८ वैशाख २०८१ शनिबार
अर्थ

अनुगमनमा कडाइ गर्दै बजार अनुगमन समिति, अखाद्य बस्तु भेटिए सिधै जफत

बजार अनुगमनका क्रममा खाद्यबस्तुको म्याद भए/नभएको निरीक्षण गर्दै ताप्लेजुङका सहायक प्रजिअ गायत्रा अधिकारी खड्का । तस्बिर : खगेन्द्र/नागरिक

ताप्लेजुङमा बजार अनुगमनका क्रममा अब पहिले भन्दमा कडाइ गरिने भएको छ। बजार अनुगमन समितिले अनुगमनका क्रममा उपभोक्ता हित बिपरितका कुनै कार्य भएको भेटिए कानुनी कारबाहीका लागि मार्ग प्रसस्त गर्ने निष्कर्ष निकालेको हो। साविकका वर्षहरुमा चाडपर्व नजिकका समयमा मात्र बजार अनुगमन हुने गरेकोमा यस वर्ष यो परम्परा तोड्दै नियमित अनुगमनलाई प्राथमिकता दिन थालिएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले अब कार्यसूची बनाएर नियमित तर छड्के रुपले बजार अनुगमन गरिने जानकारी दिइन्। अब बजार अनुगमन टोलीले अखाद्य बस्तु फेला परेमा सिधै जफत गरी नष्ट गर्ने छ। यतिञ्जेलसम्म बिक्रेतालाई उपभोक्ता हितको पक्षमा लाग्न सचेत बनाउने र प्रेरित गर्ने कार्य पूरा भएको बताउँदै सहायक प्रजिअ अधिकारीले अब बजार अनुगमन टोली उपभोक्ताका पक्षमा कठोर बन्ने निर्णयमा पुगेको बताइन्। अब मूल्य सूची नराखेका, नियमक निकायमा दर्ता र नविकरण नगरेका व्यवसायीहरु निगरानीमा हुने छन्। 

केही दिनअघि गरिएको बजार अनुगमनका ३ वटा पसलबाट म्याद नाघेका सहितका अखाद्यबस्तु समेत भेटिएको र त्यस्ता सामग्री भने जफत गरी नष्ट गरिएको सहायक प्रजिअ जानकारी दिईन्। क्लष्टर बनाएर अनुगमनलाई तीव्रता दिईएको र अनुगमनको क्रममा दिईएका सुझाव पालना नभए अब कानूनी प्रकृया अवलम्वन गरिने उनले बताईन्। संयुक्त अनुगमन टोलीले खाद्य तथा किराना, मदिरा तथा पेय पदार्थ, औषधि, मासु र अन्य सेवा प्रदायक निकायको सेवालाई बर्गिकरण गरेर अनुगमनलाई नियमित र अनिवार्य बनाउने भएको छ। 

बजार अनुगमनका क्रममा ठूलो व्यवसायिक लापरवाही र कानूनी वैधता विपरितका कार्य भएको पाईएमा तत्कालै कानूनी कारबाही समेत बढाउने गरी अनुगमनको कार्ययोजना तयार भएको बजार अनुगमन समितिले जनाएको छ।  

‘सामान ल्याउँदै मिति सकिएका’

म्याद नाघेका पेय पदार्थ बजार अनुगमनका क्रममा टोलीले फेला पार्ने सबैभन्दा धेरै परिणामको चिज हो। अनुगमन टोलीका अनुसार याद नाघेका पेय पदार्थमा पनि कोक, फ्यान्टा, स्प्राईट र जुस प्रकृतिका सामग्री बढी पर्छन्। उत्पादन मितिले २ महिना देखि ९ महिनाभित्रमा यस्ता प्रकारका पेय पदार्थको म्याद सकिन्छ। यसको मारमा पनि खुद्रा व्यपारी पर्ने गरेको गुनासा आउने गरेका छन्।

‘ल्याउँदा ल्याउँदै म्याद सकिएपछि मात्रै आई पुगेको हुन्छ भनेर व्यवसायीले दुखेसो पोख्ने गरेको पाएँ‘, अनुगमन टोली संयोजक तथा सहायक प्रजिअ अधिकारीले भनिन्। उनले म्याद भएको सामग्री मात्र खरिद गरी ल्याउन र मिति सकिएको अवस्थाको सामग्रीलाई छुट्टै भण्डारण कक्ष बनाई राख्न व्यवसायीलाई सुझाएकी छन्। यसो गर्दा अनुगमनको मारमा नपर्ने उनको भनाई छ। 

म्याद सकिएका सामग्री बोरामा प्याक गरेर म्याद सकिएको जनाएर राखेमा त्यसलाई फिर्ता पठाउन सकिने सुबिधा व्यवसायीले पाउँछन्। तर अहिले सम्म यसो हुन नसकेकोले व्यवसायीलाई यसका बारेमा पटकपटक सचेत गराईएको र अब भने‘एक्सन’मै आफूहरुको तयारी रहेको घरेलु कार्यालय ताप्लेजुङका प्रमुख देउप्रकाश तामाङले बताए।

प्रकाशित: १ भाद्र २०७८ १५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App