८ वैशाख २०८१ शनिबार
अर्थ

ठेकेदारको लापरवाहीले सडक अपलत्र

चार वर्षअघि ठेक्का लागेको गोरखा सदरमुकामको खोलखोले नगरपालिका चोक जाने सडक अझै कालोपत्रे भएको छैन। उक्त सडकमा अहिले सवारी साधन गुड्न, सर्वसाधारणलाई पैदल हिँड्न मुस्किल छ। निर्माण व्यवसायीको लापरवाहीले सडक बन्न नसकेको भन्दै स्थानीय आक्रोशित भएका छन्।

संघीय आयोजना कार्यान्वयन एकाइ पोखराले आर्थिक वर्ष २०७४/७५ मा करिब दुई करोड ५० लाख रूपैयाँमा ठेक्का लगाएको हो। निर्माणको जिम्मा लिएको मिलिनियम–कल्पवृक्ष जेभीले १४ सय मिटर सडक खण्डमध्ये चार सय मिटर मात्र आफ्नो जिम्मामा रहेको जनाएको छ।  

‘धेरै काम सकिएको छ, हामीले चार सय मिटर मात्र कालापत्रे गर्ने हो, सबै होइन,’ निर्माण कम्पनीका सञ्चालक हरि पन्तले भने। आयुर्वेद चोकदेखि ढलान गर्ने काम भने सकिएको उनले बताए। कोरोनाको कारण सडक निर्माण समयमै हुन नसकेको दाबी गर्दै व्यवसायी पन्तले मौसम खुलेको खण्डमा दसैंअघि कालोपत्रे हुने बताए।  

तर सोही कम्पनीले जिम्मा लिएको आयुर्वेद अगाडिको सडक, बसपार्कमा स्ल्याब राख्ने काम, सतिपिपलबाट गोरखा दरबार जाने सडक, स्वास्थ्य कार्यालयदेखि वल्र्ड क्यापिटल विद्यालयतर्फ जाने सडक पनि अलपत्र छ। एकै समयमा टेन्डर भएको यी आयोजनामध्ये एउटाको पनि काम पूरा भएको छैन।  

‘सडक नबनेर जनताले धेरै दुःख पाए, पैदल हिँड्दा पनि जुत्ता बोकेर हिँड्नुपरेको छ,’ स्थानीय कृष्णबाबु थापाले भने, ‘बाटो नहुँदा केही समयअघि गाउँबाट शव उठाउन पनि सकिएन।’ उक्त सडकमा खाल्डाखुल्डी रहेको, पानी जम्ने, सवारी साधन आउजाउ नभएको र निर्माण व्यवसायीले नै बीच सडकमा निर्माणमा प्रयोग हुने सवारी साधन तेस्र्याएर राखेकाले सवारी चल्न थप सकस भएको स्थानीय बिनोद बस्नेतले बताए। ‘व्यापारी, व्यवयायीले गोदामसम्म सामग्री ल्याउन सकेका छैनौं,’ उनले भने, ‘ठेकेरदाको लापरवाहीले अहिले अन्यत्रै गोदाम खोजेर भाडा तिर्नुपरेको छ।’

शनिबार नागरिक साझा सबालको अगुवाइमा स्थानीयबासीले सडक छिटो मर्मत गर्नुपर्ने माग सरोकारवालासँग राखे। उनीहरूले गोरखा नगरपालिका, जिल्ला प्रशासन लगायत कार्यालयले पनि सडक छिटो बनाउन दबाब दिनुपर्ने बताए। उक्त सडक खण्डामा पर्ने गोरखा नगरपालिका–८ का वडाअध्यक्ष कृष्ण केसीले स्थानीयले वर्षौंदेखि सडकका कारण दुःख भोग्नुपरेको बताए। ‘वडाअध्यक्षले केही गरेन भन्नुहुन्छ, मैले कयौंपटक कार्यालय प्रमुख र ठेकेदारलाई भनेको छु,’ उनले भने ‘तर सुनेको नसुन्यै गर्छन्।’  

उक्त सडक संघीय सडक आयोजना एकाइ पोखराले ठेक्का लगाएको हो। गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले संघीय सरकारले ठेक्का लगाएको सडक भएकाले नगरपालिकाले सोही सडकमा काम गर्न नसकेको बताइन्। ‘दोहोरो बजेट राख्न सकिँदैन, त्यस्तो व्यवस्था पनि छैन,’ उनले भनिन्, ‘तर ठेकेदार र ठेक्का लगाउने कार्यालयलाई पटक–पटक छिटो काम गर्न भनेका छौं, अटेरी गरेका छन्।’ यसअघि जिल्ला प्रशासन कार्यालयले पनि उक्त सडक छिटो निर्माण गर्न ठेकेदारलाई निर्देशन दिएको थियो।  

खोलखोलेदेखि नगरपालिकासम्म जाने १४ सय मिटरमध्ये बाँकी एक किलोमिटर भने बजेट अभावले अलपत्र छ। उक्त बाँकी खण्ड ठेक्का लगाउन बजेट नभएको संघीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ। ‘अहिले चलिरहेको काम सकियो भने बाँकी कामको ठेक्का नगरपालिकाले आफैं लगाउन सक्छ,’ नगरप्रमुख राजनराज पन्तले भने। काम अलपत्र हुँदा अहिले कति, कहाँ ठेक्का लगाउने भन्ने यकिन हुन नसकेको बताए।  

संघीय आयोजना कार्यान्वयन एकाइ, पोखराका कार्यालय प्रमुख झपटबहादुर थापाले निर्माण व्यवसायीले समयमै काम नगर्दा ढिलो भएको बताए। निर्माण व्यवसायीलाई पटक–पटक छिटो काम सक्न अनुरोध गरिएको उनले बताए।

प्रकाशित: ३ आश्विन २०७८ ०३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App