८ वैशाख २०८१ शनिबार
अर्थ

दुईसय जना पदयात्रा मजदुरलाई १० दिन काम

पदमार्गको झाडि पन्छाउँदै मजदुर

पोखरा क्षेत्रको पदमार्ग सरसफाईमा खटिएका मजदुर काम गर्दै। तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणले गर्दा पर्यटन क्षेत्र डेढवर्षदेखि ठप्प छ। त्यसमा पनि पदयात्रा पर्यटन त झनै मारमा छ। किनकी विदेशी पाहुना बिना पदयात्रा व्यवसाय चल्दैन। पदयात्रा व्यवसाय नचल्दा त्यसमा आश्रित मजदुर कामविहीन भएका थिए । कामविहीन भएका ती मजदुर पलायनको अवस्थामा छन्। घरखर्चको जोहो गर्न समेत उनीहरुलाई हम्मेहम्मे भएको छ।  

कामविहीन भएका उनै मजदुरलाई काममा लगाएर थोरै भएपनि आर्थिक सहयोग गराउने उद्देश्यले अहिले विभिन्न पदमार्गमा काममा खटाइएको छ । खटिएका ती मजदुरले पैदलमार्ग सरसफाई र मर्मतसम्भार गर्नेछन । लामो समय पर्यटकको हिडडुल नहुँदा झाडिले घेरेको पदमार्ग चिटिक्क हुन थालेका छन् । यी मजदुरले पदमार्गमा सामान्य मर्मतसम्भार पनि गर्नेछन । वर्खाको भेलले खोलेको ठाउँमा पुर्नेछन भने दायाँबायाँको झाडि फ्याकेर चिटिक्क पार्नेछन्।  

‘दायाँबायाँको झाडिले बाटो नै ढाकेको छ । ठाउँठाउँमा रुख ढलेर अवरोध गरेको छ। काँडा र सिस्नोको झाडिले पदमार्ग नै हराएको छ,’ बेगनासताल क्षेत्रमा बुधबार काम गरिरहेका पदयात्रा मजदुर विष्णु देवकोटाले भने, ‘झन्डै डेढवर्षदेखि पदमार्ग सुनसान छन् । पाहुनाको हिडडुल नै नहुँदा पदमार्गम नै झाडिमा लुक्न थालेको रहेछ ।’ कोरोना संक्रमण थप नफैलिएमा आगामि दिनमा विदेशी पाहुना आउने अपेक्षा रहेको उनले सुनाए।  

देवकोटा लामो समयदेखि पर्यटन पदयात्रामा कार्यरत थिए। पदयात्रामा जान नपाएपछि उनी घरमै बसेर बाख्रा पाल्न थालेका थिए । थोरै आकारको भएपनि काम पाउँदा आफुजस्ता मजदुरलाई राहत मिलेको उनले बताए । ‘दसैंको बेलामा थोरै भएपनि काम पाउँदा राहत होला भनेका छौ । कम्तिमा चाँडबाँडका बेला मजदुरले आम्दानी गर्न पाउँदा उनीहरुको दैनिकी सहज होला भन्ने हो,’ उनले भने, ‘सबै खर्च धानिन्छ भन्ने त होईन, तर थोरैथोरै कमाई थपिँदै गएर धेरै हुने हो । यही आम्दानी पनि हाम्रा लागि ठुलो भएको छ।’  

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा पर्यटन बोर्ड र टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) मिलेर अहिले पर्यटन मजदुरको जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत अहिले मजदुरलाई काम दिइएको हो । यो परियोजना अन्तर्गत अहिले गण्डकी प्रदेशमा मात्र दुईसय जना पदयात्रा मजदुरले कम्तिमा १० दिन काम पाउनेछन् । 

टान पश्चिमाञ्चल अध्यक्ष सुशीलराज पौडेलका अनसार अहिले मजदुरहरु विभिन्न समुहमा बाँडिएर पोखरा आसपासका पदमार्ग मर्मत र सरसफाईमा खटिएका छन्। उनका अनुसार ३५ जनाको टोली पोखराको ड्यामसाइडदेखि शान्तिस्तुप, महादेव मन्दिर हुँदै पञ्चासेसम्मको रुटमा खटिएका छन् । उनीहरुले झन्डै १५ किलोमिटर पैदलमार्ग सरसफाई गर्नेछन् । त्यस्तै नौडाँडाबाट कास्कीकोट, सराङकोट, मेथलाङ  हुँदै जरेवरसम्मका लागि ३० जना खटिएका छन्। ४६ जनाको अर्काे समुह कास्कीको सार्दिखोला, घलेखर्क, नाँगीडाँडा, तारा हिलटप, थाक हुँदै सिक्लेससम्मको बाटोमा काममा छन्। बेगनासताल वरिपरिको पदमार्गको सफा गर्न ३० जना जुटेका छन्।  

