७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘स्पञ्ज आइरनको भन्सार छुटले स्वदेशी उद्योगलाई प्रोत्साहन’

स्पञ्ज आइरनको भन्सार शुल्क शून्यमा झार्ने सरकारी निर्णयले स्वदेशी डन्डी उद्योगलाई प्रोत्साहन भएको भन्दै स्पार्कबाट डन्डी बनाउँदै आएका उद्योगले स्वागत गरेका छन्। तयारी बिलेटको प्रयोग गर्ने डन्डी उद्योगले विरोध गरिरहेको बेला नेपाल फलामे छड उत्पादक संघले एक विज्ञप्ति प्रकाशित गरी सरकारको निर्णयले स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति लिएको भन्दै खुसी व्यक्त गरेका हुन्।

नेपालभित्रै डन्डी उत्पादनलाई प्रोत्साहन गर्नका लागि गरेको नयाँ प्रावधानले स्वदेशी उत्पादन बढाउन र मुलुक भित्र औद्योगिक वातावरण बनाउन सहयोग पुग्ने दाबी गरेका छन्। स्पन्ज आइरन आयातमा लाग्दै आएको भन्सार शुल्कलाई शून्यमा झार्दा मुलुकमा लगानी विस्तार हुने, डन्डी निर्यातको वातावरण बनाउन सहयोग पुग्ने र स्वदेशमा नै रोजगारी सिर्जना गर्न सघाउ पुग्ने संघको दाबी छ।

यसले स्वदेशी पूँजी र सीप मार्फत मुलुकभित्र करिब ६ अर्ब रूपैयाँको लगानी रोलिङ्ग मिल्स तथा डन्डी उद्योगमा थप हुने संघले जनाएको छ। उद्योगहरूले लगानी बिस्तार गरेर बिलेट उत्पादन गर्दै आत्मनिर्भरको बाटोमा अग्रसर हुने बताएका छन्।

गत शुक्रबार प्रतिस्थापन विधेयक ल्याएको सरकारले स्टिल बिलेट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पन्ज आइरन’ को भन्सार महशुल शुन्यमा झार्ने र आयातित बिलेटमा लाग्ने अन्तःशुल्क बढाउने निर्णय गरेको थियो। अध्यादेशमा सोझै बिलेट आयात गर्दा ४.७५ प्रतिशत भन्सार शुल्क लिने व्यवस्था गरिएको छ भने स्पञ्ज आइरनको भन्सार शुल्क शून्यमा झारिएको छ।आयातित बिलेटको अन्तःशुल्क प्रतिकिलो एक रूपैयाँ ६५ पैसाबाट बढाएर दुई रूपैयाँ ५० पैसा पुर्‍याइएको छ।

यसअघि स्पन्ज आइरन र स्टिल बिलेटको आयातमा लाग्ने अन्तःशुल्क प्रतिकिलो एक रूपैयाँ ६५ पैसा थियो। बिलेट आयात गर्दा प्रति टन एक हजार ६ सय ५० रूपैयाँबाट बृद्धि गरी प्रति टन दुई हजार पाँच सय अन्त शुल्क पुर्‍याएको छ। भन्सार शुल्क छुट दिने निर्णयले स्वदेशी डन्डी उद्योगहरूले नयाँ आयोजनाबाट उत्पादन हुने तीन हजार मेगावाट विद्युतलाई खपत गर्न समेत सहयोग पुग्ने दाबी गरेका छन्।

फर्नेस आयल आयातमा भारत र अन्य मुलुक जाने करिब साढे चार अर्ब रूपैयाँ स्वदेशमा रहने उद्योगीको जिकिर छ। संघका अनुसार अहिले नेपालमा करिब १६ लाख टन वार्षिक बिलेट उत्पादन क्षमता छ। थप १० लाख टन बिलेट उत्पादन हुनेगरी उद्योगको क्षमता बिस्तार हुने दाबी गरेका छन्। यसले स्वदेशमा थप तीन हजार रोजगार सिर्जना हुने, लगानी थपिने, उद्योगको क्षमता बिस्तार हुने र तत्कालै दुई २० मेगावाट विद्युत खपत हुने दाबी गरेका छन्।

डन्डी उद्योगका लागि कच्चा पदार्थबाहेक समग्र सामग्री स्वदेश भित्रै उत्पादन गर्न सकिएको खण्डमा यसले लागत घटेर उपभोक्तालाई पनि फाइदा पुग्ने बताएका छन्। डन्डीको मूल्य प्रति किलोग्राममा तीन रूपैयाँसम्म घट्नसक्ने र प्रत्यक्ष उपभोक्तालाई फाइदा हुने विज्ञप्तिमा उल्लेख छ।

आयात प्रतिस्थापनमा सघाउ पुग्ने जनाएका छन्। आयात घटेसँगै वैदेशिक मुद्रा बचत हुने र व्यापारघाटा कम गर्दै वैदेशिक मुद्रामा तीन हजार ५० करोड रूपैयाँ बचत हुने दाबी छ। स्वदेशमा नै उत्पादन वृद्धि भएपछि डन्डीको लागि बिलेट आयातमा कमी हुन र परनिर्भरता समेत घटाउँदै स्वदेशी उत्पादनको प्रयोगलाई बढावा दिन सघाउ पुग्ने जनाएका छन्। संघका अनुसार अहिले ११ लाख ७६ हजार ५४६ मेट्रिक टन बिलेट आयात हुने गरेको छ। १६ लाख ६ हजार २३५ मेट्रिक टन डन्डी उत्पादन हुन्छ।

नेपाल रोलिङ्ग मिल्स एशोसिएसनको नाममा केही समूह तथा व्यक्तिहरूले अनधिकृत रूपमा पत्रकार सम्मेलन गरी भ्रम सिर्जना गर्ने काम गरेको समेत आरोप लगाएका छन्।

एशोसिएसनद्धारा स्वागत 

नेपाल रोलिङ्ग मिल्स एशोसिएसनले स्वदेशभित्रै बिलेट उत्पादन गर्नका लागि कच्चा पदार्थ स्पन्ज आइरन आयातमा लाग्दै आएको भन्सारलाई शून्यमा झार्नु स्वागत योग्य कदम भएको जनाएको छ। सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत नेपालभित्रै डन्डी उत्पादनलाई प्रोत्साहन गर्नका लागि गरेको नयाँ प्रावधानले स्वदेशी उत्पादन बढाउन र देशभित्र औद्योगिक वातावरण बनाउन सहयोग गर्ने एशोसिएसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसले देशभित्रै कच्चा पदार्थ मार्फत बिलेट उत्पादन गर्न र सो बिलेटमार्फत स्वदेशमा नै डण्डी उत्पादन गर्न सकिने र यसले देशभित्रै लगानी बिस्तार गर्न, भविश्यमा निर्यातको वातावरण बनाउन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने एशोसिएसनको धारणा छ।

बजेटमा आएका नयाँ व्यवस्थाले स्वदेशी पूँजी र सिपमार्फत देशभित्र थप ६ अर्बको लगानी रोलिङ्ग मिल्स तथा डण्डी उद्योगमा थप हुने र कोभिड–१९ बाट शिथिल रहेको स्वदेशी अर्थतन्त्रलाई यसले चलायमान बनाउन देशमा औद्योगिक वातावरण सिर्जना गर्न, विदेशी मुद्रा बाहिरीनबाट बचाउनुका साथै सरकारलाई समेत राजश्व वृद्धिमा सकारात्मक प्रभाव पार्ने यस एशोसिएसनको ठहर छ।

प्रकाशित: ३० भाद्र २०७८ ०२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App