४ वैशाख २०८१ मंगलबार
अर्थ

खाद्यान्न अभाव भएपछि उत्तरी गोरखामा ९३ क्विन्टल चामल ढुवानी

उत्तरी गोरखामा खाद्यान्न ढुवानी गर्दै नेपाली सेनाको हेलिकप्टर।

बाढी पहिरोले अवरुद्ध पैदलमार्ग सुचारु नहुँदा उत्तरी गोरखामा खद्यान्न अभाव भएपछि नेपाली सेनाको हेलिकप्टरबाट ढुवानी गरिएको छ। चुमनुब्री गाउँपालिका वडा नम्बर ६ चुम्चेत र ७ छेकम्पारका लागि खद्यान्न ढुवानी गरिएको हो।  

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाले मंगलवार र बुधवार ९३ क्विन्टल चामल ढुवानी गरेको कम्पनीका गोरखा स्थित कार्यालयका सुचना अधिकारी शिब सुनारले बताए। जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरले चुम्चेतमा प्रति बोरा ३० केजीको एक सय ५७ बोरा चामल ढुवानी गरिएको छ। छेकम्पमार एक सय ९७ बोरा चामल लगिएको उनले बताए।  

हेलिकप्टरबाट ढुवानी गरिएको चामल स्थानीयले प्रतिबोरा एक हजार पाँच सय रुपैयाँमा खरिद गर्न सक्छन्। यस अघि पनि चुमनुब्री गाउँपालिकाको सिर्दिबासमा नेपाली सेनाको हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिएको थियो।  

तिब्बत सँग सिमाना जोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिमा खेती हुँदैन। उच्च हिमाली क्षेत्र रहेकाले त्यहाँ सम्म सडक सञ्जाल पनि पुगेको छैन। खच्चडबाट खाद्यान्न ढुवानी गर्ने पैदलमार्ग भत्किएपछि खाद्यान्न अभाव भएको छ। छ सय घर रहेको चुम्चेत/छेकम्पारमा प्रतिघर एक बोरा पनि चामल नपुगेको गुनासो स्थानीयले गरेका छन्।  

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले गोरखा सदरमुकाम, धार्चे गाउँपालिकाको माछाखोला र चुमनुब्रीको सिर्दिबास डिपोबाट चामल अनुदानमा बिक्री गर्दै आएको छ। चुमनुब्रीका स्थानीय सिर्दिबास सम्म आएर चामल लैजान सक्ने अवस्था नरहेको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए। ‘बाटो खुलाउन हामीले पहल गरिरहेका छौँ’ उनले भने। धार्चे गाउँपालिकाको माछाखोला सम्म सडक जोडिएकाले कम्पनीको चामल बिक्री घटेको छ। 

प्रकाशित: १३ आश्विन २०७८ ११:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App