५ वैशाख २०८१ बुधबार
अर्थ

बैतडीका स्थानीय बजारमा पसलपिच्छे अखाद्य वस्तु

अनुमगनका क्रममा बैतडीका बजारमा भेटिएका अखाद्य वस्तु नष्ट गरिँदै । तस्बिरःनागरिक

बैतडीका स्थानीय बजारमा पसलपिच्छे अखाद्य तथा म्याद नाघेका वस्तु फेला पर्न थालेका छन्। संयुक्त अनुगमन टोलीले चाडपर्वलाई लक्षित बजार अनुगमन गर्दा पसलपिच्छे अखाद्य वस्तु भेटिएका हुन्। हरेक पसलमा म्याद नाघेका खाद्य, पेय पदार्थ र अन्य सामग्री भेटिने गरेका छन्।

बजार अनुगमन नभएको उपभोक्ताको गुसासोपछि गत हप्तादेखि जिल्लामा अनुगमन थालिएको थियो। अनुगमनका क्रममा हालसम्म १ लाख ३५ हजार रुपैयाँ मूल्यबराबरका अखाद्य तथा म्याद गुज्रेका वस्तु बरामद गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

बजार अनुगमनमा  धेरैजसो पसलमा खाद्यान्न सामग्रीसमेत म्याद नाघेका पाइएका, पेय पदार्थ, कस्मेटिक सामग्रीहरु समेत म्याद नाघेका, कतिपय पसलहरु सम्बन्धित निकायमा दर्ता नभएका पाइएका छन्। दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न बजारमा अनुगमन गरिएको छ। जिल्लाका अन्य स्थानीय बजारमा पनि अनुगमन जारी रहने बताइएको छ।

अनुगमनका क्रममा ३ पसल दर्ता नभएका र सम्बन्धित स्थानीय तहमा दर्ता गर्न आग्रह गरिएको छ। यस्तै ३ पसललाई जरिवानासमेत गरिएको सूचना अधिकारी भारतीले बताए। एक किराना पसललाई २० हजार जरिवाना गरिएको छ। यस्तै अर्को किराना पसलमा अखाद्य वस्तु भेटिएकाले ५ हजार जरिवाना, एउटा होटेलमा वियरमा मिति नाघेकोले ५ हजार जरिवाना गरिएको बताइएको छ।

उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन कार्य थालिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले बताए। बजार अनुगमन कार्यले व्यापारी र उपभोक्ता दुवै सचेत गराउन मद्दत पुग्ने विश्वास गरिएको छ। चाडपर्वलाई लक्षित गर्दै सुरु गरिएको अनुगमन कार्यलाई तिहारसम्मै निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित: २१ भाद्र २०७८ १४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App