४ वैशाख २०८१ मंगलबार
अर्थ

कुटनीतिक पाहुनालाई पोखरा घुमाइँदै

आइतबार झन्डै ३० जना उच्च पदस्थ पदाधिकारी घुम्नकै लागि पोखरा आउँदै

पर्यटन प्रवर्द्धन हुनेमा विश्वस्तः व्यवसायी

पुम्दीभु्म्दीबाट देखिएको पोखरा सहर । तस्बिरः उमेश पुन/नागरिक

कोरोना संक्रमणपछि खुल्दै गएको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिलाउन कुटनीतिक निकायका उच्च पदाधिकारीलाई पोखरा र आसपासका क्षेत्रमा भ्रमण गराइने भएको छ । पर्यटन क्षेत्रको प्रवर्द्धनमा सघाउने गरि विदेशी कुटनीतिक निकायका पदाधिकारीको एक समूहलाई पोखरा निम्त्याइएको हो ।  

पोखरा घुम्न आउने ती पाहुनाको माध्यमबाट पोखरा र आसपासका पर्यटकीय क्षेत्र घुमफिरका लागि सुरक्षित रहेको सन्देश पुग्ने व्यवसायीको आँकलन छ । पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपिबहादुर भट्टराईका अनुसार पर्यटन बोर्ड, प्रदेश सरकार र पर्यटन व्यवसायीको पहलमा झन्डै ३० जना उच्च पाहुना आइतबार पोखरा आउनेछन् । उनीहरु पोखरा आसपासका गन्तव्यका घुम्नेछन् भने केही साहसिक प्रडक्टको अनुभव पनि उनीहरुले बटुल्नेछन् ।  

‘विभिन्न मुलुकका नेपालस्थित दूतावासका राजदूत सहितका उच्च अधिकारी आउँदा पोखरा सुरक्षित रहेको सन्देश पुर्‍याउने सकिनेमा आशावादी छौ,’ भट्टराइले भने, ‘उनीहरुलाई पोखरामा घुमाउँदा सकारात्मक सन्देश जानेछ । पोखरा सुरक्षित छ, पोखरा पाहुनाको स्वागतमा तयारी अवस्थामा छ भन्ने खालको सन्देश कुटनीतिक पदाधिकारीमार्फत उनीहरुका नागरिकसम्म पुग्नेछ ।’ पोखराको पर्यटनले कोरोनाविरुद्धको खोप लगाईसकेकोले झनै बढी सुरक्षित रहेको भन्ने सन्देश कुटनीतिक निकायका पदाधिकारीमार्फत फैलाउन चाहेको उनले बताए ।  

पोखराको पर्यटन क्षेत्रले कोरोना विरुद्धको खोप लगाईसकेको र अब घुमघामका लागि सुरक्षित छ भन्ने सन्देश फैलाउन आवश्यक रहेको भट्टराइले बताए । व्यवसायीका अनुसार आइतबार पोखरा झर्ने उच्च पाहुना सोमबार यहाँ आयोजना हुने एकदिने सडक महोत्सवमा पनि सहभागि हुनेछन् । त्यस्तै प्याराग्लाइडिङ सहितका साहसिक गतिविधिमा पनि उनीहरु रमाउनेछन् । ‘पोखराबारे ती पाहुनाबाट सकारात्मक सन्देश फैलाउन चाहेका हौ । उनीहरु घुमेर फर्किदा पक्कै पोखराबारे गतिलो सन्देश उनीहरुका नागरिकसम्म पुग्नेछ,’ उनले भने ।  

पर्यटन बोर्ड पोखराका प्रमुख काशिनाथ भण्डारीका अनुसार झन्डै दर्जन मुलुकका राजदूत, नेपालस्थित विकासे साझेदारका उच्च पदस्थ कर्मचारी, दूतावासका उच्च कर्मचारी सहितको टिम पोखरा आउनेछ । ‘नितान्त घुमघामका लागि उच्च पदस्थ पदाधिकारी पोखरा आउन थालेका हुन् । यसले पर्यटनमा पक्कै पनि सकारात्मक सन्देश दिनेमा हामी विश्वस्त छौ,’ भण्डारीले भने, ‘विश्व पर्यटन दिवसको अवसर पारेर उनीहरुको पोखरा क्षेत्र घुमघामको चाँजोपाँजो मिलाइएको हो ।’ आगामि सोमबार विश्व पर्यटन दिवस पर्छ । 

भण्डारीका अनुसार उच्च पदस्थ पदाधिकारीको पोखरा क्षेत्र घुमघामको व्यवस्थापन परराष्ट्र मन्त्रालयले गरेको हो । गण्डकी प्रदेश सरकार र पर्यटन बोर्डको सहकार्यमा उनीहरुको पोखरा बसाई र यहाँको व्यवस्थापन हुने भण्डारीले बताए । ‘विभिन्न मुलुकका राजदूत सहित विकास साझेदारका उच्च पदस्थ पदाधिकारी पोखरा आउँदा त्यसले पर्यटनमा फाइदा दिलाउँछ,’ भण्डारीले भने, ‘पोखरा क्षेत्र घुमघामका लागि खुलेको छ । पोखरा क्षेत्र घुमघामका लागि सुरक्षित पनि रहेको छ भन्ने सन्देश दिन जरुरी छ ।’ कुटनीतिक निकायका पदाधिकारी र विकास साझेदारका उच्च पाहुनाको भ्रमणले पोखरा र यहाँको अवस्थाबारे थाहा पाउने पनि उनले बताए ।  

कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रमा विदेशी उच्च पदस्थ पदाधिकारी घुमघाम गर्दा त्यसले पोखरा क्षेत्रको प्रचारप्रसारमा सघाउने उनले बताए । ‘अहिले कोरोनाले गर्दा विदेशी पाहुना आउन तर्सिएका हुन् । उच्च पदस्थ पदाधिकारीको भ्रमणले पोखरा खुलेको भन्ने सन्देश अन्तर्राष्ट्रिय पर्यटन बजारमा पुग्नेछ । पोखरा पाहुनालाई स्वागत गर्न तयार अवस्थामा छ भन्ने सन्देश पनि पुग्नेछ,’ उनले भने, ‘यसले विदेशी पाहुनाको आगमनमा केही न केही सकारात्मक प्रभाव पार्नेछ ।’ राजदूत नै घुम्न निस्किएको क्षेत्रबारे पक्कै पनि उनीहरुका मुलुकका नागरिकले चाँसोका साथ हेर्ने भएकोले पनि पर्यटनमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा रहेको उनले बताए ।  

प्रकाशित: ९ आश्विन २०७८ १०:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App