१६ चैत्र २०८० शुक्रबार
अर्थ

जिससको मौज्दात कोषको रकम पालिकाले खर्च गर्न सकेनन्

जिल्ला समन्वय समिति (जिसस) गोरखाको मौज्दात कोषको रकम गोरखाका ११ वटै पालिकालाई दिने निर्णय भएको तीनवर्ष बित्यो । तर अझैपनि सबै पालिकाले कोषको रकम खर्च गर्न सकेका छैनन् । दुईवटा नगरपालिकालाई एककरोड ४० लाख रुपैयाँ, चुमनुब्री गाउँपालिकालाई एककरोड २० र अन्य पालिकालाई एककरोड १० लाखका दरले रकम दिने तीनबर्षअघि नै निर्णय भएको थियो । तर अहिलेसम्म १२ करोड ८० लाख रकममध्ये जम्मा पाँचकरोड रुपैयाँ मात्रै निकासा भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

चुमनुब्री, सिरानचोक गाउँपालिकाले योजना सम्झौता नै गरेका छैनन् भने बजेट निकासा हुन सकेको छैन । गोरखा र पालुङटार नगरपालिकालाई एककरोड ४० लाख रुपैयाँ बजेट दिने निर्णय भएको थियो । पालुङटार नगरपालिकाले प्रशासकीय भबन निर्माणका लागि उक्त रकम खर्च गरेको छ । ‘पालुङटारले एक करोड ४० लाख नै लगेको छ’, जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेलले भने । गोरखा नगरपालिकाले ३३ लाख ८३ हजार रुपैयाँ मात्रै लगेको छ । गोरखा नगरपालिकाले वडा नम्बर १२ को भबन निर्माणका लागि उक्त बजेट खर्च गरेको हो । बाँकी रकम के काममा खर्च गर्ने भन्ने बारे नगरपालिकाले सम्झौता गर्न बाँकी छ ।

चुमनुब्री गाउँपालिकालाई एककरोड २० लाख दिने निर्णय भएको थियो । प्रशासकीय भबन निर्माणमा बजेट खर्च गर्ने योजना पालिकाको रहेको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए । तर अहिलेसम्म बजेट निकास नै नभएको जिससले जनाएको छ । गाउँपालिकाको प्रशासकीय भबनको टुंगो नलाग्दा त्यहाँ बजेट खर्च हुन नसकेको हो । सिरानचोक गाउँपालिकाले प्रशासकीय भबन निर्माणका लागि उक्त रकम खर्च गर्ने जनाएको छ । गाउँपालिकाको केन्द्र टुंगो नलाग्दा एककरोड १० लाख रुपैयाँ जिल्ला समन्वय समितिको मौज्दात कोषको रकम उक्त गाउँपालिकाले निकासा गरेर लैजान सकेको छैन ।

भिमसेन थापा गाउँपालिकाले खानेपानी आयोजनालाई उक्त रकम बिनियोजन गर्ने प्रस्ताब पेश गरेपनि रकम निकासा भने भएको छैन ।बारपाक सुलिकोट गाउँपालिकाले गाउँपालिकाको भबन निर्माणका लागि ७७ लाख रुपैयाँ लगिसकेको छ । बारपाक वडा नम्बर ८ को भबन निर्माणका लागि बाँकी ३३ लाख १२ हजार रुपैयाँ पनि निकास भईरहेको समन्वय अधिकारी पोखरेलले बताए ।

धार्चे गाउँपालिकाले प्रशासकीय भबनका लागि गतवर्ष ७७ लाख रुपैयाँ लगेको छ । ३३ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । प्रशासकीय भबन निर्माण पुरा भए सँगै उक्त रकम निकासा हुने जिससले जनाएको छ । गण्डकी गाउँपालिकाले मलामे खानेपानी आयोजनाका लागि १५ लाख रुपैयाँ निकासा लगेको छ । बाँकी रकम गाउँपालिकाको भबन निर्माणमा खर्च हुनेछ । त्यहाँ पनि केन्द्र बिवादका कारण भबन बन्ने ठाउँ टुंगो नलाग्दा समस्या रकम निकासा भएको छैन ।

अजिरकोट गाउँपालिकाले बुद्धज्योती आबासीय विद्यालय भबन मर्मतका लागि चार लाख ९० हजार रुपैयाँ निकासा लगेको छ । सोही विद्यालयको मर्मत पूरा भएपछि दुई लाख १० हजार रुपैयाँ लैजान बाँकी छ । खरिबोट खानेपानी आयोजनाका लागि १० लाख रुपैयाँमध्ये सात लाख निकासा भइसकेको जिल्ला समन्वय अधिकारी पोखरेलले बताए । एक करोड १० लाखमा अन्य रकम निकासा हुन बाँकी छ ।आरुघाट गाउँपालिकाले वडा नम्बर ८ र १० को भबनका लागि ५८ लाख ८७ हजार सम्झौता गरेको मध्ये ४२ लाख ८६ हजार रुपैयाँ निकासा भएको छ । १६ लाख रुपैयाँ निकासा हुन बाँकी छ । बाँकी रकम सम्झौता भएको छैन ।

शहीदलखन गाउँपालिकाले प्रशासकीय भबनका लागि गत वर्ष ७७ लाख निकासा लगेको छ । मकैपुर प्राविको भबन मर्मतका लागि पाँच लाख ७३ हजार सम्झौता भएकोमा चारलाख एकहजार मात्रै गएको छ । एक लाख ७२ हजार निकासा हुन बाँकी छ ।शहीदलखन ८ मा वडा कार्यालय भबन मर्मतका लागि आठ लाख चार हजारमा सम्झौता भएको थियो । त्यो मध्ये जिससबाट पाँच लाख ६३ हजार मात्रै निकासा भएको छ । दुई लाख ९३ हजार निकासा हुन बाँकी छ ।

प्रकाशित: १ आश्विन २०७८ ०७:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App