७ वैशाख २०८१ शुक्रबार
अर्थ

चाँगुनारायणमा दीगो पर्यटन परियोजना सुरु

दुई वर्षअघि विश्वका धेरै देशसँगै नेपालमा पनि देखिएको कोरोना भाइरस संक्रमणको प्रत्यक्ष असरमा पर्यो, पर्यटकीय क्षेत्र नगरकोट। कोरोनाको सम्भावित जोखिमलाई ध्यान दिँदै जारी भएको लकडाउनसँगै ताला लागेका नगरकोटका होटलहरु अहिलेसम्म तंग्रिन सकेका छैनन्।

त्यसको प्रत्यक्ष प्रभावमा होटल सञ्चालकहरु त परे नै, सामान्य किसानहरु, सडक छेउमा नाङ्लो पसल राख्ने, चटपट बेच्नेहरु त्यसबाट अछुतो रहेन। त्यस्तै प्रत्यक्ष असरमा परिन्, भक्तपुरको नगरकोट फेदीकी चण्डिका लामिछाने। आफ्नै घर छेउको बारी पाटामा तरकारी उब्जाएर, होटल पुर्याउँदै र घरमै होमस्टे(घरबास) सञ्चालन गर्दै आफ्नो दैनिकी चलाउँदै आएकी उनको आम्दानीको बाटो होटलमा ताला लागेसँगै बन्द भयो।

‘कोरोना सुरु भएसँगै, बारीको तरकारी बारीमै रह्यो, बेच्न पाइएन, होमस्टेमा नि कोही आएनन्’ उनले ती दिन सम्झिए। साँच्चिकै देशभर कोरोना भाइरसको संक्रमण हुँदा उनको दैनिकीमा पनि संक्रमण देखियो। ‘पहिला आफ्नै घर नजिकको बारीमा तरकारी उमारी होटल पुर्याउने, केही आफ्नै व्यवसायमा प्रयोग गर्ने गरेकोमा कोरोनासँगै होटल बन्द भएपछि तरकारी दिन पाइनँ’, उनले भनिन्, ‘दैनिक ४ देखि ५ सय रुपैयाँको तरकारी बेच्थेँ, होमस्टेबाट ठीकैको आम्दानी थियो, त्यसैले चल्थ्यो दैनिकी।’

८५ वर्षीय ससुरा, पति र दुई छोराहरुको उनको परिवारमा कोरोनाले नसोचेको समस्या उब्जायो। त्यही कारण घरव्यवहार चलाउनसमेत हम्मेहम्मे भएको अनुभव गरिन्, चण्डिकाले। यसैले उनी दैनिक ज्यालादारीमा समेत काम गर्न राजी भइन् तर काम भेटिएन।

काम नभेटिएपछि दैनिक व्यवहार चलाउन मुश्किल भएपछि के गर्ने?, कसो गर्ने भन्ने अन्योलमा थिइन् उनी। अन्योलमै उनले एक वर्ष बिताइन्। ‘आज राम्रो होला भन्यो, हुँदैन, भोलि त होला नि भन्यो, भएन, कोरोना बढेको बढ्यै छ,’ उनले भनिन्। व्यवसाय नतंग्रिए पनि आफू तंग्रिन खोजिरहेकी चण्डिका अहिले चाँगुनारायण नगरपालिका र जिविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजनामा सहभागी भएकी छन्।

कोभिडबाट प्रभावित पर्यटन क्षेत्रमा प्रत्यक्ष सरोकार राख्नेहरुलाई राहतस्वरुप सुरु भएको सो परियोजनामा सहभागी उनले दैनिक ज्याला एकहजार पाउने भएका छन्। त्यसबाट उनी खुसी छिन्।

‘के गर्ने, गर्ने भन्ने अन्योल भइरहेको बेलामा यसले भए पनि भरथेग गर्ने भएको छ, यही भएर यो परियोजनामा सहभागी भएकी हुँ,’ उनी थप्छिन्, ‘यहीँ पाखामा गरेको कामबाट दशैं खर्च जुट्ने भएको छ, खुसी छु।’ सो क्षेत्रका चण्डिकामात्र हैनन् कोभिड प्रभावित, पर्यटन क्षेत्रमा प्रत्यक्ष सरोकार राख्ने तीनसय बढी घरका व्यक्तिहरु अहिले सो परियोजनामा सहभागी भएका छन्।  

कोरोना संक्रमणको कारण प्रभावित बनेको पर्यटन क्षेत्रका मजदुरहरुको जिविकोपार्जनमा सहयोग पुर्याउन चाँगुनारायण नगरपालिकाले सुरु गरेको दीगो पर्यटन परियोजनामा २९८ जना सहभागी भएका छन्। ती सहभागीहरु कोभिड १९ को कारण दैनिक रोजगारी गुमाएका स्थानीय हुन्।

परियोजनाअन्तर्गत पर्यटकीय क्षेत्र नगरकोटमा दीगो पर्यटन विकासका लागि नगरपालिकाको वडा नं. ६ र ७ को संगम मुहानपोखरीदेखि भँगेरी डाँडासम्म पुग्ने प्राकृतिक पदमार्ग निर्माण गरिनेछ। पर्यटकीय गन्तव्यको रुपमा रहेको नगरकोटमा कोभिड १९ को कारण अधिकांश मजदुरहरुले रोजगारी गुमाएपछि उनीहरुको पुनरुत्थानमा सहयोग पुर्याउन नगरपालिकाले विभिन्न सहयोगी दाताहरुको सहयोगमा परियोजना सुरु गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए।

उनले नगरपालिकाको ३० लाख रुपैयाँ र साझेदारी संस्थाको ३० लाख रुपैयाँ गरी कूल ६० लाख रुपैयाँको परियोजना थालिएको जानकारी दिए। सो परियोजनामा नेपाल पर्यटन बोर्ड र यूएनडिपीले साझेदारी गरेका छन्।

साझेदारीमा सञ्चालित परियोजनामा सहभागीहरुले दैनिक १ हजार रुपैयाँको दरमा न्यूनत्तम ४० दिन काम गर्ने परियोजनाका सुपरभाइजर राजकुमार लामिछानेले बताए। उनले मुहान पोखरी– खोलेखेत– गडगडे–नगरकोटसम्म प्राकृतिक पर्यटकीय पदमार्ग निर्माण गरिने जानकारी दिए।

सो पदमार्ग निर्माण कार्यको औपचारिक सुरुवात आइतबार नगरप्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख बिना बास्तोला, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, यूएनडिपीका प्रतिनीधि निराजन ताम्राकार लगायतले गरे।

सो क्रममा नगरप्रमुख मिश्रले चाँगुनारायण नगरपालिकामा पर्यटनको प्रचूर सम्भावनाको खोजी गरी तिनीहरुको प्रवद्र्धनका लागि नगरपालिका लागिरहेको बताए। उनले नगरपालिकाले दीगो पर्यटनका लागि विभिन्न कामहरु गरिरहेको बताए।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटनलाई विकास र समृद्धिको मूल आधार भएको बताए भने चाँगुनारायण नगरपालिका ६ का वडाध्यक्ष सन्ते वाइवा, यूएनडिपीका निराजन ताम्राकार, चाँगुनारायण नगरपालिकाकी अधिृकत सन्तोषी नेपालीलगायतले सो परियोजनाबारे चर्चा गरेका थिए।

प्रकाशित: ३ आश्विन २०७८ १०:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App