coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तीन स्थानीय तहमा मात्र बैंक पुग्न बाँकी

देशका सात सय ५० स्थानीय तहमा वित्तीय पहुँच पुगेको छ। अब तीनवटा स्थानीय तहमा मात्र बैंक तथा वित्तीय संस्था पुग्न बाँकी रहेको एक अध्ययनले देखाएको छ। स्थानीय तहमा बैंकको विस्तारसँगै नेपालमा एक वर्षभित्र ६.४४ प्रतिशतले वित्तीय पहुँच वृद्धि भएको छ। नेपाल राष्ट्र बैंक गरेको एक अध्ययनले २०७७ चैत मसान्तसम्म नेपालको वित्तीय पहुँच ६७.३४ प्रतिशत पुगेको देखाएको छ। गत वर्ष असार मसान्तसम्म वित्तीय पहुँच ६०.९ प्रतिशत थियो। अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ।  

उक्त अध्ययन शुक्रबार सार्वजनिक गरेको केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थामा कायम निक्षेप खाताको विवरणको आधारमा अध्ययन प्रतिवेदन तयार पारिएको जनाएको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाको शाखा संख्या २०७७ चैत मसान्तमा पाँच हजार नौ सय ७८ पुगेको छ। निक्षेप खाता संख्या तीन करोड ६३ लाख ६६ हजार र कर्जा खाता संख्या १६ लाख ८२ हजार आठ सय ४५ पुगेको छ।  

कुल निक्षेप खातामध्ये प्राकृतिक व्यक्तिको हिस्सा ९३.४८ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थामा खोलिएका खातामध्ये पुरुषका ६५.२ र महिलाका ७२.३ प्रतिशत खाता सक्रिय छन्। एटिएम प्रयोगकर्तामध्ये महानगरमा प्रतिखाता एटिएम प्रयोगकर्ता २७.२८ र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६.४८ प्रतिशत रहेको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, गाउँपालिकामा प्रतिखाता एटिएम प्रयोगकर्ता १०.६१ र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १.०८ प्रतिशत छन्। प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता गाउँपालिकामा ३३.३६ प्रतिशत रहेको देखिएको छ ।

प्रतिएक लाख जनसंख्यालाई सेवा पुर्‍याउने बैंकको शाखा संख्या औसतमा १८.९८ प्रतिशत रहेको छ। उक्त संख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३०.२५ र सबैभन्दा कम प्रदेश नं. २ मा ९.७३ प्रतिशत रहेको छ। ग्रामीण क्षेत्रमा प्रति एक लाख जनसंख्यालाई सेवा पुर्‍याउने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८.५४ र महानगरपालिकामा ४५.७६ प्रतिशत रहेको अध्ययनले देखाएको छ।  

कर्णालीमा सबैभन्दा कम

वाग्मती प्रदेशमा सबैभन्दा बढी बैंक खाता खुलेका छन् भने कर्णाली प्रदेशमा खाता खोल्नेको संख्या निकै कम छ। प्रतिहजार व्यक्तिमध्ये नौ सय ९८ को बैंकमा खाता रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिहजार पुरुषको एक हजार तीन सय १४ र प्रतिहजार महिलामध्ये ६ सय ८७ को मात्रै खाता रहेको देखिएको छ। सबैभन्दा धेरै वाग्मती प्रदेशमा प्रतिहजार एक हजार आठ सय दुई बैंक खाता खुलेका छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा प्रतिहजार चार सय ५८ व्यक्तिको मात्रै खाता छ ।

महिलाका खाता सक्रिय

कुल खातामध्ये ६७.७ प्रतिशत खाता सक्रिय छन्। अध्ययनमा पुरुषभन्दा महिलाका खाता सक्रिय रहेको देखिएको छ। पुरुषको खाता ६५.२ र महिलाको ७२.३ प्रतिशत सक्रिय छन्। ग्रामीण नगरपालिकामा ८१.५ खाता सक्रिय छन्। कुल व्यक्तिगत खातामध्ये ९६.१५ प्रतिशत खाताको हिस्सा वयस्क व्यक्ति (१५ वर्षभन्दा माथि) को रहेको केन्द्रीय बैंकले जनाएको छ। प्रतिलाख जनसंख्याबराबर करिब १९ प्रतिशत बैंकका शाखा उपलब्ध रहेको देखिएको छ। उक्त संख्या गण्डकी प्रदेशमा सबैभन्दा धेरै ३०.५ प्रतिशत र सबैभन्दा कम प्रदेश २ मा ९.७३ प्रतिशत रहेको छ ।

मोबाइल बैंकिङको प्रयोग बढी

उक्त प्रतिवदेनमा युवा पुस्तामा डिजिटल भुक्तानी प्रणालीको क्रेज बढ्दै गएको पाइएकोे छ। २० वर्षभन्दा माथिका युवाले डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढ्दै गएकाले भविष्यमा प्रविधिको माग उच्चरूपमा बढ्ने अनुमान गर्न सकिन्छ। डिजिटल भुक्तानी प्रणालीमध्ये सबैभन्दा लोकप्रिय मोबाइल बैंकिङ प्रणाली र त्यसपछि एटिएम देखिएको छ। 

प्रकाशित: ७ भाद्र २०७८ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App