८ वैशाख २०८१ शनिबार
अर्थ

मेलम्ची खानेपानी पुनर्स्थापनाः आवश्यक साढे दुई अर्ब, बजेट एक अर्ब मात्रै

मेलम्चीमा आएको बाढीले बगाएर ल्याएको लेदोले छोपिएका घर । फाइल तस्बिर: नागरिक

सरकारले बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनस्र्थापनाको लागि थप एक अर्ब रूपैयाँ बजेट छुट्ट्याएको छ। असार १ यताको बाढीपहिरोले उक्त आयोजनाको हेडवक्र्ससहित अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको छ। अर्थ मन्त्रालयले मेलम्ची आयोजनाको बाढीपहिरो प्रभावित संरचना पुनस्र्थापनाका लागि छुट्ट्याउनुपर्ने बजेटको शीर्षक भने अर्कै पर्न गएको छ।  

मेलम्ची खानेपानी विकास बोर्डका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले अर्थ मन्त्रालयले यो आयोजनाको लागि एक अर्बभन्दा धेरै बजेट छुट्ट्याए पनि बजेटको शीर्षक मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र निर्माण लेखिएको बताए। 

‘अर्थ मन्त्रालयले मेलम्ची आयोजनाको पुनस्र्थापनाको लागि छुट्ट्याएको भए पनि झुक्किएर प्रशोधन केन्द्र भएकाले सच्याउन अनुरोध गर्नेछौं,’ उनले भने, ‘सरकारले बाढीपहिरो प्रभावित आयोजनाको पुनस्र्थापनालाई प्रथामिकता दिएको छ।’  

बाढीपहिरोले क्षतिग्रस्त उक्त आयोजना पुनस्र्थापनाको लागि करिब साढे दुई अर्ब रूपैयाँ लाग्ने आयोजनाको भनाइ छ। हेलम्बु नगरपालिकाले अहिले उक्त आयोजनाको पहुँच मार्ग निर्माणको काम गरिरहेको छ। आयोजनाको वैकल्पिक पहुँचमार्ग निर्माणको लागि ७० लाख बजेट विनियोजन गरेर काम भइरहेको छ।

अर्थमन्त्री जर्नादन शर्माले गत शुक्रबार जारी गरेको प्रतिस्थापन विधेयकमा बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना आर्थिक वर्ष २०७८ को चैत मसान्तभित्रै मर्मत र पुनस्र्थापना गरी नियमित खानेपानी आपूर्ति गर्ने दाबी गरेका छन्। ‘मेलम्चीको पानी उपत्यकामा आपूर्ति हुने प्रबन्ध मिलाइनेछ। नदी कटान एवं बाढीपहिरोको कारण भएको सडक लगायतको क्षतिको तत्काल पुनर्निर्माण र पुनस्र्थापन कार्यक्रमका लागि बजेट छुट्ट्याएको छु,’ अध्यादेशमा भनिएको छ।  

गत असार १ को बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स जाने अम्बाथानकोपहुँचमार्ग, कोफर ड्यामसहित हेडवक्र्समा ठूलो क्षति पुर्‍याएको थियो। साउन १५ को बाढीपहिरोले आयोजना अन्तर्गतका थप संरचनामा क्षति पुर्‍याएको छ। 

साउन १५ को बाढीपहिरोले यो आयोजनाको पहुँचमार्गमा पर्ने चनौटेको पुल क्षतविक्षत बनाएको छ। अघिल्लोपटक बाढीले क्षतिग्रस्त भएको पहुँचमार्गको ट्र्याक हेलम्बु गाउँपालिकाले केही सञ्चालन गरे पनि बाढीपहिरोले फेरि भत्काइदिएको छ।  

आयोजनाको हेडवक्र्सभन्दा माथिल्लो भागबाट लेदोसहितको ढुंगा, गिट्टी, बालुवा, माटो मिसिएर आएको बाढीले यसका संरचनामा एकपछि अर्को क्षति पुर्‍याएको छ। सिनियर डिभिजनल इन्जिनियर पन्तले मेलम्ची नदीमा पानीको बहाव कम भएसँगै हेडवक्र्स क्षेत्रमा काम सुरु हुने जानकारी दिए। ‘हामी मेलम्चीमा पानीको बहाव कहिले घट्छ भनेर कुरिरहेका छौं,’ उनले भने, ‘पानीको बहाव कम भएसँगै क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम सुरु गर्नेछौं।’  

समितिका प्रवक्ता समेत रहेका पन्तले क्षतिग्रस्त संरचना पुनस्र्थापनाको लागि दुई अर्ब ५० करोड रूपैयाँको लागत इस्टिमेट तयार पारेको बताए। ‘यो इस्टिमेट सबै निकायले संयुक्त काम गर्नको लागि अनुमान गरिएको हो,’ उनले भने, ‘सबै निकायलाई छुट्टाछुट्टै बजेट विनियोजन गर्ने हो भने बजेटको अभाव हुने देखिँदैन।’ बाढीपहिरोले करिब आठ किलोमिटर पहुँचमार्ग र ६ वटा पुलको संरचनामा क्षति पुर्‍याएको छ। मेलम्ची नदीको पानी डाइभर्सन गरी वैकल्पिक रूपमा पानी पथान्तरणको लागि प्रयोग गरिएको कफर ड्याम समेत गेग्रानले पुरिएको छ।  

हेडवक्र्समा रहेको कफर ड्यामदेखि अम्बाथान पोर्टलसम्मको करिब दुई किलोमिटर नदी खण्डमा १० मिटरभन्दा धेरै ढुंगा, गिट्टी र ग्रेगान भरिएको छ। अम्बाथान पोर्टलदेखि तल मेलम्ची बजारसम्मको भागमा ढुंगा, गिट्टी, वालुवा र माटो थुप्रिएको छ। समितिले आगामी कात्तिक दोस्रो सातादेखि अम्बाथान पोर्टल खुला गरी टनेल डिवाटरिङ कार्य गर्ने कार्ययोजना तयार पारेको छ। बाढीपहिरोमा परेर मेलम्ची आयोजनामा कार्यरत चारजना कामदारको ज्यान गएको छ। चारजना अहिलेसम्म बेपत्ता छन्। 

प्रकाशित: ४ आश्विन २०७८ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App