coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पाहुना बोलाउन पोखरामा एकदिने सडक महोत्सव हुँदै

पोखरामा आगामी सोमबार हुने सडक महोत्सवबारे पत्रकार भेटघाटमार्फत जानकारी दिँदै आयोजक । तस्बिरः उमेश पुन/नागरिक

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र ब्यूतिने प्रयत्नमा छ । लामो समयदेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई ब्यूताउँन पर्यटन व्यवसायी पनि सक्रिय बन्न थालेका छन् । त्यसका लागि पर्यटक तान्ने विभिन्न कार्यक्रम व्यवसायीले गर्न थालेका छन् ।  

व्यवसायीले पाहुनालाई पोखरासम्म तान्नकै लागि विश्व पर्यटन दिवसका अवसर पारेर आगामि सोमबार लेकसाइडमा एकदिनका लागि सडक महोत्सव पनि आयोजना गरेका छन् । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले सोमबार बेलुकी पाँच बजेदेखि १० बजेसम्मका लागि मिनि स्ट्रिट फेस्टिवल आयोजना गरेको अध्यक्ष लक्ष्मण बरालले बताए ।  

अध्यक्ष बरालका अनुसार लेकसाइडको बाराहीचोकदेखि खहरेचोकसम्म सडक महोत्सवका लागि कार्यक्रम हुने छन् । सडकमा सार्वजनिक सवारी आउजाउ रोकेर विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने उनले बताए । सारंगी प्रस्तुती, लाखे र थारु समुदायको नाचसहित सडकमा रेस्टुरेन्टले विभिन्न परिकार पस्कने उनले बताए ।  

‘लामो समय सुस्ताएको पर्यटन क्षेत्र ब्यूताउनका लागि पनि गतिविधि गर्न जरुरी छ । त्यही क्रममा एकदिनका लागि मिनि स्ट्रिट फेस्टिवल आयोजना गरिएको हो,’ उनले भने, ‘यसले पाहुनालाई पोखरासम्म तान्नका लागि सघाउने छ ।’ उनका अनुसार रेस्टुरेन्टले बाटोमा चुलो राखेर खाना खुवाउने छन् भने सांस्कृतिक टोलीले कला देखाउने छन् । ‘घुम्न आएका पाहुनालाई थोरै भएपनि मनोरम दिलाउन र उनीहरुलाई पोखरा खुला रहेको सन्देश दिनका लागि भएपनि कार्यक्रम गर्न थालिएको हो,’ उनले भने, ‘पोखरा खुला रहेको सन्देश दिन जरुरी छ ।’

उनका अनुसार यतिबेला पोखरामा आन्तरिक पाहुनाको चहलपहल बढेको छ । बिदाको दिन त यहाँका होटल र रेस्टुरेन्टमा आन्तरिक पाहुनाको भीडभाड नै हुने गरेको छ । ‘आन्तरिक पाहुनाको आगमनमा सुधार भईसकेको छ । कोरोना अघिको जस्तो माहोल नबनिसके पनि व्यवसायीलाई पलायन हुन नदिने आधार अहिलेको पाहुनाको आगमनले देखाएको उनले बताए ।

‘व्यवसायीलाई नै व्यवसायमा टिकाउन पनि मुस्किल हुने अवस्थामा अहिले आन्तरिक पाहुनाको कारण केही आशावादी बनेका छौ,’ उनले भने, ‘अहिले कमाउनै त सक्ने अवस्था होईन, पर्याप्त आम्दानी नभएपनि व्यवसायीले संचालन खर्च धान्न सक्ने अवस्था देखिएको छ । त्यसले सबैलाई उत्साही बनाएको छ ।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपिबहादुर भट्टराई पनि पोखरामा हुने यो कार्यक्रमले पोखरा घुम्नका लागि सुरक्षित बनिसकेको सन्देश पुग्ने बताउँछन् । उनका अनुसार साप्ताहिक बिदा पारेर पोखरामा आन्तरिक पाहुना घुम्न आउन थालेका छन् । दसैं र तिहारको बिदाले झनै पाहुना आउनेमा आफूहरु आशावादी भएको उनले बताए ।  

‘आन्तरिक पाहुनाका कारण साप्ताहिक बिदाका दिन केही चहलपहल बढ्न थालेको छ । आन्तरिक बाहेक भारतीय पाहुना पनि आउन थालेका छन्,’ भट्टराईले भने, ‘तर, अझैपनि बोर्डरमा सहज आउजाउ नहुँदा भारतीय पाहुना आउन सकेका छैनन् । मान्छेको मात्र ओहोरदोहोर छ । भारतीय गाडी आउजाउ गर्न पाएका छैनन् ।’ नाका खुलाएर सहज आउजाउ बनाउने भनिएपनि हुन नसकेको उनले बताए ।  

प्रकाशित: ९ आश्विन २०७८ ०९:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App