१६ चैत्र २०८० शुक्रबार
अर्थ

हवाई ढुवानी अनुदानको व्यवस्था गर्न अंगुर कृषकको माग

ए हजुर तपाईं कता, हिमाली अर्गानिक अंगुर यता। त्रिपुरासुन्दरी नगरपालिकाको १ वडा अन्तरगत पर्ने खातीज्युलामा यतिखेर अर्गानिक अंगुर लटरम्म फलेको छ। फार्ममा लटरम्म फलेका अर्गानिक स्वादिष्ट अंगुरले अंगुरका पारखीहरुलाई बोलाइरहेको छ। त्रिपुरासुन्दरी नगरपालिका १ वडामा पर्ने त्रिपुराकोट, रल्ली र गल्ली गाउँमा अंगुरलाई पकेट खेतीको रुपमा विकास गर्ने गरी कृषकले अंगुर खेती गरेका छन्। विशेष गरी त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट, रल्ली र गल्ली गाउँले यतिखेर अंगुर गाउँको रुपमा आफुलाई स्थापित गर्न थालेका छन्। त्रिपुराकोट गाउँमा पुग्ने पाहुनालाई कृषकले फार्ममा लटरम्म फलेका अंगुरले स्वागत गर्ने गरेका छन्। फार्ममा पुग्ने नवआगन्तुकलाई सत्कार स्वरुप अंगुर खान दिएर फर्कदा अंगुरै उपहारसहित पठाउने गर्छन्।  

त्रिपुरासुन्दरी १ का मोतिप्रसाद हमालले फलफूल तथा अंगुर खेतीको नाममा फर्म दर्ता गरेर अंगुरको व्यावसायिक खेती गरेका छन्। उनको फर्ममा यत्तिखेर झण्डै दुई लाखको अंगुर फलेको छ। बजार अभावमा लटरम्म फलेको अंगुरको मूल्य नपाउँदा फार्ममै कुहिएर जान थालेको गुनासो कृषक हमालको छ। त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाले ०७५ सालमा नगरलाई फलफूल खेतीको माध्यमबाटै आर्थिक समृद्धिको रुपमा अगाडि बढाउने उद्देश्यले भारतको महाराष्ट्रमा पर्ने नासिकबाटै नौ हजार अंगुरका विरुवा ल्याएर कृषकलाई वितरण गरेका थिए। कालो रंगको अंगुर अर्गानिक रुपमा फलेकाले स्वास्थ्यको लागि फइदाजनक हुने भएपनि बजार र बैकल्पिक प्रशोधन गर्ने उपकरणको अभावमा फारममा कुहिएर मलखादको रुपमा प्रयोग गर्नुबाहेक अरु केही नहुने अर्का कृषक सरीता हमालको भनाइ छ। सरीताले भनिन्, ‘दिनमा दुई पटक ढोकामा लगेर त्रिपुराकोटको बगरबजारमा बिक्रीको लागि राखे पनि मुश्किलले कट्ने गरेको र दैनिक दुईदेखि तीन हजार सम्मको व्यापार हुने गरेको छ।’

