दलाललाई १३ लाख रूपैयाँ बुझाएर अफगानिस्तान पुगेको १४ दिनमै फर्कनु परेपछि सानोडुम्बा–७ भोजपुरका राजकुमार राईलाई यतिखेर के र कसो गरौं भइरहेको छ।
नेपाली सेनाबाट रिटायर्ड भएपछि उनले सुर्खेत, वीरेन्द्रनगरपालिका–४ का बासुदेव ओलीलाई त्यत्ति धेरैले रकम बुझाएर अफगानिस्तानको यात्रा तय गरेका थिए। ओली पनि नेपाली सेनामै काम गरेपछि केही वर्षदेखि अफनानिस्तानस्थित विश्व बैंकको कार्यालयमा सुरक्षा गार्डको रूपमा काम गर्दै थिए।
‘एक साथीको चिनजानमार्फत ओलीलाई १३ लाख रूपैयाँ बुझाएर फागुन १५ गते दुबई उडेको हुँ,’ आइतबार नागरिक दैनिकसँग उनले भने, ‘तर उसको (ओलीको) झुटले यतिखेर घर न घाटको भएको छु।’
ओलीले उनलाई मासिक एक हजार अमेरिकी डलर पारिश्रमिक र नेपालबाट उडेको एक सातामै जागिर पाइने प्रलोभन दिएर अफगानिस्तान बोलाएका थिए। तर फागुन १५ गते नेपालबाट छाडेको व्यक्तिले साउन अन्तिम साता काम सुरु गरेर १४ दिन मात्र पुग्दा तालिबान विद्रोहीले राजधानी काबुल कब्जा गरेपछि उनी नेपाल फर्कनु पर्यो।
एक सुको कमाउन नपाउँदै नेपाल फर्कनु परेपछि राईले अफगानिस्तान पठाउने ओलीसँग रकम फिर्ता मागेको र फिर्ता गर्ने सहमति भए पनि नेपाल फर्केपछि सम्पर्कविहीन भएको गुनासो गरे। उनलाई प्रतिदिन ३१ अमेरिकी डलर पारिश्रमिक दिने गरी होटल रोयल पार्कमा काम दिइएको थियो। यद्यपि नेपालबाट अफगानिस्तान लैजाँदा ओलीले भने क्यानेडियन राजदूतावासमा काम गर्ने प्रलोभन दिएका थिए।
ओलीले नेपालबाट प्रहरी र सेनाको जागिर छाडेका थुप्रैलाई अफगानिस्तान पठाउने गरेको तीन महिनामै फर्कनुपरेका दैलेख, नारायण नगरपालिका–७ का जनकबहादुर खत्रीले बताए। ‘नेपाल फर्कनुमा ओलीको दोष होइन तर पनि एक सुको कमाउन नपाई घर फर्कनु पर्दा कमिसनबापतको रकम फिर्ता माग्नु गलत होइन,’ उनले भने, ‘अफगास्तिानमा हुँदा ओलीले लिएको रकम फिर्ता गर्ने सहमति पनि जनाएका थिए। तर अहिले सम्पर्कविहीन भइरहेका छन्।’
उनका अनुसार ओलीले १४ दिनमै फर्कनुपरेकालाई १० लाख र तीन महिना काम गरेर फर्कनेलाई ६ लाख रूपैयाँ फिर्ता गर्ने सहमति जनाएका थिए।अफगानिस्तानमा राम्रो पारिश्रमिक पाइने भन्दै ओलीले दर्जनौं युवामध्ये कोहीसँग १२ र कोहीसँग १३ लाख रूपैयाँ असुल गरेका थिए। ‘अहिलेसम्म ओलीले पठाएकामध्ये ६ जना १४ दिनमा र १५ जना तीन महिना काम गरेर फर्केको भेटिएका छन्,’ उनले भने, ‘सबैको भनाइ कम्तीमा कमिसनको रकम फिर्ता होस् भन्ने माग छ। तर यतिखेर त्यो रकम फिर्ता नगर्ने ओलीको मनसाय देखिएको छ।’
अफगानिस्तानमामा हुँदा काम नगरीकन फर्कनु परेकालाई ८८ लाख रूपैयाँ फिर्ता गर्ने सहमति जनाएका ओली नेपाल फर्केपछि सम्पर्कमा नरहेको पीडितले गुनासो गरे।ओलीको मोबाइलमा नागरिक दैनिकको कार्यालयबाट सम्पर्क गर्दा मोबाइल बन्द गरिएको थियो। ओलीले प्रतिव्यक्ति १२/१३ लाख रूपैयाँ असुले पनि सुरक्षा गार्ड मगाउने कम्पनीले भने उल्टै दलाललाई प्रतिव्यक्ति पाँच सय अमेरिकी डलर दिएको तथ्य खुलेको पीडितले बताए।‘तालिवानी आक्रमणपछि घर फर्कनुपर्दा कामदार मगाउने कम्पनीलाई हाम्रो लगानी के हुने भन्नेबारे कुरा उठायौं,’ खत्रीले भने, ‘त्यो बेला त उल्टै बेलायती कम्पनीले प्रतिव्यक्ति पाँच सय अमरेकी डलर दलाललाई दिएको पो जानकारी दियो।’
अझै कैयौं नेपाली उद्धारको पर्खाइमा
काबुल तालिवानको कब्जामा गएपछि कतिपय नेपाली फर्किएका छन् भने अझै कैयौं फर्कन बाँकी रहेको पाइएको छ।चार दिनअघि काबुलबाट फर्किएका राईका अनुसार सँगै गएका पाँचजना हमिद कारजाई विमानस्थलमा उद्धारको पर्खाइमा छन्।
राईको समूहलाई भने जर्मनीको सैनिक उद्धार गरेको हो। ‘यतिखेर काबुलबाट जसको जसरी पहुँच पुग्छ, त्यसरी नै उद्धार हुने गरेको छ,’ हामी जर्मन सेनाको जहाजमा फर्कियौं तर सँगै गएका अन्य साथीहरू छुटे,’ उनले भने। काबुल विमानस्थलमा हमला हुन थालेकाले जुनसुकै बेला नेपाली निशानामा पर्न सक्ने उनको भनाइ छ।घटाइएको कार्यालयभित्र काम गर्ने भएकाले काबुलमा कति नेपाली छन् भन्नेबारे थाहा नभएको राईले बताए। ‘सँगै गएका र सँगै काम गर्ने पाँचजनाभन्दा बढी साथी उद्धारको पर्खाइमा छन्,’ उनले भने, ‘अन्य स्थानमा काम गर्ने पनि समस्यामा छन् कि जस्तो लाग्छ।’
वैदेशिक रोजगार विभागका अनुसार दुई वर्षयता अफगानिस्तान जान करिब दुई हजार एक सयले श्रम स्वीकृति लिएका छन्। दलालमार्फत जानेको भने विवरण नभएको विभागले जनाएको छ। हालसम्म काबुलबाट करिब एक हजारको उद्धार भएको बताइएको छ। अफगानिस्तानमा अमेरिकी, बेलायती, क्यानेडियन सेनाबाहेक संयुक्त राष्ट्र संघका विभिन्न निकाय र ठूला होटलमा नेपालीलाई सुरक्षा गार्डको काम गर्न लिने गरिन्थ्यो।
प्रकाशित: १४ भाद्र २०७८ ००:४५ सोमबार