७ वैशाख २०८१ शुक्रबार
अर्थ

सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग

कैलालीको चुरे गाउँपालिका जोड्ने सहजपुर–अलाड सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको छ। सडक निर्माण कार्यमा ह्युमपाइप र पर्खाल निर्माणको क्रममा गुणस्तरहीन र मापदण्डविपरीत कार्य भइरहेको भन्दै स्थानीय आक्रोशित भएका हुन्।

निर्माण कम्पनीले नाफा मात्रै चाहेको र स्थानीय सरकारले बेवास्ता गरेका कारण निर्माणाधीन सडकको पर्खालमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको भन्दै स्थानीयले आक्रोश पोखेका छन्। ‘निर्माणाधीन सडकको पर्खालमा गुणस्तरहीन सिमेन्ट प्रयोग भइरहेको छ,’ स्थानीय राजेन्द्र धामीले भने,‘हामीले धेरै पटक गुणस्तरहीन सामग्री प्रयोग भइरहेको कुरा गाउँपालिकामा राखे पनि सुनुवाइ नै भएको छैन।’ 

यस्तै सोही सडक खण्डमा ह्युमपाइप राखेपछि माटोमात्रै भरेका कारण ठाउँठाउँमा गाडी फस्ने समस्या आएको छ। ठेकेदारले ह्युमपाइप राखेको ठाउँमा गाडीहरु फसेर समय समयमा यात्रुहरु अलपत्र पर्ने गरेका छन्। सहजपुरदेखि अलाडसम्मको यात्रा कष्टकर हुने गरेको बताउँदै गुराँस सुपर यातायातका महासचिव तथा सोही क्षेत्रमा बस चलाउँदै आएका तेजसिंह ठगुन्नाले भने, ‘यो सडकमा ठेकेदार कम्पनीले ह्युमपाइप राख्दा माथिबाट अलिकति मात्रै माटो राखेका कारण समय समयमा बस फस्ने समस्या छ।’ 

तीन दिनदेखि गुप्तपानीमा फसेको बस निकाल्न गाह्रो भएको उनले बताए। ‘हाम्रो यातायातले सो सडक खण्डमा रुट परमिट दिएको छ,’ उनले भने, ‘सडकको अवस्था बेहाल हुँदा सो सडक खण्डमा समय समयमा गाडी फस्ने र चार/पाँच दिनसम्म पनि निकाल्नै नसकिने अवस्था आउने गरेको छ।’ सडकमा ह्युमपाइप राखेपछि ढुङ्गाको पर्खाल लगाउनुपर्ने हो। तर, त्यहाँ माटो मात्रै भरेर गाडीहरु समय समयमा फस्ने गरेको उनले बताए। ‘सडक राम्रो बनाइदिएको भए निगाली क्षेत्रका यात्रुलाई सहज हुन्थ्यो,’ उनले भने,‘सडक राम्रो नभएका कारण सो खण्डमा रुप परमिट पाएकाहरु पनि गाडी हाल्न मान्दैनन्।’  

पानी पिच र आवश्यक ठाउँमा नाली निर्माण गर्ने गरी झण्डै करसहित ३ करोड ६४ लाख रुपैयाँमा ६ किलोमिटर सडक खण्ड ठेक्का सम्झौता भएको थियो। उक्त सडक खण्डमा जागृति निर्माण सेवाले ठेक्का पाएको थियो। २०७५ मा ठेक्का सम्झौता भएको सहजपुर–अलाड सडकको निर्माण अवधि गत असारमा सकिएको थियो। समयमै काम गर्न नसकेपछि ६ महिना म्याद थप भएर अहिले निर्माण कार्य भइरहेको छ। उक्त सडक खण्डमा अहिले पेटी ठेकेदार नेत्र शाहले काम गरिरहेका छन्। पेटी ठेकेदार शाहको साइडमा पुरानो सेट भएको सिमेन्ट प्रयोग भएको भन्दै स्थानीयले विरोध जनाएका थिए। विरोध जनाउँदा जनाउँदै पनि पेटी ठेकेदारले अटेरी गरिरहेको बताइएको छ। 

‘स्थानीयको विरोध हुँदा हुँदै पनि पेटी ठेकेदार शाहले अटेरी गरिरहेका छन्,’ नाम नबताउने शर्तमा एक स्थानीयले भने,‘यी ठेकेदार राजनीतिक आडमा कमसल सामग्री प्रयोग गरिरहेका छन्।’ आफूले लकडाउनभन्दाअघि ४ सय कट्टा सिमेन्ट गोदाम गरिएको बताउँदै उनले भने,‘पुरानो सिमेन्ट भएकाले केही कमजोरी भएको होला, त्यसमा म पुनः निर्माण गर्नेछु।’

सडकमा प्रयोग भइरहेको कमसल सामग्रीको स्थानीय सरकारले पनि रखेदेख गर्नुपर्नेमा कुनै वास्ता नगरेको बताउँदै अर्का स्थानीय हरिष धामीले भने,‘सडकमा गुणस्तरहीन सामान प्रयोग हुँदा समेत कोही बोल्दैनन्।’ बजेटको दुरुपयोग गर्नुभन्दा बरू सास्ती नै सहन तयार रहेको स्थानीय रमेश रोकामगरले बताए। उनले भने, ‘यसरी बजेटको दुरुपयोग गर्नु भन्दा त बरु हामीलाई सकस नै ठीक छ।  

चुरे गाउँपालिका इन्जिनियर विक्रम कँडेलले सहजपुर–अलाड सडक खण्डमा राजनीति घुसेका कारण सडक विवादित भइरहेको बताए। उनले भने,‘सडकमा राजनीति घुसेका कारण गुणस्तरीय काम भइरहेको छ वा छैन भन्ने थाहै छैन।’ कार्यालयमा प्राविधिक कर्मचारीहरु भए पनि साइड हेर्न कोही नगइ दिँदा ठेकेदार कम्पनीको मनोमानी हुने गरेको बताउँदै उनले भने,‘ठेकेदार कम्पनीलाई साइजमा ल्याउन पनि प्राविधिक कर्मचारीले अनुगमन गरिदिनु पर्ने हो, तर हाम्रोमा कोही पनि प्राविधिक कर्मचारी त्यो साइडमा जान चाहँदैनन्, खाली मेरै मात्र ठेक्का हो जस्तो गर्छन्।’ आफू प्राविधिक कार्यालयको प्रमुख भएका नाताले आफू मातहतका कर्मचारीलाई साइडमा खटाउँदा पनि भनेको नमान्ने गरेका कारण यहाँका विकास निर्माणका कामहरुमा झारो टार्ने काम भइरहेको उनले स्वीकारे।  

सहजपुर–अलाड सडक खण्डमा काम गरिरहेका पेटी ठेकेदार नेत्र शाहले पहिले पनि कमसल सामग्री प्रयोग गरेर निर्माण गरेको पर्खाला आफूले भत्काइदिएको बताउँदै उनले भने,‘केही ठाउँमा मैले नै आफैले कमसल सामग्री प्रयोग भएको भन्दै भत्काइदिएको थिएँ, भने केही ठाउँमा आफै भत्किएको थियो।’ त्यो बाट पनि पेटी ठेकेदार शाहले गुणस्तरहीन सामग्री प्रयोग गरिरहेको प्रमाणित हुने गरेको एक प्राविधिकले बताए। यदि फेरि पनि पर्खाल र ह्युमपाइप निर्माणमा कमशल बस्तु प्रयोग भएको भेटिएमा पुनः निर्माण गर्ने गरी भत्काउने उनले बताए।

प्रकाशित: ५ आश्विन २०७८ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App