coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखरामा अब ‘सुपरम्यान जीपलाइन’

पोखरामा निर्माण गरिएको सुपरम्यान जीपलाइनको परीक्षण गरिँदै । तस्बिरः नागरिक

साहसिक पर्यटकलाई लक्षित गर्दै झन्डै एकदशक देखि जिपफ्लायर संचालन गरिरहेको यहाँको हाइग्राउण्ड एडभेन्चर्स ‘सुपरम्यान जीपलाइन’ सेवा पनि दिन थालेको छ । यसअघि हुने गरेको जीपलाइन भन्दा सुपरम्यान जीपलाइन अझै बढी रोमाञ्चक र साहसिक हुने हाइग्राउण्ड एडभेन्चरले बताएको छ ।  

पूर्वाधार जडान गरेर परीक्षण गरिरहेको सुपरम्यान जीपलाइनको दसैंअघि व्यवसायिक थालनी गरिने हाइग्राउण्ड एडभेन्चर्स पोखराका मुख्य संचालन निर्देशक दीनेश महर्जनले जानकारी दिए । मजर्हनका अनुसार यसअघि जीपलाइन गर्दा पर्यटकले सिटिङ हार्नेसमा बस्ने गर्दथे । तर, अब सुतेर जीपलाइन गर्न सकिने उनले बताए । ‘सुपरम्यान शैलीमा तल फर्केर सुत्ने हो । घोप्टो परेर सुत्दैमा ठाडो नै हुने भने होईन,’ उनले भने, ‘आरामदायी तरिकाले सुतेर जीपलाइनको मज्जा लिने हो ।’  

यसअघि कै जीपलाइनकै पूर्वाधारमा सुपरम्यान जीपलाइनका लागि केही नयाँ प्रविधि थपिएको उनले बताए । ‘पुरानै शैलीको जीपलाइन गर्न पनि सकिन्छ । तर, त्यो भन्दा साहसिक चाहनेले सुपरम्यान जीपलाइन गर्न सक्छन,’ महर्जनले भने, ‘सुपरम्यान जीपलाइन अझै बढी गतिमा ओर्लिने भएकोले पनि यसमा अझ बढी रोमाञ्चक हुन्छ ।’ सुपरम्यान ह्यामोक हार्नेसमा घोप्टो परेर सुतेर पर्यटकले यसको आनन्द लिन पाउने उनले बताए ।

पोखराको सराङकोस्थित १५५० मिटर उचाईमा यसको माथिल्लो स्टेशन छ । तलको स्टेशन भने हेम्जाको ९५० मिटरमा छ । सराङकोटबाट ओर्लेका पर्यटकले ६ सय मिटर ठाडो तारमा झुन्डिएर सुपरम्यान जीपलाइनको अनूभव गर्न पाउने उनले बताए । सराङकोटदेखि हेम्जाको स्टेशन १८५० मिटर लामो दूरीमा छ । यसअघि ९० सेकेन्डमा सराङकोटबाट हेम्जा झर्न सकिने भएपनि अब भने त्यो भन्दा बढी गतिमा सुपरम्यान जीपलाइन गर्न सकिने महर्जनले जानकारी दिए ।

‘पहिले ९० सेकेन्डमा जीपलाइन हुन्थ्यो । अब ५० सेकेन्डजतिमा तल पुग्न सकिन्छ । विश्कै सबैभन्दा तिब्रगतिको सुपरम्यान जिपलाइन अब हामीसँग छ,’ उनले भने, ‘विश्वकै सबैन्दा छिटो र ठाडो आकारको सुपरम्यान जीपलाइनको पनि रेकर्ड हामीले नै बनाएका छौ ।’ त्यस्तै संसारकै सबैभन्दा लामो सुपरम्यान जीपलाइन पनि बनेको उनले बताए ।  

‘विदेशी मुलुकमा सुपरम्यान जीपनलाइन संचालनमा छन । तर यहाँको जति छिटो, ठाडो र लामो दूरी अन्यत्र छैन,’ उनले भने ।उ नका अनुसार सराङकोटबाट ओर्लेका पर्यटकले १२० किलोमिटर प्रतिघण्टाको गतिमा सुपरम्यान जीपलाइन गर्न पाउनेछन ।  

‘यो विदेशी र नेपाली पाहुनालाई लक्षित गरिएको नयाँ प्रडक्ट हो । पर्यटन क्षेत्रमा नयाँ अनूभूति दिलाउन खोजेका हौं,’ उनले भने, ‘यसले पोखराको पर्यटनमा त योगदान दिनेछ नै साहसिक पर्यटनमा नयाँ प्रडक्ट पनि बन्नेछ । जीपलाइनको नेपालीलाई ४५ र विदेशीलाई ७५ सय रुपैयाँ शुल्क पर्छ । सुपरम्यानमा पनि यही मुल्य हुने उनले बताए । सुपरम्यान जीपलाइनको पूर्वाधार थप्न करिब २५ लाख रुपैयाँ नयाँ लगानी गरिएको उनले जानकारी दिए ।  

हाइग्राउण्ड एडभेन्चर्स नेपालले दशक अघि जीपलाइन संचालन गर्दै आएको थियो । यसले जीपलाइन सँगै बञ्जी पनि संचालन गरिरहेको छ । अब सुपरम्यान जीपलाइन पनि थपिँदा एकै ठाउँमा तीनवटा साहसिक पर्यटकीय प्रडक्ट हुने उनले बताए । पोखरामा साहसिक पर्यटकीय गतिविधि गर्नप पाइने पुर्वाधार थपिने क्रममा नयाँपन दिन खोजेको पनि महर्जनले बताए । ‘कोरोनाले थलिएको पर्यटन क्षेत्रमा अब नयाँपन दिन जरुरी छ । पुरानै प्रडक्टले मात्र पर्यटक बोलाउन सकिन्न । नयाँपन दिँदा केही लगानी र साहसिक गतिविधि थप्न जरुरी छ,’ उनले भने ।

प्रकाशित: ५ आश्विन २०७८ ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App