१६ चैत्र २०८० शुक्रबार
अर्थ

नाकाबाट गाडी प्रवेश रोक्दा होटेल व्यवसाय थलिएको गुनासो

भारतको रक्सौल सिमासँग जोडिएको वीरगन्ज नाकाबाट मानिसहरुको आवागमन यतिखेर निर्वाध सुचारु छ। मानिसहरु सवार भएर आउने सवारी साधनमात्र दशगजामै रहेको मितेरी पुलमा रोकिने गरिएको छ। यसले पर्यटकीय महत्व भएका पाहुनाहरु नेपाल आउन बन्द भएकोले आफूहरुको व्यवसाय धरासायी भएको होटेल तथा पर्यटन व्यवसायीहरुले गुनासो गरेका छन्। उनीहरुका अनुसार वीरगन्ज क्षेत्रका होटेलहरु स्थलमार्ग भएर भारततिरबाट आउने पर्यटकहरुमाथि निर्भर रहेकोले त्यस्ता पर्यटकको संख्या अहिले न्यून भएकोले होटेलको संचालन खर्चसमेत उठाउन धौधौ परेको छ।

होटेल तथा पर्यटन व्यवसायी संघ पर्सा वीरगन्जले बुधबार पत्रकारहरुसँग छलफल गर्दै समस्याहरु सुनाए। ‘यसको असरले कति श्रमिक बेरोजगार भए, कति लगानी जोखिममा छ र कति व्यवसायीको उठिवास भए भन्ने पीडा साझा गर्न चाहन्छौं,’ संघका अध्यक्ष हरी पन्तले भने, ‘बालबालिका पढ्ने विद्यालयदेखि सपिङ्ग मलसम्म सबै क्षेत्र खुल्ला भइसक्यो, नाका भने अझै पुरानो अवस्थामा सुचारु भएको छैन, जबसम्म नाकामा भारतीय पर्यटकका गाडीहरु आउने अवस्था फर्किदैन, होटेल तथा पर्यटन व्यवसाय लयमा फर्किँदैन।’

मानिसबाट सर्ने कोरोनाको रोकथामका लागि भनेर पनि मान्छे आउन दिने अनि गाडीमात्र रोक्ने कुरा वैज्ञानिक नभएको उनको तर्क थियो। भारतीय यात्रुवाहक तथा निजी सवारी आउन दिन व्यवसायीले माग गरेका छन्। कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि २०७६ चैत ९ गतेको नेपाल सरकारको निर्णयअनुसार त्यसको २ दिनपछि चैत्र ११ देखि सरकारले लकडाउनसँगै सीमामा आवागमनमा रोक लगाएको थियो। दुनियाँभरका देशहरुमा सरकारहरुले सीमाबाट आवागमन तथा अध्यागमन बन्द गरिरहेको तत्कालीन समयमा नेपाल भारत दुवै देशका सरकारले यो नाका पनि बन्द गरेका थिए। त्यसपछि आवागमन रोकिएको भारतीय निजी गाडीको लागि अझै नाका खुल्न सकेको छैन।  

मालवाहक सवारी र त्यसमा हुने जनशक्तिको आवागमन भने कहिले पनि रोकिएको छैन। पैदल यात्रु लकडाउनमा लुकिछिपी र पछिल्लो समयमा खुल्ला रुपमा नै आउनजान पाएकै छन्। बन्द छ केवल यात्रुवाहक सवारी साधन। पूर्ववत अवस्थाजस्तै आवश्यक स्वास्थ्य मापदण्ड लागू गरेर भारतीय गाडी आवागमनको व्यवस्था मिलाउनुपर्ने होटेल तथा पर्यटन व्यवसायीको माग छ। वीरगन्ज क्षेत्रका होटेलहरुमा करिब ७० प्रतिशत पाुहना भारतीय नै हुने गरेकोमा उनीहरु नआउँदा व्यवसाय चल्न नसकेको व्यवसायिको गुनासो छ। यहाँ रहेका ७० बढी होटेलहरुको बैंकको ब्याज, होटल संरचनाको भाडा, कर्मचारीको पारिश्रमिक, विद्युत लगायत नियमित खर्चको धान्न गाह्रो भएको बताउँदै कतिपय जना व्यवसायबाट नै पलायन हुने अवस्थामा आएको व्यवसायीहरु बताउँछन्।

प्रकाशित: ३१ भाद्र २०७८ १३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App