८ वैशाख २०८१ शनिबार
अर्थ

बजार अनुगमनमा ६ टोली परिचालन

चाडपर्वको मौका छोपी बजारमा हुन सक्ने मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव नियन्त्रण गर्न सरकारले सघन अनुमगन सुरु गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा ६ वटा टोली बनाएर परिचालन गरिएको हो। सरकारले हरेक वर्ष चाडपर्वको बेला बजार अनुगमनलाई सघन बनाउने गरेको छ।

चाडपर्वमा उपभोक्ता ठगिन सक्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न बिहीबार गृह मन्त्रालयमा विभिन्न मन्त्रालय र विभागका अधिकारीबीच छलफल भएको थियो। दैनिक उपभोग्य वस्तु, खाद्यान्न, यातायात लगायत बजारका सबै क्षेत्रलाई नियमन गरेर गैरव्यावसायिक क्रियाकलाप रोक्न गृहमन्त्री बालकृष्ण खाँडले निर्देशन दिएका छन्। 

उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, यातायात व्यवस्था विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, उपत्यकाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय लगायतलाई चाडपर्वमा हुन सक्ने मूल्यवृद्धि, कालोबजारी नियन्त्रण गर्न निर्देशन दिएका हुन्।

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री वितरण हुने गरेको भन्दै गृहमन्त्री खाँडले चिन्ता व्यक्त गरेको वैठकमा सहभागी वाणिज्य विभागका महानिर्देशक प्रकाश पौडेलले बताए। ‘म्याद गुज्रेका वस्तु रिलेबलिङ गरेर गाउँ–गाउँमा पुग्न सक्ने विषयमा गृहमन्त्रीले चिन्ता व्यक्त गर्नुभयो,’ उनले भने, ‘बजार अनुमगनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।’

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायत व्यावसायिक संस्थाका प्रतिनिधि पनि सहभागी थिए। मन्त्री खाँडले उचित मूल्यमा सामान बिक्री गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरे। अनुचित नाफा लिएको पाइएमा कारबाही गर्ने उनले चेतावनी दिए। 

चाडपर्वको बेला उपत्यकाबाट ठूलो संख्यामा नागरिक बाहिरिने भएकाले यातायात व्यवस्थापन व्यवस्थति गर्न पनि निर्देशन दिएका छन्। चाडपर्वका बेला यात्रु ठगिने गुनासो आउने गरेको छ। चाडपर्वका बेला म्याद सकिएका खाद्य सामग्री बिक्री वितरण गरेको पाइएमा कडा कारबाही गर्न पनि निर्देशन दिएका थिए। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले वाणिज्य र गुणस्तर विभाग परिचालन गरेको बताए। चाडपर्वलाई लक्ष्य गर्दै विशेष सुरक्षा योजना बताएको नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले जानकारी गराएका थिए।

आगामी ११ गतेबाट दसैंलाई टिकट बिक्री खुला गर्ने र १४ स्थानमा यात्रु सहायता कक्ष राख्‍ने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए। बसको टिकट अनलाइनमा काट्ने व्यवस्था मिलाएको समेत उनले बताए।

यता, वाणिज्य विभागको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, जिल्ला प्रशासन कार्यालय, औषषि व्यवस्था विभाग लगायत निकायले संयुक्त अनुगमन गर्ने भएका छन्। 

६ टोली बनाएर अुनगमन सुरु गरेको वाणिज्य विभागका प्रवक्ता शिवराज सेढाईंले बताए। ‘बजारमा ६ टोली परिचालन गरेका छौं,’ प्रवक्ता सेढाईंले भने, ‘अन्य निकायसँग पनि संयुक्त अनुगमन गर्ने योजना बनाएका छौं।’ पालिकाहरूसँग पनि समन्वयन गरिरहेको उनले जानकारी दिए।

चाडपर्वको समयमा वस्तु तथा सेवाको अनुचित सञ्चय गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, खाद्य पदार्थमा मिसावट गर्ने, वस्तु तथा सेवाको गुणस्तर, परिमाण वा मूल्यमा अनुचित व्यापारिक क्रियाकलाप गरी लाभ लिने प्रवृत्तिलाई निरुत्साहित गर्न अनुगमन गर्न लागिएको वाणिज्य विभागका महानिर्देशक पौडेलले बताए।

‘नियमित अनुगमन गर्दै आएका थियौं,’ महानिर्देशक पौडेलले भने, ‘चाडपर्वमा थप जनशक्ति मगाएर बजारमा विशेष निगरानी बढाएका छौं।’ विभागले सामान्य प्रशासन मन्त्रालयबाट एक दर्जन कर्मचारी ल्याएर परिचालन गरेको छ।

अनुमगन टोलीले दसैंमा बढी खरिद–बिक्री हुने खाद्यान्न, लत्ताकपडा, माछा–मासु, फलफूल, तरकारी लगायतमा अनुगमन गर्ने जनाएको छ। चाडपर्वको मौका छोपी अभावको बहाना बनाएर मूल्यवृद्धि गर्ने भएकाले त्यस्ता विषयमा पनि निगरानी बढाएको विभागले जनाएको छ।

 खुद्रा, होलसेल पसल मात्र नभएर ठूला डिपार्टमेन्टल स्टोर्स भाटभटेनी, बिग मार्ट, सेल्सबेरी लगायत पनि अनुगमन गर्ने विभागको योजना छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको बहानामा खानेतेलको मूल्य अचाक्ली वृद्धि भएको छ। तेलको मूल्य शतप्रतिशतभन्दा बढी वृद्धि भएको छ। त्यस विषयमा पनि विभागले तेल उत्पादकसँग बुझिरहेको जनाएको छ।

चाडपर्वको बेला चिनीको मूल्य वृद्धि हुन सक्ने भन्दै चिन्ता व्यक्त भइरहेका बेला वाणिज्य विभागले तीन महिनालाई पुग्ने चिनी मौज्दात रहेको जनाएको छ। चाडपर्व सुरु भइरहँदा बजारमा चिनी लगायत केही खाद्य वस्तुको अभाव रहेको भन्ने झुटा र अनर्गल हल्ला चलाई आम उपभोक्तामा भ्रम सिर्जना गर्ने दुष्प्रयास भएको विभागको भनाइ छ। 

प्रकाशित: ८ आश्विन २०७८ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App