coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘कन्कोर’को एकाधिकार हट्यो: निजी कम्पनीको रेलबाट नेपाली कार्गो ढुवानी सुरु

वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा भारतीय निजी कम्पनीको मालबाहक रेलमार्फत पहिलो खेप आयातित सामान आइपुगेको छ। यससँगै नेपाली कार्गो ढुवानीमा भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर निगम लिमिटेड ‘कन्कोर’को एकाधिकार हटेको छ।

भारतीय निजी रेल सेवा प्रदायक कम्पनी हिन्द टर्मिनलको मालबाहक रेल हल्दिया बन्दरगाहबाट ९० कन्टेनर खाद्य सामग्री लिएर बुधबार वीरगन्ज सुक्खा बन्दरगाह आइपुगेको हो। सोमबार हल्दिया बन्दरगाहबाट हिँडेको रेल बुधबार बिहान १० बजे आइपुगेको सुक्खा बन्दरगाह सञ्चालक गर्ने कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले जनाएको छ।

२१ मे २००४ मा नेपाल र भारतबीच भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीसम्बन्धी सर्त र मापदण्ड निर्धारण गरेको थियो, जस अनुसार भारतीय कन्टेनर निगम (कोन्कर)लाई रेलमार्फत ढुवानीमा एकाधिकार थियो। भारतको पश्चिम बंगालस्थित कोलकाता र हल्दिया तथा आन्ध्रप्रदेशको विशाखापट्नम बन्दरगाहबाट हुने कन्टेनर र अन्य कार्गो ढुवानी कन्कोरले गर्दै आएको थियो। 

गत जुलाईमा रेल सेवा पुनरावलोकन सम्झौता संशोधन भएपछि निजी रेल कम्पनीले ढुवानी गर्ने बाटो खुलेको थियो। सम्झौता संशोधन भएपछिको व्यवस्थामा भारतका निजी रेल सेवा प्रदायक र नेपाल रेल्वे कम्पनीले पनि नेपालमा रेलमार्फत ढुवानी गर्न सक्नेछन्। सोही बमोजिम पहिलो खेप सामान सुक्खा बन्दरगाह आइपुगेको हो।

कन्कोरलाई एकाधिकार हुँदा रेल भाडामा उक्त कम्पनीको मनोमानी देखिएको आयातकर्ता व्यवसायीको गुनासो थियो। उनीहरूले रेल्वे सेवा सम्झौता संशोधनको माग गर्दै आएका थिए। अब भारतमा रहेका विभिन्न १५ निजी रेल सेवा प्रदायक कम्पनीमार्फत ढुवानी सेवा लिने बाटो खुलेको छ। अहिलेसम्म नेपालतर्फको ढुवानीमा रुचि देखाएका कन्कोरबाहेक तीन कम्पनीमध्ये हिन्द टर्मिनलको मालबाहक रेल पहिलोपटक आइपुगेको हो।

निजी रेल सेवा प्रदायक कम्पनीलाई नेपालको कार्गो ढुवानीको बाटो खोलेपछि यसबाट बढ्ने प्रतिस्पर्धाले नेपाललाई लाभ हुने सेवाग्राही व्यवसायीको अपेक्षा छ। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश लाठ रेल सेवामा प्रतिस्पर्धाले फाइदा हुनेमा आशावादी रहेको बताउँछन्। 

‘बजारमा प्रतिस्पर्धी बढी हुँदा उक्त वस्तु वा सेवा स्वाभाविक रूपमा सस्तो हुन्छ, यसमा पनि त्यही कुरा लागू हुन्छ,’ लाठले भने, ‘तर यतिले पुग्दैन, ढुवानी अवधि घटाउनु मुख्य चुनौती छ र यसको लागि नेपाल सरकारको चासो हुनुपर्छ।’ वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले नेपाली आयातकर्तासँग अब सेवा प्रदायक रोज्न पाउने विकल्प भएको बताउँदै यसलाई सुखद भने। 

सुक्खा बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिका सञ्चालन प्रमुख अतुलकुमार शर्माले अरू रेल सेवा प्रदायक कम्पनी पनि नेपाली आयातकर्तालाई सेवा दिन इच्छुक देखिएको बताए। उनले पनि निजी कम्पनीको आगमनले प्रतिस्पर्धात्मक लाभ नेपाली आयातलाई हुने दाबी गरे। केही समयभित्र प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले आफ्नै रेल पनि सञ्चालनमा ल्याउने उनले जानकारी दिए।  

प्रकाशित: ३१ भाद्र २०७८ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App