coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रसुवा भन्सारः ६ वर्षमा ३० अर्ब ४० करोड राजस्व संकलन

रसुवा भन्सार कार्यालय तस्बिरः हिमनाथ/नागरिक

रसुवा भन्सार कार्यालयले गएको ६ वर्षमा ३० अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि नियमित कारोबार सुरु गरेको थियो। नाका सञ्चालन भएदेखि गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म कार्यालयले ३० अर्ब ४० करोड ५४ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको हो।

कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा ७४ करोड ३३ लाख २६ हजार, आव ०७३/७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आव ०७४/७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार, ०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार, आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब २७ लाख ७७ हजार र गत आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ५४ करोड २७ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ।  

२०७१ सालदेखि सञ्चालनमा आएको नाकामा पछिल्लो समय व्यापारिक कारोवार बढ्दै गएको थियो। रसुवा भन्सारले २०७१ साल यता दुई वटा आर्थिक वर्षमा आफ्नो लक्ष्य पूरा गर्न नसकेपनि अन्य वर्षमा लक्ष्य भन्दा बढी असुली गर्दै आएको छ। कोभिड–१९ का कारण डेड वर्षदेखि राजस्व संकलन प्रभावित बनेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए। २०७६ माघयता  नाकाबाट आयात निकै कम भएको छ। २०७६ माघ १५ गतेदेखि २०७७ जेठ तेस्रो सातासम्म नाका बन्द गरिएको थियो। अहिले एकतर्फी रूपमा नाका सञ्चालन भइरहेको छ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलपूmल आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ।

२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: २२ भाद्र २०७८ ०९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App