७ वैशाख २०८१ शुक्रबार
अर्थ

मनाङको सडकः ट्रयाक खोल्ने ठाउँ पनि छैन (फोटो सहित)

दसैंसम्म गाडी पुर्‍याउने लक्ष्य

बाढीपहिरोले क्षति पुर्‍याएको मनाङको सडक । तस्बिर सौजन्यः जिल्ला प्रशासन कार्यालय मनाङ

लम्जुङको बेसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्म ६५ किलोमिटर सडक हो । यो सडक पूर्ण रुपमा अवरुद्ध भएको झन्डै अढाई महिना भईसकेको छ । तत्कालै सडक सुचारु हुने अवस्था पनि छैन । असार पहिलो साताको भीषण बाढीपहिरोले यो सडक खण्ड ठाउँठाउँमा क्षतविक्षत पारेको थियो । त्यसैमा असार पहिलो साताको बाढीले झनै बिनास निम्त्याएको थियो ।

सडक मात्र क्षतविक्षत नभई भएका पुल पुलेसा पनि बाढीसँगै बगेका छन् । मोटरेवल बेलिब्रिज सहित काठेपुल बगेको र मस्र्याङदी नदीको कटानले कतिपय खण्डमा त पैदल हिडडुल पनि सहज छैन । सडक पूर्ण रुपमा अवरुद्ध भएर सवारी चल्न नपाउँदा मनाङमा अहिले हेलिकप्टरको भरमा मात्र खाद्यान्न र दैनिक उपभोग्य बस्तु आपूर्ति भईरहेको छ । हेलिकप्टरको महंगो भाडा तिरेको भरमा अहिले उपभोग्य बस्तु ढुवानी गर्दा स्थानीयलाई सास्ती छ ।  

अवरुद्ध भएको सडक सुचारु गर्नका लागि सहज नभएको प्राविधिकहरुले बताएका छन । सडक सुचारु गर्न आवश्यक गह्रौ उपकरण पनि लैजान नसक्दा सडक खुलाउन निकै नै अप्ठेरो भएको उनीहरुको भनाई छ । पूर्वाधार विकास कार्यालय मनाङका इन्जिनियर प्रल्हाद दाहालका अनुसार कतिपय ठाउँमा सडक पुरै बगेको छ । बगेको सडक खण्डमा मस्र्याङदी नदी किनारबाटै पर्खाल उठाउनुपर्छ । खोत्रेपाखा, धारापानी खण्डमा सबैभन्दा बढी समस्या रहेको उनले बताए ।  

‘मस्र्याङदीले यतिसम्म कटान गरेको छ कतिपय ठाउँमा डाइभर्सन बनाउने ठाउँ पनि छैन,’ दाहालले भने, ‘तिब्रगतिमा काम गरेर भएपनि आउने दसैंसम्म सडक खुलाउने प्रयास भने भएको छ ।’ दाहालका अनुसार चामेभन्दा तल मात्र नभई माथिल्लो खण्डमा पनि उस्तै सकस छ । चामे–भ्राताङमा करिब ३५ मिटर सडकको ट्रयाक खोल्नुपर्ने अवस्था छ । त्यहाँ ब्लास्टिङ नगरि सडक खुलाउन सकिन्न । सदरमुकाम चामेसम्म सडक खुलाउन सकियो भने केही राहत हुने ठानिएको दाहालले बताए ।  

सडक डिभिजन कार्यालय दमौलीका इन्जिनियर अमित श्रेष्ठका अनुसार ६५ किलोमिटर मध्ये बेसीसहरदेखि सिरानतालसम्मको ३८ किलोमिटर सडकमा सवारी चलाउन सकिने भएको छ । त्यस्तै तिमाङदेखि चामेसम्मको १५ किलोमिटर सडक पनि खुलिसकेको छ । तर, बीचभाग (३८ देखि ५० किलोमिटर) मा पर्ने झन्डै १२ किलोमिटर सडक खुलाउन निकै नै सास्ती छ । सिरानतालदेखि तिमाङसम्मको १२ किलोमिटरमा बढी क्षति भएको र त्यो खण्ड खुलाउन निकै नै कठिन रहेको श्रेष्ठले बताए ।

