रति किलो १८ रुपैयाँ र चिनी ७९ रुपैयाँ किलोमा बिक्री गरिरहेको साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेश कुमार झाले बताए। ‘अन्य वस्तु पनि न्यूनतम मूल्यमा बिक्री गरेका छौं,’ झाले भने, ‘चाडपर्वमा उपभोक्ताको सुविधाका लागि सहुलियत पसल सञ्चालनमा ल्याएका हौं ।’ झाका अनुसार तीन वटा घुम्ती पसल पनि सञ्चालन भएको छ। ‘उपभोक्ताले अर्डर गरेमा घुम्ती पसलबाट पनि सेवा दिन्छौं,’ उनले भने, ‘सहुलियत पसलबाट आम सर्वसाधारणले लाभ लिन सक्छन्।’

खाद्यका आफ्ना डिपो भएका जिल्लासहित ४३ स्थानमा आउटलेट सञ्चालनमा ल्याएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मोहन प्रकाश चन्दले जानकारी दिए। ‘आउटलेट मात्र नभएर अनलाइन अर्डरका आधारमा सेवा दिएका छौं,’ चन्दले भने, ‘उपभोक्ताको सहजताका लागि निःशुल्क होमडेलिभरीको व्यवस्था मिलाएका छौं।’ मुलुकका सुगम क्षेत्र मात्र नभएर दुर्गम क्षेत्रमा पनि सहुलियत दरमा चामल लगायतका खाद्यान्न बिक्रीको व्यवस्था मिलाएको छ। खाद्यका पसलमा दाल, चामलका विभिन्न भेराइटी रहेका छन्। ‘सस्तोदेखि मिठो मसिनो चामलमा पनि किलोमा पाँच रुपैयाँ छुट दिएका छौं,’ सिईओ चन्दले भने, ‘उपभोक्ताले फरक स्वाद लिन पाउँछन्।’

उपभोक्ताले आफूलाई अनुकूल पर्ने स्थानमा गएर खाद्यवस्तु खरिद गर्न सक्नेछन्। व्यापार कम्पनीले खाद्य वस्तुमा छुट दिइ निःशुल्क होमडेलिभरी गर्ने जनाएको छ। सस्तो डिल, मुकुन्डो नेपाल र आइ सेलेक्ट जस्ता ई–कमर्स प्लेटफर्म मार्फत फ्री डेलिभरीको व्यवस्था मिलाएको चन्दले बताए।  

बजारमा मूल्य वृद्धि हुने भएकाले मूल्य नियन्त्रण गर्दै सन्तुलन कायम गर्नका लागि पनि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। सहुलियत पसलका लागि सरकारले तीन करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ। मन्त्रालयका अनुसार व्यापार कम्पनीलाई एक करोड ७५ लाख रुपैयाँ र कर्पोरेसनलाई एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको हो। सरकारी स्वामित्वका संस्थानहरुले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलको कारण बजारमा मूल्य वृद्धि नियन्त्रण हुन सघाउ पुग्ने विश्वास लिएको छ।

प्रकाशित: १८ आश्विन २०७८ ११:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App