सहज यातायातको अभाव र महंगो ढुवानीका कारण नेपालगन्ज लगायतका शहरी बजारमा यतिखेर अंगुरको अभाव हुने भएपनि डोल्पामा लटरम्म फलेको अंगुरले बजारको पहुँचसम्म पुग्न सकेको छैन। यसो त डोल्पाका रंग, खदाङ्ग, त्रिपुराकोट, रल्ली र गल्लीमा अंगुर फलेको छ। डोल्पामा अंगुरको व्यावसायिक खेती गरिएको यो पहिलोपटक हो। त्रिपुरासुन्दरी नगरपालिकाका कृषिप्रेमी मेयर ओमबहादुर बुढाले पहिलोपटक ०७५ मा एक करोड र दोस्रो पटक ०७६ मा १ करोड ४० लाख रुपैयाँ फलफूलका विरुवा खरिद र कृषकलाई घेरावार निर्माणका लागि बजेट विनियोजन गरेका थिए। अंगुरको फार्ममा सर्पोटको लागि राखिएको एंगललाई समेत झुकाएर लटरम्म फलेको अंगुर कृषकलाई टिप्न यतिखेर कृषकलाई भ्याइनभ्याई छ। त्रिपुरासुन्दरी १ कै सुस्मिता श्रेष्ठको फार्ममा पनि अंगुर लटरम्म फलेको छ। झण्डै एक हेक्टर जमिनमा फलाईको अंगुर नेपालगन्ज लगायतका शहरमा लगेर बिक्री गर्न सकेमा तीन लाखसम्मको आम्दानी हुने अंगुर व्यवसायी श्रेष्ठ बताउँछिन्। नगरकेन्द्र बगर र सदरमुकाम दुनैमा सस्तो रुपमा बिक्री गर्दा पनि दिनको सरदर तीन हजारसम्मको आम्दानी हुने गरेको र सानो बजारले गर्दा अंगुरले खासै बजारको पहँुचसम्म नपुगेको श्रेष्ठको भनाइ छ। अंगुरखेतीको विशेष कार्यक्रम ल्याएर व्यावसायिक अंगुरको खेतीको लागि प्रोत्साहन गरेपनि नगर मेयर ओमबहादुर बुढाको मृत्युसँगै नगरले अंगुर विशेष कार्यक्रमको लागि विनियोजन गरेको वजेट पनि अनेत्र शिर्षकमा खर्च गरेर घेरावार कार्यक्रम नै ओझेलमा पार्दा फारममा अंगुर फलेर सडेर जान थालेको भएपनि घेरावारको अभावमा संरक्षण गर्न समस्या भएको व्यवसायी श्रेष्ठको भनाइ छ।

सुस्मिता फलफूल अंगुर नर्सरी फर्म दर्ता गरेर व्यवसाय गर्दै आएकी श्रेष्ठ यातायातको सहज सुविधा र नगरले ढुवानी अनुदानको व्यवस्था गरिदिएमा नेपालगन्ज लगायतका शहरी क्षेत्रमा यहाँको अर्गानिक अंगुर पुर्याउन सकिने बताउँछिन्। कौशल फलफूल फर्मको नाममा फारम दर्ता गरी अंगुरको खेती गरेका लबचन्द्र रोकाया डोल्पामा अंगुर व्यवसायको लागि अनुकुल मौसम भएको बताउँछन्। साउन भदौदेखि असोजसम्म नेपालका ठूला शहरी क्षेत्रमा अंगुरको हाहाकार हुने तर हिमाली जिल्लामा भने अंगुर बजार अभावमा सडेर जाने भएकाले सरकारले डोल्पाली अंगुर किसानको लागि ढुवानी अनुदानको ब्यवस्था गर्नु पर्ने माग रोकायाको छ। त्रिपुरासुन्दरी नगरपालिकाका कार्यकारी प्रमुख प्रितीभक्त गिरीले अंगुर कृषकको लागि घेरावार एंगल खरिदको लागि बजेट विनियोजन भएपनि कोरोनाको खोप लगायत स्वास्थ्य उपकरण खरिदमा खर्च गरिएको बताए। डोल्पामा पाइलट कार्यक्रमको रुपमा स्वर्गीय मेयर ओमबहादुर बुढाले अंगुर खेतीको लागि बजेट विनियोजन गरी विशेष कार्यक्रम संचालन गरेकोमा अंगुरको खती राम्रो हुने देखिएकोले आगामी वर्षमा विशेष वजेट विनियोजन गरेर ढुवानी अनुदान लगायत घेरावारमा जोड दिन आवश्यक पहल गरिने कार्यकारी गिरीले बताए।

कर्णाली प्रदेश सरकारले कर्णालीमा स्याउ जोन कार्यक्रम संचालन गरी स्याउ ढुवानीमा अनुदानको व्यवस्था गरेको थियो। डोल्पाली अंगुरलाई पनि शहरी क्षेत्रको बजारसम्म पुर्याउन हवाई ढुवानी अनुदानको व्यवस्था गरेमा कृषकको अंगुरले बजार पाउनुका साथै सरकारले कृषि फलफूलको खेतीबाट किसानको आर्थिक जीवनस्तर माथि उकास्ने लिएको लक्ष्य पनि पूरा हुनेछ।

प्रकाशित: २३ भाद्र २०७८ ०९:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App