‘१२ किलोमिटर सडकलाई आगामि असोज २० गतेसम्म ट्रयाक खुलाउने प्रयास हुनेछ । त्यसका लागि ठेकेदार कम्पनि छनोट भईसकेको छ,’ उनले भने, ‘दोहोरो गाडी चल्ने मात्र नभई ट्रयाक खुलाउने मात्र लक्ष्य हो । अहिले भन्दा थप क्षति बीचमा बेहोर्नु नपरेमा असोज २० सम्म ट्रयाक खुलाउन भरमग्दुर प्रयास हुनेछ ।’ कतिपय ठाउँमा त पैदल हिडुन पनि सकस हुने अवस्था रहेकोमा त्यो ठाउँमा गाडी गुड्ने ट्रयाक खुलाउन सक्नु निकै नै चूनौतीपूर्ण रहेको उनले बताए ।

डुम्रे–बेसीसहर–चामे सडक आयोजनाका इन्जिनियर सुरज महर्जनका अनुसार आगामि दिनमा थप भारी वर्षा भएर अप्ठेरो नपरेमा सबैभन्दा अप्ठेरो रहेको १२ किलोमिटर खण्डको ट्रयाक खोल्नमा ध्यान केन्द्रीत हुनेछ । ‘त्यो ठाउँसम्म गह्रौ उपकरण लैजान पनि सकस छ, दुवैतिरबाट काम गर्न पाउने हो भने केही सहज हुन्थ्यो,’ महर्जनले भने, ‘तर, अवस्था निकै नै असहज छ । कतिपय ठाउँमा त पैदल हिड्ने ट्रयाक नै छैन । त्यहाँसम्म उपकरण पुर्‍याउन सकिन्न । मानवीय बलको भरमा मात्र काम गर्ने हो ।’  

महर्जनका अनुसार खोत्रोपाखामा सबैभन्दा बढी कठिन छ । त्यहाँ १५० मिटर सडकको ट्रयाक नै बगेको छ । पहिले बाटो रहेको ठाउँमा अहिले चट्टान मात्र बाँकी रहेको र नजिकै बस्ती र पुल हुँदा ब्लाष्टिङ गर्न पनि मिल्दैन । सडक खुलेपछि त्यहाँ बस्ती बसेको थियो । ब्लास्टिङ गर्दा बस्ती र नजिकैको झोलुंगे पुल जोखिममा पर्छ । खोत्रोपाखामा खोलाको किनारदेखि १० देखि २० मिटर उचाईको १५० मिटर लामो पर्खाल बनाउनुपर्छ र बल्ल ट्रयाक खुल्छ ।  

त्यस्तै धारापानीमा पनि उस्तै समस्या छ । धारापानीमा १ सय मिटर सडक पुरै कटान छ । त्यहाँ पनि खोलाको किनारदेखि १५ मिटर उचाईको पर्खाल बनाउनुपर्छ । ‘गाडी नै नभएपछि मान्छेले ढुंगा बोकेको भरमा पर्खाल लगाउने हो । त्यही भएर काम गर्न सहज छैन,’ मजर्हनले भने, ‘त्यसबाहेक ठाउँठाउँमा काठेपुल पनि हाल्ने हो ।’ सबैभन्दा बढी क्षति पुगेको १२ किलोमिटर सडकमा ट्रयाक खुलाउनका लागि एकसाता समय दिएर टेण्डर आव्हान गरिएको छ ।  

दुई करोड रुपैयाँको उक्त ठेक्का रसुवाको उत्तरगया कन्स्ट्रक्सनले पाएको छ । तीनदिनभित्र सम्झौता गर्न आउनु भनेर सोमबार मात्र ठेकेदार चयन गरिएको महर्जनले बताए । ‘ठेकेदारको भरमा मात्र काम गर्दा छिटो नहुन सक्छ । सडक डिभिजन नै यसमा सक्रियताका साथ लाग्छ,’ उनले भने, ‘नत्र दसैं अगाडी ट्रयाक खुलाउन सकिन्न ।’ निकै नै अप्ठेरो हुनेगरि कटान गरेकोले पनि सडक सुचारु गर्नु चूनौतीपूर्ण रहेको उनले बताए ।  

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने पनि सडक खुलाउनु सहज नभएको बताउँछन । ‘अबको दुई महिना पनि समय छैन, त्यो अवधिमा सकेको पहल गरेर ट्रयाक खुलाउने हो,’ लामिछानेले भने, ‘सबैभन्दा बढी जोखिमपूर्ण ठाउँ नै खुलाउन बाँकी छ । अन्यत्र त करिब सडक खुलिसकेको छ ।’ चामेबाट दानाक्यूसम्मको करिब १० किलोमिटर  सडक पनि खुलिसकेको उनले बताए । ‘दसैंसम्म गाडी उकाल्न सकियो भने यो नै सबैभन्दा उत्तम हुनेछ,’ उनले भने ।  

प्रकाशित: २६ श्रावण २०७८ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App