८ वैशाख २०८१ शनिबार
अर्थ

आजदेखि जनगणना सुरू

संघीय संरचना लागू भएपछिको पहिलो तथा देशको १२औं जनगणना बुधबार (आज) सुरु हुँदैछ। जनगणनाका लागि पहिलो चरणमा सुपरीवेक्षकहरू आउँदो असोज १८ सम्म नागरिकको घर–घर पुग्दैछन्। त्यसपछि गणकहरू विस्तृत विवरण संकलनका लागि जानेछन्।  

सुपरीवेक्षकले प्रत्येक घर पुगेर २५ प्रश्नावली भर्नेछन्। उनीहरूले ल्याएको तथ्यका आधारमा कात्तिक २५ देखि मंसिर ९ सम्म जनगणनाको मुख्य काम हुनेछ। जनगणनाका लागि घरमा पुग्ने गणकले चाहिँ ८० प्रश्नको जवाफ लिनेछन्।  

‘मेरो गणना, मेरो सहमागिता’ नारासहित हुनलागेको यसपटकको जनगणनामा प्रत्येक परिवारको सामाजिक र आर्थिक गणना पनि हुनेछ। यसअघिका जनगणनामा प्रत्येक परिवारको नभई नमुनाका रूपमा प्रति ८ परिवारमात्र सामाजिक÷आर्थिक गणना गरिन्थ्यो। सुपरीवेक्षकले चाहिँ वडा तहको सामुदायिक तथ्यांकसमेत संकलन गर्ने जनगणना कार्यालयले जनाएको छ। 

वडा तहको तथ्यांकका लागि वडाका निश्चित व्यक्तिबाट विवरण लिइनेछ। वडा तहको विभिन्न विवरणसमेत आउने भएकाले यो पटकको जनगणना विगतभन्दा फरक रहेको कार्यालयका जनगणना अधिकारी खगेन्द्र कार्कीले बताए। ‘गणकले प्रत्येक परिवारको सामाजिकरआर्थिक गणना गर्ने भएकाले पनि यो पटकको जनगणना फरक र महत्वपूर्ण छ,’ उनले भने, ‘तर, व्यक्ति र परिवारको त्यस्तो विवरण गोप्य राखिन्छ, सामूहिक तथ्यांकमात्र सार्वजनिक हुन्छ।’  

यसअघि व्यक्तिगत विवरणमा महिला, पुरुष र तेस्रो लिंगीको महल रहेकामा यो पटक महिला, पुरुष र अन्य भन्ने स्तम्भ राखिएको छ। अन्यको महलमा तेस्रो लिंगीसहित ५ प्रकारका यौनिक अल्पसंख्यकको विवरण संकलन गरिने कार्यालयले जनाएको छ। ‘यसअघिका गणनामा यौनिक अल्पसंख्यकको यकिन तथ्यांक आउन सकेको थिएन,’ जनगणनाको विवरण संकलनकी सहजकर्ता गौरी नेपालीले भनिन्, ‘यसअघि तेस्रो लिंगीलाई मात्र गणनामा राखिएको थियो, अब त्यो महलमा अन्य लिंगी राख्दा ५ प्रकारका यौनिक अल्पसंख्यकको तथ्यांक आउनेछ।’ तर, यो प्रकारको विवरण संकलन निकै चुनौतीपूर्ण भएकाले सहयोग गर्न सबैलाई उनले आग्रह पनि गरिन्।  

जनगणनाका लागि जिल्लामा ९९ सुपरीवेक्षकलाई तालिम दिइएको छ। तर, गणकको सूची भने तयार हुन बाँकी नै रहेको कार्कीले जनाए। जिल्लामा ३ सय ९७ गणक छनौट हुने र १ गणकले १ सय ६० देखि १ सय ९० परिवारको गणना गर्ने अनुमान छ। जिल्लाका स्थानीय तहमा जनगणना कार्यालय खुलिसकेका छन्।  

मानिसको अक्सर बसोबास रहेको ठाउँमै उसको गणना गरिनेछ। स्थायी ठेगाना जहाँ भएपनि व्यक्ति बढीजसो जहाँ बस्छ, उसको तथ्यांक बसेकै ठाउँमा संकलन हुने कार्कीले बताए। ‘व्यक्तिको विवरण नछुटाइ र नदोहोर्‍याइ संकलन गरिनेछ,’ उनले भने, ‘व्यक्तिको स्थायी ठेगाना कता हो भन्ने छुट्याउनुपर्दैन तर उसको अहिले बसोबास कहाँ हो भन्ने आधारमा विवरण संकलन गरिन्छ।’  

विगतभन्दा यो पटक गुणस्तरीय र विश्वसनीय तथ्यांक आउने आशा गरिएको छ। जनगणना अधिकारी कार्कीले जिल्लामा जनगणनाका लागि सबैजसो तयारी पूरा भएको बताए। विगतमा सामुदायिक विद्यालयका शिक्षकलाई गणक रूपमा नियुक्त गरिन्थ्यो। यो पटक कक्षा १२ उत्तीर्णलाई छनौट गरी गणक राखिनेछ। जनगणनाको प्रारम्भिक तथ्यांक ३ महिनाभित्रमा आउनसक्ने उनले जनाए।  

यसअघि गत असार ८ मै सम्पन्न गर्नेगरी जनगणनाको तयारी गरिएको थियो। तर, कोभिड महामारीका कारण जनगणना कार्यक्रम नै स्थगित गर्नुपरेको थियो।

प्रकाशित: ३० भाद्र २०७८ ०४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App