१६ चैत्र २०८० शुक्रबार
अर्थ

सात वर्षमा पनि बनेन पुल

सात वर्षअघि पुल निर्माण सुरु हुँदा बकैया नदीको दुवैतिरका स्थानीयबासीमा जुन उत्साह र खुसी थियो, त्यो विस्तारै मर्न थालेको छ। निर्माण व्यवसायीले पुल निर्माणको काम अधुरै छाडेपछि स्थानीय निराश हुन थालेका छन्।

जिल्ला सदरमुकाम गौरलाई पश्चिमी रौतहटसित सडक सञ्जालले जोड्न नदीको टिकुलिया घाटमा सात वर्षपहिले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुल शिलान्यास गरेका थिए। त्यसको केही समयसम्म पुल निर्माण द्रुत गतिमा भएको थियो। तर अचानक रोकिएपछि अहिलेसम्म अधुरै छ।  

पुल नबन्दा अधुरो पुललाई हेर्दै स्थानीयबासी कहिले डुंगामा त कहिले बाँसको पुल बनाएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। कहिलेकहीँ नदीमा घाँटीसम्म पानी आउने गरी बाढी तर्नुपर्ने बाध्यता पनि हुन्छ स्थानीयबासीको।

टिकुलियाका अधिकांश गाउँबासीको खेत तथा बारी बकैयाभन्दा पश्चिमतिर छ। गाईवस्तु चराउन, घाँस दाउरा गर्न तथा बालीनाली हेर्न र खेती गर्न सधैं नदी तर्नुपर्ने बाध्यता छ। अनेक जोखिम उठाएर पनि स्थानीयबासी दिनहुँ नदी तर्नुपर्ने बाध्यतामा रहेको स्थानीय सुरज सहनीले बताए।  

२०७१ असार २९ मा १४ करोड ९३ लाखमा पप्पु कन्सट्रक्सनले तीन वर्षमा निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको थियो। २०७४ असार २५ गतेभित्र निर्माण कार्य पूरा गरिसक्नुपर्ने पुलको अहिलेसम्म ४० प्रतिशत मात्र बनेको छ। अत्यन्त कमसल सामग्री प्रयोग गरिएको पुलको ढलान आफैं उप्किएर झर्न थालेको देखिन्छ। पुलको काम देखेर स्थानीय आश्चर्यचकित छन्।  

सदरमुकाम गौरबाट ईशनाथ, राजपुर र परोहा नगरपालिकाका दर्जनौं गाउँतर्फ जान दैनिक हजारौं स्थानीय डुँगा चढेर खोला पारपार गर्छन्। जोखिम उच्च भएपछि कतिपय यात्रु १५ किलोमिटर घुमाउरो बाटो भएर जानुपर्ने बाध्यतामा छन्।

नदी पारिबाट सदरमुकाम गौर देखिन्छ। तर मोटरमा सदरमुकाम पुग्न १५ किलोमिटर बाटो तय गर्नुपर्ने बाध्यता रहेको ईशनाथका स्थानीयबासीको भनाइ छ। पुल निर्माण सम्पन्न भए सदरमुकाम गौरको आर्थिक कारोबारमा वृद्धि हुनुका साथै प्राचीन ईशनाथ मन्दिरमा पनि पर्यटकको चहलपहल बढ्ने सम्भावना छ। लाखौं मानिसको आशाको पुल नबन्दा निराशा छाउनु स्वाभाविक रहेको गौरका बुद्धिजीवी प्रकाश साहको भनाइ छ।

प्रकाशित: १७ आश्विन २०७८ ०१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App