६ वैशाख २०८१ बिहीबार
अर्थ

यो वर्षको मौद्रिक नीति उद्योगी व्यवसायीको पक्षमा: प्रवक्ता ढकाल

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो वर्षको मौद्रिक नीति उद्योगी व्यवसायीको पक्षमा रहेको बताएका छन्। भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा जुमको माध्यमबाट मौद्रिक नीति २०७८ का सकारात्मक पक्षहरु विषयक एक अन्तरक्रिया कार्यक्रममा उनले यो वर्षको मौद्रिक नीतिले कोभिड माहामारीको कारण प्रभावित क्षेत्रहरु सिनेमा हल, यातायात, पर्यटन क्षेत्र, होटल, हस्तकला उद्योेग, पार्टी प्यालेस, शिक्षा क्षेत्रलाई केही राहत दिने प्रयास भएको जानकारी दिए।  

कोरोनाका कारण व्यवसाय संचालन गर्न कठिनाई भोगिरहेकाहरुको लागि तथा रोजगारी गुमाएकाहरुलाई लक्षित गरी विभिन्न सहुलियत कर्जाका कार्यक्रम संचालनका रहेको उनले बताए। कर्जाको व्याज भुक्तानीमा पनि व्यवसायमा परेको कोरोनाको प्रभावको आधारमा सहुलियतको व्यवस्था रहेको जानकारी उनले गराए। सहुलियत सुविधाका बिषयमा विस्तृत जानकारी नेपाल राष्ट्र बैंकको बेभसाइटमा रहेको कुराको पनि प्रवक्ता ढकालले चर्चा गरे।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले यस्तो बिषम परिस्थितिमा पनि प्रविधिको प्रयोग गरी समसामयिक एवं महत्वपुर्ण विषयमा यसरी छलफल कार्यक्रमको आयोजना हुन उद्योगी व्यवसायीहरुको निम्ति लाभको विषय हो भनी शुभकामना व्यक्त गरे।

आयोजक संघका अध्यक्ष प्रदिप श्रेष्ठले कुनै पनि देशको केन्द्रिय बैंकद्वारा गरिने मुद्रा तथा साख व्यवस्थापनको प्रयास नै मौद्रिक नीति हो भन्दै अहिलेको यस विषम परिस्थितिमा मौद्रिक नीति सम्बन्धिको छलफलको आवश्यकता प्रष्ट्याए। संघका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरले भोलिका दिनमा पनि पुनः उद्योगी व्यवसायीहरुको हितको निम्ति यस प्रकारका कार्यक्रमहरुको आयोजना हुने विचार व्यक्त गरेका थिए।

कार्यक्रमका संयोजक एवं एशोसियटतर्फका उपाध्यक्ष कृष्णमुरारी न्यौपानेले मौद्रिक नीतिका सबल एवं सकारात्मक पक्षहरुको चर्चा गरे। १४ वटा मुख्य दफाको चर्चा गर्ने क्रममा उनले घरेलु तथा साना उद्योग एवं महिला उद्यमीहरुले यो वर्षको मौद्रिक नीतिवाट धेरै लाभ लिन सक्नेमा जोड दिए। २५ लाखसम्मको विपन्न कर्जा, महिला उद्यमी कर्जा १५ लाखबाट २० लाख गरेको, कर्जाको समयावधि पुनरावलोकन, व्याजदरमा सहुलियत, निक्षेपकर्तालाई उचित व्याजदरको व्यवस्था, विप्रृेषण बैंकमार्फत भुक्तानी लिदा १ प्रतिशत व्याजको व्यवस्था रहेको विषयमा उनले जानकारी दिए।

प्रकाशित: १६ भाद्र २०७८ ०६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App