coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

दसैंलाई ७० हजार खसीबोका तयार

चाडपर्वलाई लक्ष्य गरेर सहरी क्षेत्रमा बिक्री गर्न करिब ७० हजार खसीबोका तयारी अवस्थामा रहेको पशु सेवा विभागले जनाएको छ। दसैं, तिहारमा खसीबोकाको मासु अभाव नहोस् भनेर उत्पादनका पकेट क्षेत्रबाट सहरी क्षेत्रमा ल्याउने तयारी भइरहेको छ।

विभागले हेफर इन्टरनेसनलमार्फत लिएको तथ्यांक अनुसार करिब दुई हजार पशुपालक सहकारीका सदस्यले चाडपर्वलाई करिब ५० हजार खसीबोका बिक्रीका लागि तयारी अवस्थामा राखेका छन्। त्यसैगरी, बाख्रा व्यवसायी संघमा आवद्ध किसान २०–३० हजार खसीबोका बेच्ने योजनामा छन्।  

दसैंलाई ७० हजार खसीबोका बिक्री गर्न तयारी अवस्थामा रहेको पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताए। ‘चाडपर्वमा खसीबोकाको मासु अभाव हुँदैन,’ ढकालले भने, ‘स्वदेशी उत्पादन पनि पर्याप्त छ। केही भारतबाट पनि आउँछ।’ बाख्रापालनका पकेट क्षेत्रमा तयारी अवस्थामा रहेकाले मागका आधारमा आपूर्ति हुने विभागले जनाएको छ। ‘तयारी अवस्थामा रहेका खसीबोका मागका आधारमा बजारमा बिक्री गरिन्छ,’ ढकालले भने।

खसीकोबा धेरै उत्पादन हुने उदयपुर, सिन्धुली, खोटाङ, सिराहा, सल्यान, दाङ, कैलाली, जाजरकोट लगायत जिल्लाबाट सहरी क्षेत्रमा खसीबोका बिक्री गर्न ल्याउँछन्। राजधानी उपत्यका सहित पोखरा, चितवन, विराटनगर, नेपालगन्ज, बुटवल लगायत ठूला सहरमा बिक्री गर्ने योजना छ। दसैंको एक हप्तामा उपत्यकामा मात्र ५० हजार हाराहारी खसीबोका खपत हुन्छ। कोभिड–१९ को संक्रमण बाँकी रहेकाले यो वर्ष खपतमा केही कमी आउने सम्भावना छ। दसैंमा स्वस्थ्य मासु आपूर्ति गर्न विभागले कार्ययोजना पनि तयार गरेको छ।

पशु सेवा विभागका अनुसार मुलुकमा वार्षिक पाँच लाख ५२ हजार मेट्रिक टन मासु उत्पादन हुन्छ। तीन सय ९८ मेट्रिक टन मात्र विदेशबाट आयात भएको छ। एकजनालाई वार्षिक न्यूनतम १४ किलो मासु उपलब्ध हुनुपर्नेमा आवश्यकताभन्दा धेरै उपलब्ध रहेको विभागको दाबी छ। ‘औपचारिक च्यानलबाट मुलुकमा खपत हुने मासुको ०.०७ प्रतिशत मात्र आयात भएको छ,’ प्रवक्ता ढकालले भने।

कुखुराको मासुमा मुलुक आत्मनिर्भर भए पनि खसीबोका भने भारतबाट आयात भइरहेको व्यवसायीको दाबी छ। चौपाया खरिदबिक्री संघको दाबी अनुसार अझै मुलुकभित्र खपत हुने करिब ४० प्रतिशत खसीबोका भारतबाट आयात भइरहेका छन्। सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन नगर्दा विदेशबाट आयात भइरहेको चौपाया खरिदबिक्री संघका अध्यक्ष दीपक थापा बताउँछन्। स्वदेशी उत्पादन वृद्धि भएर केही आयात प्रतिस्थापन भए पनि अझै भारतको भर पनुपर्ने अवस्था रहेको थापाले बताए।  

‘मुलुकमा खपत हुने खसीबोकाको मासुमा ६० प्रतिशत स्वदेशी उत्पादनले धानेको छ,’ संघका अध्यक्ष थापाले भने, ‘४० प्रतिशत भारतबाटै आइरहेका छन्।’ विगतमा बजारमा खपत हुने खसीबोका ८० प्रतिशत भारतबाट आउने गरेकोमा उत्पादन भने वृद्धि भएको थापाले बताए। ‘केही उत्पादन वृद्धि भएको छ,’ थापाले भने, ‘अपेक्षाकृत वृद्धि हुन सकेन।’

