coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कर्जा सीमाले सेयर बजार प्रभावित

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर लगानीकर्ताले वित्तीय संस्थाबाट बढी १२ करोड रूपैयाँ कर्जा लिन पाइने व्यवस्था गरेपछिको पहिलो दिन सेयर बजार मापक परिसूचक नेप्से करिब २५ बिन्दुले घटेको छ।  

बढ्दो सेयर बजारमा लगाम लगाउन अनेक प्रयास गर्दै आइरहेको केन्द्रीय बैंकको पछिल्लो निर्णयले कस्तो असर पर्ला भनेर चासो रहेका बेला आइतबार कारोबार हुँदा नेप्सेमा गिरावट आएको हो। यद्यपि कारोबार रकममा भने नयाँ रेकर्ड कायम भएको छ। यस दिन २१ अर्ब ६४ करोड रूपैयाँभन्दा बढीको सेयर कारोबार भयो।  

एकातिर नेप्सेको गिरावट र अर्कोतर्फ कारोबार रकम बढेपछि आगामी दिनमा सेयर बजार कुन दिशामा अघि बढ्छ भन्नेमा अन्योल देखिएको लगानीकर्ता बताउँछन्।  

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार केन्द्रीय बैंकले सेयर धितोमा एउटा वित्तीय संस्थाबाट चार र सबै वित्तीय संस्थाबाट १२ करोड रूपैयाँ मात्र कर्जा लिन पाउने व्यवस्था गरेपछि ठूला लगानीकर्ता निराश भएको बताउँछन्। राष्ट्र बैंकको यस्तो निर्णयले बजारलाई असर गर्ने उनको भनाइ छ।  

‘यस्तो निर्णयले ठूला लगानीकर्तालाई समस्या पर्ने देखिएपछि अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण पनि गराइसकेका छौं,’ उनले भने, ‘अर्थमन्त्रीले ठूलो असर नगर्ने र सेयर बजार बिगार्न नदिने भन्नुभएको छ।’ नेपालमा सेयर बजारको भविष्य राम्रो भएको दाबी गर्दै उनले १२ करोड रूपैयाँभन्दा बढी कर्जा लिन नपाइने नीतिले संस्थागत लगानीकर्ता सबभन्दा बढी मारमा पर्ने बताए।  

आइतबार नेप्से सूचक २४.८८ बिन्दुले घटेर ३१५४.०३ कायम भएको छ। यस दिन नेप्से करिब ७० बिन्दुसम्म तल झरेको थियो। दुई सय २२ कम्पनीको करिब साढे तीन करोड कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २१ अर्ब ६४ करोड ७६ लाख रूपैयाँ पुगेको छ। यस दिन नेपाल बैंकको मात्रै एक अर्ब पाँच करोड रूपैयाँ बराबरको कारोबार भएको छ। बजारमा तीन कम्पनीको सेयर मूल्यमा सर्किट लाग्यो भने एक कम्पनीको सेयर सर्किट लेवलमा किनबेच भयो। खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त वित्तीय संस्था र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढ्यो।  

राष्ट्र बैंकले साना लगानीकर्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले एक व्यक्तिलाई बढी १२ करोड रूपैयाँसम्म कर्जा लिन पाइने नियम बनाएको बताइन्छ। ठूला लगानीकर्ताले मिलेमतो गरी सेयर मूल्यमा चलखेल गरेको आरोप लाग्दै आएको छ। सेयर बजारमा धेरै लगानीकर्ताको प्रवेश हुन सक्ने हो भने बजार स्वचालित बन्न सघाउने कतिपयको धारणा छ।  

शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सार्वजनिक गरेको नयाँ व्यवस्था (१२ करोड रूपैयाँसम्म कर्जा पाइने) संशोधन नभए ठूला लगानीकर्तालाई कर्जा फिर्ता गर्नुपर्ने अवस्था आउने एक ठूला लगाीकर्ताले बताए। ‘अधिकांश ठूला लगानीकर्ताले १२ करोड रूपैयाँभन्दा बढी कर्जा लिएर कारोबार गरिरहेका हुन्छन्,’ उनले नागरिकसँग भने, ‘राष्ट्र बैंकको यस्तो निर्णयपछि लगानीकर्तालाई कर्जा घटाउनु कि सेयर कारोबार गर्नु अन्योल सिर्जना भएको छ।’  

एउटा वित्तीय संस्थाबाट चार र सबै वित्तीय संस्थाबाट १२ करोड रूपैयाँसम्म कर्जा प्रवाह हुने कुरा सुन्दादेखि नै ठूला लगानीकर्ता डराएको उनको जिकिर छ। राष्ट्र बैंकका अधिकारीहरू भने मार्जिन लेन्डिङमा कडाइ गर्नुपर्ने भएकाले यस्तो व्यवस्था गर्नुपरेको बताउँछन्।  

कोरोना महामारी सुरु भएपछि नेप्से करिब दुई गुणाले बढेको छ। त्यस्तै करिब ४० लाखले डिम्याट खोलेका छन्। एक सुको लाभांश दिन नसक्ने कम्पनीका सेयर मूल्य पनि बढेका छन्। सेयर कारोबार गर्नेको संख्या ह्वात्तै बढेपछि कतिपयले ठूला लगानीकर्ताबाट चलखेल भएको गुनासो गर्दै आएका छन्।  

त्यस्तै, कतिपयले बैंक तथा वित्तीय संस्थाले सेयरमा लगानी गर्दा अनुत्पादक क्षेत्रमा लगानी बढेको दाबी गरिरहेका छन्। असारसम्म सबै बैंक तथा वित्तीय संस्थाको लगानी करिब ९४ अर्ब रूपैयाँ पुगेको छ।  

प्रकाशित: ३२ श्रावण २०७८ ०१:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App