त्यस्तै बिरेठाँटी, दाङसिङ मोहरिया, थम्डाँडा हुँदै देउराली तथा घोरेपानी र घान्द्रुकसम्म बाँडिएर अरु २० जनाले काम गर्नेछन्। २५ जनाको अर्काे समुह विहीबारदेखि काँडे हुँदै अस्ट्रेलियन क्याम्प, पोथना, प्रितमदेउराली, धम्पुस, अस्ताम हुँदै मेल्बोटसम्मको बाटोमा खटिनेछन । स्थानीय पर्यटन क्षेत्रमा लागेका जनशक्तिलाई परिचालन गर्दै छोमरोङदेखि एबिसीसम्मको रुट पनि सरसफाई गरिनेछ । त्यस्तै सिदिङदेखि मर्दि हिमालसम्म पनि सरसफाई गरिनेछ । त्यहाँ पनि १० जनाको दरले मजदुर काममा खटिनेछन् ।  

‘दसैंअघि कम्तिमा १० दिन यी मजदुरले काम पाउनेछन्। यो अवधिमा २ सय जना मजदुरले काम गर्नेछन,’ पौडेलले भने । पौडेलका अनुसार एकदिन काम गरेबापत मजदुर एकहजार रुपैयाँ ज्याला पाउँछन् । दसैं अघिको अवधिमा एकजना मजदुर कम्तिमा १० हजार रुपैयाँ हात पार्ने उनले बताए । 

‘पदयात्रा पर्यटन ठप्प हुँदा यिनिहरुले काम पाएका थिएनन । काम नपाउँदा आर्थिक अवस्था कमजोर भएर निकै नै आत्तिएका थिए,’ उनले भने, ‘कम्तिमा पदमार्ग, मर्मत र सरसफाईको काम भएपनि पाउँदा मजदुर पनि खुसी छन्।’ काममा खटिएका मजदुरलाई घरेलु औजार उपलब्ध गराइएको छ । मजदुरहरुको सामुहिक रुपमा बैंक खाता खोलिएको छ भने उनीहरुको सुरक्षाका लागि बिमा गरिएको छ ।  

दुई सयजना भन्दा बढी मजदुरले गण्डकीमा मात्र काम पाउँदा मजदुरका लागि मात्र २० लाख रुपैयाँ खर्च हुने उनले बताए । ती मजदुरले दिनको सातघण्टा मात्र काम गर्नेछन। ‘अहिले मजदुर खटिएका रुटको अवस्थाबारे पहिल्यै अनुगमन गरिएको छ । दुईवर्षदेखि पदमार्गमा  पर्यटकको चहलपहल नहुँदा झाडिले छोपेको छ,’ उनले भने, ‘वर्षाका कारण ठाउँठाउँमा भत्केको र भेलले खोलेको थियो । अब मर्मतसम्भार गर्दा हिड्नलायक बन्नेछ ।’  

पर्यटन बोर्ड पोखराको प्रमुख काशीराज भण्डारीका अनुसार दुईसय जना मजदुरले काम पाउने हुँदा त्यसले मजदुरको आम्दानी हुने र पदमार्ग पनि मर्मत हुने भएकोले यसले दोहोरो लाभ दिलाउँछ । ‘अहिलेका लागि नजिकका पदमार्ग मात्र प्राथमिकतामा छन् । किनकी टाढाका पदमार्गमा काममा जाँदा मजदुरको दैनिक खर्च बढी हुन्छ । त्यही भएर अहिले नजिकका गन्तव्यमा काममा खटिएका छन्,’ भण्डारीले भने, ‘तर, टाढाटाढाका गन्तव्यको रुट पनि सरसफाई र मर्मतसम्भारको पर्खाइमा छन् ।’  

भण्डारीले पनि कम्तिमा डेढवर्षदेखि पर्यटक हिडडुल नहुँदा पदमार्ग झाडिमा हराउन थालेका थिए । ‘सबै पर्यटकीय रुटमा स्थानीयबासिको हिडडुल हुँदैन । नितान्त पर्यटक हिड्ने रुट पनि छन् । तर पर्यटकको आउजाउ रोकिँदा ती रुट नै झाडिमा लुक्न थालेका थिए,’ भण्डारीले भने, ‘डेढवर्षपछि बल्ल मर्मतसम्भार र सरसफाई गर्न थालिएको छ । कोरोना संक्रमण बढेन भने आगामि दिनमा विदेशी आउने र हिडडुल गर्दा पदमार्ग पनि चलायमान बन्नेछ ।’

उनका अनुसार हिडडुल नहुँदा बाटोमा पनि झार पलाएको छ। वर्षासँगै ढुंगा, माटो नै बगेको छ । कतिपय ठाउँमा मर्मतसम्भार गर्नुपर्ने अवस्था छ। दायाँबायाँको झाडि फैलिएर पदमार्ग नै हराएजस्तो भएको छ । ‘अब पदमार्ग पुर्ण रुपमा सफा हुनेछ। पर्यटक सुरक्षित भएर हिडडुल गर्न सक्छन्। सरसफाई नगर्ने हो भने हिडडुल गर्न सहज थिएन,’ उनले भने, ‘अब पदमार्ग पनि मर्मतसम्भार हुनेछ भने काम पाउँदा मजदुरलाई थोरै भएपनि आर्थिक लाभ हुनेछ।’ उनका अनुसार अक्टोबर दोश्रो सातासम्म यो काम सकिनेछ। पर्यटकीय गतिविधि हुने अन्य गन्तव्यमा पनि यो कार्यक्रम चलिरहेको उनले बताए।  

प्रकाशित: १३ आश्विन २०७८ ०९:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App