स्वस्थ्य प्रमाणपत्र लिएर भारतबाट पनि आयात हुने गरेको विभागले जनाएको छ। ‘विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएकाले विदेशबाट आयातमा रोक लगाएका छैनौं,’ विभागका प्रवक्ता ढकालले भने, ‘स्वस्थ्य प्रमाणपत्र भएका खसीबोका आयात गर्न छुट छ।’ विदेशबाट न्यून मात्रामा खसीबोका आयात भइरहेको विभागले जनाएको छ।

चाडपर्वमा मासुको खपत धेरै हुने भए पनि कोभिड–१९ को कारण यो वर्ष व्यवसायी अन्योलमा रहेको थापाले बताए। विगत वर्षमा दसैं, तिहारलाई लक्ष्य गरेर तयारी गर्ने गरेकोमा यो वर्ष खासै तयारी नभएको संघले जनाएको छ। निरन्तर वर्षा, ढुवानीमा झन्झट, बाटोको समस्या लगायतका कारण कठिनाइ रहेको संघका अध्यक्ष थापा बताउँछन्।

दसैंमा खसीबोकाका साथै भेडाच्यांग्राको खपत पनि वृद्धि हुन्छ। विगत वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकामा भेडाच्यांग्रा ल्याएर बिक्री गर्ने गरेकोमा यो वर्ष नल्याउने भएको छ। व्यापारीले करिब चार हजार भेडाच्यांंग्रा ल्याउने तयारी गरेका छन्। भेडाच्यांंग्रा खरिद गर्न व्यापारी मुस्ताङ गएका छन्।  

दसैं–तिहारमा मांसाहारीले घरघरै खसी–बोका काट्ने परम्पराले मासुको माग उच्च हुने भएकाले भारतबाट खसीबोका ल्याउने गरिएको हो। भारतबाट मात्र नभएर चीनको केरुङ, तातोपानी, मुस्ताङको कोरला नाका हुँदै भेडाच्यांग्रा ल्याउने गरेकोमा यो वर्ष चीनको कडाइको कारण आउने सम्भावना कम छ। हिमाली क्षेत्रमा भेडाच्यांग्रा पाल्ने किसानले चीनको सीमा क्षेत्रबाट किनेर ल्याई मिसाएर बेच्ने गरेका थिए।

संघका अध्यक्ष थापाका अनुसार हिमाली जिल्लाबाट करिब चार हजारको संख्यामा भेडाच्यांग्रा ल्याउने तयारी छ। ‘विगतका वर्ष जस्तो यो वर्ष बजारमा धेरै संख्यामा भेडाच्यांग्रा आउँदैनन्,’ थापाले भने, ‘कम आउने भएकाले मूल्य वृद्धिको सम्भावना छ।’  

अहिले उपत्यकामा भारतबाट करिब ६ हजार खसीबोका आयात भइरहेको संघका अध्यक्ष थापाको दाबी छ। चाडपर्वमा आयातदर बढ्छ। केही खसीबोका खुला सीमाको फाइदा उठाउँदै चोरी पैठारी गरेर पनि आउने गरेका छन्। बजारको माग अनुसार स्वदेशमा पर्याप्त उत्पादन नहुँदा मासुमा भारतीय निर्भरता कायमै रहेको संघले जनाएको छ। ‘सरकारले मासुमा आत्मनिर्भर हुने घोषणा गरे पनि भारतकै भर पर्नुपर्ने बाध्यता छ,’ अध्यक्ष थापाले भने।

पहाड, तराईमा बाख्रापालन र हिमाली जिल्लामा भेडाच्यांग्रापालनलाई प्रोत्साहन गर्न वार्षिक अर्बौं रूपैयाँ लगानी गर्दै आए मासु आयात रोकिएको छैन। चाडपर्वमा सहरी क्षेत्रमा खसी–बोका, भेडाच्यांग्रासहित राँगा, कखुरा, बंगुरको मासुको खपत उच्च हुने भएकाले त्यसको लागि गाउँगाउँबाट पशु ल्याउने तयारी गरिएको छ। मुलुकमा वार्षिक करिब ५५ लाख खसीबोका उत्पादन हुने विभागले जनाएको छ। तीमध्ये उत्पादन भएकै ठाउँमा करिब ७५ प्रतिशत खपत हुन्छ भने बाँकी खसीबोका सहरी क्षेत्रमा बिक्री हुन्छ।

प्रकाशित: १७ आश्विन २०७८ ०२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App