७ वैशाख २०८१ शुक्रबार
अर्थ

आधाभन्दा बढी वैदेशिक लगानी औद्योगिक क्षेत्रमा

नेपालमा भित्रिने वैदेशिक लगानीमध्ये आधाभन्दा बढी औद्योगिक क्षेत्रमा लगानी हुने गरेको एक ताजा अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन अनुसार वार्षिक रूपमा प्राप्त हुँदै आएको वैदेशिक लगानीमध्ये ५६ प्रतिशत औद्योगिक र ४४ प्रतिशत उत्पादन लगानी हुने गरेको छ।  

औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ र जलविद्युत् क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी रहेको छ। यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको छ।

आर्थिक वर्ष २०७६/७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भएका एक सय ९८ कम्पनीको नमुना छनोट गरी अध्ययन गरिएको राष्ट्र बैंकले जनाएको छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ मा प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात साढे आठ प्रतिशतले वृद्धि भई करिब दुई खर्ब रूपैयाँ पुगेको छ। जसमध्ये चुक्ता पुँजीको अंश ५४.४, रिजर्भ ३३.८ र कर्जाको अंश ११.८ प्रतिशते छ।  

नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी

नेपालमा करिब दुई खर्ब वैदेशिक लगानीको मौज्दातमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ। जसमा भारतबाट सबैभन्दा धेरै ६२ अर्ब ४५ करोड रूपैयाँ लगानी रहेको उक्त प्रतिवेदनमा उल्लेख छ। त्यस्तै चीनबाट ३० अर्ब ९७ करोड, सेन्ट किट्टस एन्ड नेभिसबाट १५ अर्ब २७ करोड, आयरल्यान्डबाट १२ अर्ब ९३ करोड र सिंगापुरबाट १२ अर्ब ४३ करोड रूपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएको पाइएको छ।  

टिआर कर्जाको सीमा ९० दिन

यसैबीच ट्रस्ट रिसिप्ट कर्जा (टिआर लोन) को सीमा ९० दिनमा झारिएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाले दिने टिआर प्रकृतिको कर्जाको सीमा ९० दिनमा झारेको हो। यसअछि यस्तो कर्जाको सीमा एक सय ८० दिन थियो।  

राष्ट्र बैंकले टिआर कर्जा, बिल्स डिस्काउन्टिङ तथा त्यस्तै प्रकृतिका आयात कर्जा प्रदान गर्दा अधिकतम ९० दिनसम्मको लागि मात्र प्रवाह गर्न पाइने भनेको छ। विदेशबाट सामान आयात गर्नको लागि व्यवसायीहरूले टिआर ऋण लिने गर्छन्।  

त्यस्तै, राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित होटल ट्रेकिङ हवाई लगायतका क्षेत्रलाई २०७९ सम्म भुक्तान गर्नुपर्ने कर्जाको दायित्वलाई छुट्टै हिसाब बनाएर चार किस्तामा असुल गर्ने गरेर हिसाब मिलाउन पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

प्रकाशित: २५ भाद्र २०७८ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App