८ वैशाख २०८१ शनिबार
अर्थ

धरानमा बञ्जीको प्रर्वद्धन गर्दै पोखराका पर्यटनकर्मी

नेपालमा पर्यटकीय सिजन शुरु हुनै लाग्दा पोखराका पर्यटनकर्मी साहसिक खेल पर्यटन बञ्जीको प्रर्वद्धन गर्न धरान आइपुगेका छन्। गएको बैशाखदेखि पोखरा १७, रातो पैरोमा बञ्जी सञ्चालनमा ल्याएका बञ्जी नेपाल एडभेञ्चर्स प्रालिका सञ्चालक धरानसहित पुर्वका साहसिक खेलका पारखीहरुलाई लक्षित गर्दै प्रर्वद्धनमा आइपुगेका हुन्। 

प्रालिका अध्यक्ष सन्तोष भटट्राईले धरान र पोखरालाई बञ्जीको माध्यमले पनि जोड्नको लागि प्रर्वद्धन गर्न आएको बताए। ‘पोखरा र धरान साहसिक पर्यटकीय सम्भावनाको सहर हो, हामी यी दुवै सहरबीच सहकार्य गर्न र पर्यटनको माध्यमबाट जोड्न चाहन्छौं,’ उनले भने, ‘यसको लागि हामीले धरानका पर्यटनकर्मीहरुसँग पनि छलफल गरेका छौं।’

धरानमा पनि साहसिक पर्यटनका पारखीहरु बढ्दो छ। यहाँ पछिल्लो वर्षहरुमा पोखरापछि व्यवसायिकरुपमा प्याराग्लाइडिङ शुरुवात भइसकेको छ भने धरानतर्फ पर्ने भेडेटारमा जिपलाइन पनि सञ्चालनमा छ। अध्यक्ष भटट्राईले धरानमा प्याराग्लाइडिङ गरेका पर्यटक पोखरामा आएर आफूहरुले सञ्चालन गरेको बञ्जी गर्न चाहँदा १० प्रतिशत छुट दिने र पोखरामा बञ्जी गरेका पर्यटकलाई धरानमा प्याराग्लाइडिङ गर्न चाहँदा १० प्रतिशत छुट दिने गरी समझदारी भएको बताए। यो समझादारीलाई औपचारिकरुपमा सम्झौता गर्न भने बाँकी नै छ।  

प्रालिका अध्यक्ष भट्टराईले धरानमा बञ्जीको सम्भावना पनि देखेको बताए। तर, यहाँ सञ्चालनमा ल्याउन स्थानीय व्यवसायीबाट नै लगानी हुनुपर्ने उनले बताए। ‘बञ्जीको लागि ठाउँ फराकिलो भएको अग्लो भवन वा दुई डाँडाको बीचमा खोंच हुनुपर्छ, खोचको दुरी २० मिटरको हुनुपर्छ,’उनले भने, ‘मैले यहाँबाट धनकुटासम्म पुग्दा २, ३ ठाउँ देखँे। त्यहाँ सम्भावना छ, हामीले आएर लगानी गर्नेभन्दा पनि यहीका पर्यटनकर्मी साथीहरुले गर्ने हो, हामी सहयोग गर्न तयार छौं।’

भट्टराईले धरान र पूर्वका विभिन्न सहरका साहसिक खेल पर्यटनका पारखीहरुलाई बञ्जी गर्न पोखरा आउन निम्तोसमेत दिए। बञ्जी नेपाल एडभेञ्चर्स प्रालिले गएको बैशाखदेखि पोखरा १७ स्थित रातो पैरोमा नयाँ बञ्जी सञ्चालनमा ल्याएको हो।

यो बञ्जीमा ८ करोड २५ लाख लगानी रहेको छ। क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बञ्जी जम्पको लागि ५५ मिटरको लामो प्लेटफर्म पनि निर्माण गरिएको अध्यक्ष भटट्राईले जानकारी दिए।

सेती नदीको खोंचमा बनेको र फराकिलो हिमश्रृंखलालाई हेर्दै जम्न गर्न पाइने प्रालिको भनाइ छ। बञ्जीको २ वट प्लेटफर्म नदीदेखि १०१ र १०५ मिटरमा रहेको छ। दुई फरक उचाईमा जम्प गर्ने नेपालको यो पहिलो जम्म साइट पनि भएको प्रालिको भनाइ छ। साधारण बञ्जी १०१ मिटर अग्लो प्लेटफर्मबाट गराइन्छ।

यो बञ्जी अन्तरराष्ट्रियस्तरमा लोकप्रिय नाम गो बञ्जीसँगको फ्रेन्चाइज हो। गो बञ्जीकै प्राविधिक सहयोगमा आइएसओ स्टाण्डर्ड अनुसार निर्माण गरिएको छ। बञ्जीकै लागि बनाइएको ३५ मिटर अग्लो टावरमा नेपालकै हिलो पटक टावर क्लाइबिङ पनि शुरु गरिएको प्रालि अध्यक्ष भट्टराईले जानकारी दिए। 

प्रकाशित: १० आश्विन २०७८ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App