१६ चैत्र २०८० शुक्रबार
अर्थ

सरकारको नीति नसच्चिएसम्म आन्दोलन : उपाध्यक्ष साखः

रोलिङ मिल एसोसिएसनका उपाध्यक्ष तथा साखः स्टीलका संचालक किरणप्रकाश साखःले सरकारको नीति नसच्चिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। शनिबार काठमाडौँमा भएको साक्षात्कारमा बोल्दै सरकारको नीतिमा नै ठूलो अन्तर देखिएको र यसले आफूहरु ठूलो मारमा रहेको बताउँदै उनले सो नीतिमा संसोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका हुन्।

सरकारले हालै प्रतिष्ठापन विधेयकमार्फत ल्याएको बजेटमा डण्डी बनाउने ३० वटा उद्योगमध्ये ६ वटा उद्योगले पैठारी गर्ने कच्चा पदार्थ (स्पोन्ज, आईरन) मा शून्य भन्सार र शून्य अन्तशुल्क लगाइएको उल्लेख गर्दै २४ वटा उद्योगले पैठारी गर्ने कच्चा सामान (विलेट) मा भने ४.७५ प्रतिशत भन्सार र प्रतिकेजी २ रुपैयाँ ६५ पैसा अन्तशुल्क पनि लगाएको सुनाए।  

उनले भने, ‘हामी ६ वटा उद्योगले बनाउने डण्डीभन्दा ८ देखि १० रुपैयाँ महँगो हुने भएपछि हामी उहाँहरुसँग प्रतिष्पर्धा गर्न नसकिने, हामीले बरु उद्योग बन्द गर्नुपर्ने अवस्था आएको छ। यसो भएको हुनाले सोही दिनदेखि हामी आन्दोलनमा उत्रिएका हौं। हामीले प्रधानमन्त्रीज्यू र पूर्व प्रधानमन्त्रीज्यूहरुसँग, सरकारमा भएका सबै मन्त्रीज्यूहरु र पार्टीका नेताहरु सबैसँग गुहार माग्न सुरु गरिसकेका छौं। देशका सबै उद्योगहरु देशकै उद्योग हुन्, त्यसमा ६ वटा जिवित हुने र २४ वटालाई जिउनै नसकिने र बन्द गर्नुपर्ने अवस्था सिर्जना हुनु भनेको देशको सम्पत्तिको नोक्सान हो।’

उनले आज नेपालमा औषधी उद्योगहरुले प्रयोग गर्ने कच्चा पदार्थमा पनि शून्य भन्सार नभएको स्मरण गराए। उनले ब्रिज, खाद्यान्न र फोर्टिलाईजरमा पनि शून्य भन्सार नभएको सुनाए। उनले भने, ‘यो फलामे उद्योगले मगाउने स्पोन्जमा शून्य भन्सार, फेरि अर्कोथरिलाई ४.७५ प्रतिशत र अन्तशुल्क लगाउने कहाँसम्मको न्याय हो?’

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत नेपालमा विलेट बनाउने उद्योगहरुको पक्षमा नीतिगत व्यवस्था गरेको उनको आरोप छ। सरकारले चालू आर्थिक वर्षको बजेटबाट विलेट बनाउन प्रयोग हुने स्पन्ज आइरन (कच्चा पदार्थ) को आयातमा भन्सार नलाग्ने र अन्तःशुल्क पनि नलाग्ने व्यवस्था गरेको छ। यस्तै, फलामे डण्डी बनाउन प्रयोग हुने विलेट आयात गर्दा त्यसमा लाग्ने अन्तःशुल्क प्रतिटन १६५० रुपैयाँबाट बढाएर २५ सय रुपैयाँ बनाइएको छ।

सरकारले गरेको यस्तो व्यवस्थाले गुणस्तरीय फलामे डण्डी उत्पादन गरिरहेका २४ उद्योग बन्द हुने र ती उद्योगमा गरिएको करिब १ खर्ब बराबरको लगानी संकटमा पर्ने साखःको भनाइ छ। उनले सरकारको नयाँ नीतिले आफूहरु २४ उद्योगहरु तहसनहस हुने अवस्था आएको दुःखेसो पोखे। उनले कच्चा पदार्थ आउनेमा राजश्व नोक्सान, ओभर ईन्भ्वाईस भएर बहुमूल्य विदेशी मुद्रा चाहिनेभन्दा बढी जाने भयो भन्दै त्यसलाई पनि नोक्सानकै रुपमा दर्ज गरे।   उनले नीति फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने भन्दै भोलिदेखि नै माइतीघर मण्डलामा धर्नामा पनि बस्न सक्ने सुनाए। उनले भने, ‘मर्ता तो क्या नही कर्ता?’  

प्रकाशित: ९ आश्विन २०७८ १०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App