८ वैशाख २०८१ शनिबार
अर्थ

टीकापुरको मुख्य बजार डुबानमा

अविरल वर्षाको पानीले टीकापुर बजार जलमग्न बनेको छ। बजार क्षेत्रका अधिकांश ठाउँमा पानी जमेको छ भने केही पसल डुबानमा परेका छन्।  टीकापुर नगरपालिका भवन आसपासको बलभद्र चोक, सिद्धार्थ चोक, रारा मार्ग, अस्पताल रोडका पसल डुबानमा परेका छन्।

टीकापुर नगरपालिका–१ का ब्लक नं. सि, ब्लक नं. १४, मुनुवारोड, गुम्बारोड लगायतका घर र पसलहरु समेत डुबानमा परेका छन्। टीकापुर उद्योग वाणिज्य संघका उपाध्यक्ष चक्रपाणी सापकोटाले डुबानका कारण धेरै व्यापारीले नोक्सानी व्यहोर्नु परेको बताए। उनले पसलभित्र पानी पसेर सामान नष्ट भएको जानकारी दिए। ‘धेरै व्यापारीले डुबानको समस्या भोगेका छन्’ उनले भने, ‘पानीको निकास निकाल्ने काम भैरहेको छ।’

उनले टीकापुर उद्योग वाणिज्य संघले स्काईभेटर भाडामा लगेर जमेको ठाउँको पानी निकासका लागि काम गरिरहेको जानकारी दिए।  

टीकापुर बजार क्षेत्रमा वर्षेनी डुबानको समस्या रहने गरेको छ। बजार क्षेत्रभित्र निर्माण भैरहेको सडक र नालीका साथै जमरा पुलदेखि बसपार्कसम्मको निर्माणाधीन चारलेन सडकका कारण यो समस्या बढेको हो। बजार क्षेत्रमा नाली निर्माण भएपनि निकास छैन। नालीको निकास नभएपछि पानी झन् बजारभित्रै थुनिएको स्थानीयले बताए।  

निर्माणाधीन चारलेन सडकले निर्माण गरेको नालीको समेत निकास छैन। कतिपय ठाउँमा कुलाको पानी झन् नालीमा मिसिएको छ। चारलेन सडकले गिट्टी थुपारेका कारण ब्लक नं. १४ मा जमेको पानी निकास हुन पाएको छैन। ‘सडकमा थुपारेको गिट्टी झन् बाँधजस्तै बनेर पानी निकास हुन पाएको छैन’ स्थानीय झंकर साउँदले भने, ‘जबरजस्ती बस्तीलाई डुबाउने काम भैरहेको छ।’

डुबानका बारेमा बुझ्न खोज्दा टीकापुर नगरपालिकाका मेयर तपेन्द्र रावलसँग सम्पर्क हुन सकेन। उनले मोवाइल कल रिसिभ गरेनन्। वडाध्यक्ष गंगाराम आचार्यले पानी निकासका लागि नगरपालिकाले एउटा स्काईभेटर परिचालन गरेको जानकारी दिए। उनले आफ्नोसमेत मेयर रावलसँग सम्पर्क हुन नसकेको बताए। 

प्रकाशित: ९ भाद्र २०७८ ०८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App