७ वैशाख २०८१ शुक्रबार
अर्थ

नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना: निर्माण लक्ष्यअनुसार, अहिलेसम्म २१ प्रतिशत भौतिक प्रगति

नेपालको पहिलो सुरुङमार्ग नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाको निर्माण कार्य कोभिड–१९ बाबजुद लक्ष्यअनुसार नै निर्माण भइरहेको आयोजनाले दाबी गरेको छ। 

आयोजनाका निर्देशक नरेशमान शाक्य कोभिड–१९ को पहिलो र दोस्रो लहरका बाबजुद  सुरुङमार्ग निर्माण कार्य लक्ष्यअनुसार नै भइरहेको बताउँछन्। ‘अहिलेसम्म आयोजनाको भौतिक प्रगति २१ प्रतिशत भइसकेको छ,’ उनले भने, ‘कोभिड–१९ को कारणले कम्तीमा सुरुङ खन्ने काम करिब एक महिना जति मात्रै ढिला भएको छ। दैनिक ६ मिटर सुरुङ खन्ने लक्ष्य भएकोमा अहिले दैनिक १० मिटर सुरुङ खन्ने काम भइरहेको छ।’

आयोजनाका निर्देशक शाक्यले कोभिड–१९ को बाबजुद  नागढुंगा–नौबिसे सुरुङमार्गको भौतिक प्रगति सन्तोषजनक रहेको दाबी गरे। ‘आयोजनाको भौतिक प्रगति सन्तोषजनक छ,’ उनले थपे, ‘कोभिड संक्रमणको बेला पनि सुरुङ निर्माणको काम नरोकिएकाले यो उपलब्धि हात पार्न सकेका हौं।’ आयोजनाको वित्तीय प्रगति ३० प्रतिशत भएको छ।

मुख्य सुरुङ ४२२ मिटर र इभाक्युएसनतर्फ ८१५ मिटर खनियो

कोभिड महामारीका बाबजुद  आयोजनाको मुख्य तथा इभाक्युएसन सुरुङमार्ग खन्ने कामले निरन्तरता पाइरहेको छ। छोटो समयमै आयोजनाले लोभलाग्दो ढंगले सुरुङमार्ग खन्दै आइरहेको छ।आयोजनाका अनुसार अहिलेसम्म मुख्य सुरुङतर्फ अहिलेसम्म ४२२ मिटर सुरुङ खनिसकेको छ। 

मुख्य सुरुङको काठमाडौंतर्फ १७९ मिटर सुरुङ खनिसकेको छ। धादिङतर्फबाट पनि २४३ मिटर सुरुङ खनिसकिएको छ। आयोजनाका अनुसार इभाक्युएसनतफ टनेल (सुरुङ) तर्फ ८ सय १५ मिटर सुरुङ खनिसकिएको छ। आयोजनाले काठमाडौंतर्फको इभाक्युएसन टनेलतर्फ ५१० मिटर र धादिङतर्फ ३०५ मिटर सुरुङ खनेको छ।  

आयोजनामा कार्यरत सबै कामदारले खोप लगाइसके

आयोजनामा कार्यरत कामदारमा गत वैशाख अन्तिमदेखि जेठको पहिलो साता कोभिड संक्रमण देखिएको थियो। आयोजनामै कार्यरत ८६ जना कामदार संक्रमित देखिए। तर, आयोजनाले उच्च सतर्कता अपनाएकाले पनि धेरै कामदारमा संक्रमण देखिएन। अर्काेतर्फ आयोजनाले क्याप्पमा हेल्थ डेक्ससहित औषधिउपचारको व्यवस्थापन गरेकाले पनि आयोजनाको काम प्रभावित हुन नपाएको हो।

तर, कोभिडको उच्च संक्रमणको बेला आयोजनामा खटिने अधिकांश कामदार घर फर्किएका थिए। अहिले भने सम्पूर्ण कामदारलाई दुवै चरणको खोप लगाएकाले ढुक्क भएर निर्माणको काम गरिरहेका छन्। आयोजनाका निर्देशक शाक्यले आयोजनामा कार्यरत सबै कर्मचारीलाई कोभिडविरुद्धको खोप लगाइसकेको बताए। 

अहिले आयोजनामा दैनिक ६ सयभन्दा धेरै कामदार सुरुङमार्ग तथा अन्य संरचना निर्माणमा खटिरहेका छन्। अहिले पनि आयोजनाले साइटमै अक्सिजनसहितको मेडिकल सुविधा उपलब्ध गराउँदै आइरहेको छ। आयोजनाका अनुसार कोभिड–१९ को संक्रमण र वर्षाको कारणले काठमाडौंतर्फको पहुँचमार्ग, कल्भर्टलगायतका काम भने प्रभावित भएको छ।

गत आवसम्ममै आयोजनाको ९ सय मिटर सुरुङ खन्ने तथा ११ सय मिटर पहुँच मार्ग ट्र्याक खन्ने काम भइसकेको थियो। आयोजनाका अनुसार मुख्य सुरुङ ८.२/१५ मिटरकोे हुनेछ । आयोजनाको काम रातदिन दुवै सिफ्टमा गरेर भइरहेको छ। आयोजनाले अहिले विस्फोटक पदार्थ प्रयोग गरेर खनिरहेको छ। 

यो सुरुङमार्ग ड्रिल एन्ड ब्लास्ट प्रविधिमा खनिएको हो। सुरुङमार्ग मेलम्ची खानेपानी आयोजनाको जस्तै गरेर खनिनेछ। सुरुङमार्गको कुल लम्बाइ २.६८ किलोमिटर हुनेछ भने साढे ९ र चार मिटरका दुईवटा सुरुङ निर्माण गर्ने आयोजनाको लक्ष्य छ।

२.६८ किलोमिटर सुरुङ निर्माण गर्न आयोजनाले सन् २०२३ को अप्रिल महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ। धादिङ र काठमाडौंतर्फ पाँच/पाँच सय मिटर सडक तथा दुई फ्लाइओभर र सुरुङमार्ग तथा मुआब्जासहित उक्त आयोजनामा करिब साढे २२ अर्ब रूपैयाँ लागत लाग्नेछ। 

यो आयोजना निर्माण गर्ने ठेक्का जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले पाएको छ। सुरुङमार्ग निर्माण गर्न जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि ऋण दिने सम्झौता भइसकेको छ। यो आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रूपैयाँ लाग्नेछ।

प्रकाशित: २६ भाद्र २०७८ ०१:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App