१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

२५ प्रतिशत जनसंख्यामा पुग्यो बिमाको पहुँच

कुल जनसंख्याको करिब २५ प्रतिशतमा बिमाको पहुँच पुगेको छ। आर्थिक वर्ष २०७७/७८ मा बिमाको पहुँच करिब दुई प्रतिशतले वृद्धि भएपछि एक चौथाई जनसंख्यामा पहुँच पुगेको हो। अघिल्लो आर्थिक वर्षसम्म बिमाको पहुँच २२.६१ प्रतिशत जनसंख्यामा पुगेको थियो। बिमा समितिका अनुसार गत आवको असार मसान्तसम्म कुल जनसंख्याको २४.७६ प्रतिशतमा पहुँच पुगेको हो।  

यो वैदेशिक रोजगारीमा जानेलाई गरिने म्यादी जीवन बिमाबाहेकको हो। बिमा जीवन बिमालाई जोड्ने हो भने बिमाको सेवा लिनेको संख्या कुल जनसंख्याको २७ प्रतिशत बढी पुग्ने समितिले जनाएको छ।  

सरकारले वैदेशिक रोजगारीमा जानेलाई अनिवार्य म्यादी जीवन गर्नुपर्ने नियम बनाएको छ। रोजगारीको क्रममा निधन हुने व्यक्तिका परिवारले सोही बिमा गरेबापत १४ लाख रूपैयाँसम्म रकम उपलब्ध गराउने गर्छन्।  

त्यस्तै, वैदेशिक रोजगारीको क्रममा निधन हुनेका व्यक्तिलाई बिमा कम्पनीले बाहेक वैदेशिक रोजगार बोर्डले प्रतिव्यक्ति सात लाख रूपैयाँ उपलब्ध गराउने गर्छ। यस्तो सुविधा प्राप्त गर्न बोर्डको कल्याणकारी कोषमा एक हजार पाँच सय र दुई हजार पाँच सय रूपैयाँ (श्रम स्वीकृतिको अवधिको आधारमा) जम्मा गर्नुपर्छ। मृत्यबाहेक बोर्डले वैदेशिक रोजगारीको क्रममा घाइते, बिरामी वा अंगभंग हुनेलाई समेत सात लाख रूपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउने गर्छन।  

२६ प्रतिशतले बढ्यो बिमा व्यवसाय

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष बिमा व्यवसाय करिब २६ प्रतिशतले वद्धि भएको छ। समितिका अनुसार व्यवसाय बढेपछि बिमा कम्प्नीहरूले गत वर्ष एक खर्ब ५२ अर्ब ६५ करोड रूपैयाँ पुगेको छ।  

जसमा जीवन बिमा कम्पनीले एक खर्ब २० अर्ब ९५ करोड रूपैयाँ र निर्जीवन बिमा कम्पनीले ३१ अर्ब ७० करोड रूपैयाँ शुल्क संकलन गरेका छन्। अघिल्लो आवको तुलनामा निर्जीवन बिमा व्यवसाय करिब २३ र जीवन बिमा कम्पनीहरूको व्यवसाय २७ प्रतिशतले वृद्धि भएको समितिले जनाएको छ।  

अघिल्लो आवको तुलनामा गत आवको असार मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूको बिमालेख २४ प्रतिशतले वृद्धि भएर २७ लाख ३१ हजार सात सय ७३ पुगेको छ। यस अवधिमा जीवन बिमा कम्पनीहरूले जारी गरेको बिमा लेख अघिल्लो आवको तुलनामा ०.४१ प्रतिशतले वृद्धि भएर ८६ लाख १२ हजार आठ सय ५० पुगेको समितिले जनाएको छ। 

प्रकाशित: १६ भाद्र २०७८ ०१:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App