coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

धरानको बजार क्षेत्रमा ठूला र मझौला गाडीहरु वान वे गरिने

धरानको मुख्य बजार क्षेत्र भानुचोकदेखि उत्तरमा लक्ष्मीचोकसम्म यातायात सञ्चालन वान वे प्रणालीमा गरिने भएको छ।भदौ २८ गतेको निर्णयलाई कार्यान्वयन गर्न उपप्रमुख मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा बिहीबार बसेको बैठकले ठूला र मझौला किसिमका सार्वजनिक यातायातका साधनहरुलाई वान वे गर्ने निर्णय गरिएको हो। उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार तत्काललाई ठूला र मझौला सवारीलाई वान वे गर्ने र क्रमैसँग अन्यको हकमा पनि लागू गर्ने निर्णय भएको जानकारी दिए।

उनका अनुसार शुक्रबारदेखि कोशी राजमार्ग हँुदै तराईबाट आएका ठूला र मझौला गाडीहरु भानुचोकबाट सिधै लक्ष्मीचोक हुँदै मात्र आवागमन गर्न पाउनेछ भने पहाडी क्षेत्रबाट आएका गाडीहरु लक्ष्मी चोकबाट पुरानो बजार, माछा भौडी हुँदैमात्र भानुचोक आउन पाउनेछन्।

उपप्रमुखको संयोजकत्वमा गठित समितिले हाल कोशी राजमार्गमा पर्ने धरानको बजार क्षेत्रमा सडकै हुने पार्किङलाई व्यवस्थित गर्न उपयुक्त विकल्पको अध्ययन गरेर सुझाव दिने पनि निर्णय भएको छ। सोही समितिले साना सवारीहरु अर्थात् २ वा ३ पांग्रे सवारीलाई पनि कसरी वान वे प्रणालीमा लैजाने भनेर पनि सुझाव दिनेछ। ‘अस्तव्यस्त पार्किङलाई उचित स्थान खोजेर व्यवस्थित गर्ने निर्णय भएको छ,’ उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले भने, ‘यातायात व्यवसायीहरुसँग पनि निरन्तर छलफल भइरहेकै छ, शुक्रबारदेखि कार्यान्वयन हुँदैछ।’

यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश १ संयोजक सरोज श्रेष्ठले ३ दिनअघि निर्णय गरेर वान वे गर्ने पर्याप्त तयारी नभएको बताए। उनले भने, ‘हामीले गत वर्ष नै वान वे गर्न सुझाव दिएका थियौं। यतिका समय चुप लागेर ३ दिनअघि निर्णय भयो। आवश्यक तयारी भएन।’ पुरानो बजारतर्फ ठूला गाडी आउजाउ गर्नलाई बिजुलीको पोलमा यत्रतत्र तारहरु भएकोले समस्या हुने उनले बताए। यस्तै, पुरानो बजारतर्फ दुवैतिर जथाभावी हुने पार्किङलाई व्यवस्थित गर्न पनि समय अभाव भएको उनले बताए।  

धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका सई एकराज खड्काले नगर प्रहरी र ट्राफिक प्रहरी वान वे प्रणाली लागू गराउन बिहीबार साँझदेखि नै खटिएको बताए। ‘नगर प्रहरी र हामी वान वेको बोर्ड राख्न खटिएका छौं, शुक्रबारदेखि ठूला र मझौला गाडीहरु वान वे नै हुन्छ,’ उनले भने। उपमहानगरपालिकाले बुधबार एक सूचना प्रकाशित गर्दै लक्ष्मी चोकदेखि भौडी हुँदै भानुचोकसम्म सडक छेउछाउमा झुण्डिएको तारहरु व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको थियो। 

प्रकाशित: ३१ भाद्र २०७८ १३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App