४ वैशाख २०८१ मंगलबार
अर्थ

मदन भण्डारी राजमार्ग ९०% सम्पन्न

निर्माणाधीन धरान–चतरा–सिन्धुली–हेटौंडा (मदन भण्डारी) राजमार्गको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ। सरकारको मुख्य प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग (धरान–चतरा–सिन्धुली–हेटौंडा वैकल्पिक सडक) को निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा भएपछि सकिने अवस्थामा पुगेको हो। राजमार्गको पूर्वी र पश्चिमी दुवै खण्डको काम तीव्र गतिमा भइरहेको र हालसम्म ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको राजमार्गको पूर्वी र पश्चिम आयोजना कार्यालयले जनाएको छ।

‘हालसम्म झण्डै ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ,’ आयोजनाका पश्चिम खण्डका इन्जिनियर निरञ्जन थापाले भने, ‘अहिले बर्खायाम भएकाले काम गर्न समस्या भएको छ ।’ सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका हुँदै जाने पूर्व–पश्चिम राजमार्गको विकल्प मानिएको यसको दुवै खण्डमा करिब ८५ प्रतिशत सडक निर्माण भइसकेको आयोजनाले जनाएको छ। ‘सडकतर्फकोे काममा ९० प्रतिशतभन्दा बढी प्रगति भइसकेको छ,’ उनले भने। वाग्मतीमा एउटा पुल निर्माणाधीन रहेको र सिन्धुली सदरमुकाममा ६ किलोमिटर सडक हालसम्म निर्माण नभएकाले सिन्धुलीको ग्वाङ खोलामा एउटा पुल निर्माण गर्न बाँकी रहेको आयोजनाका पश्चिम खण्ड प्रमुख राजेन्द्रप्रसाद दासले बताए।  

उनका अनुसार सिन्धुली खण्डमा काम गर्ने सहमति भइसकेकोले अब चाँडै सुरु गरिने उनले जनाए। सिन्धुलीको सदरमुकाम कमलामाई नगरपालिका–४ खट्टारदेखि धुराबजारसम्मको ६ किलोमिटर सडक निर्माणमा स्थानीयले रुट परिवर्तनको माग गर्दै अवरोध गरेपछि लामो समयदेखि निर्माणको काम हुन सकेको छैन। अहिले सहमति भइसकेकोले काम सुरु हुने उनले बताए । पश्चिम खण्डमा सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेडौंडा महानगरपालिका–६ चौघडासम्मको ११५ किलोमिटरमध्ये सिन्धुली सदरमुकाममा ६ किलोटिरमा काम हुन सकेको छैन। पश्चिम खण्डमा पर्ने ४० पुल मध्ये ३२ वटा निर्माण भइसकेको र ६ वटाको हालै ठेक्का लागेको आयोजनाले जनाएको छ। २०७३ कात्तिकमा सम्झौता भएको उक्त राजमार्गको निर्माण गर्न पटक पटक समय थप भई २०७७ फागुनभित्र सम्पन्न गर्नुपर्नेमा कोरोनाका कारण निर्माणको अवधि पुन ६ महिना थप भएको थियो । तर सिन्धुली सदरमुकाममा क्षेत्रमा काम सुरु हुन बाँकी नै भएकाले थपिएको समयमा समेत काम नसकिने देखिएको छ।  

यस्तै, राजमार्गको पुर्वी खण्डमा ९० प्रतिशत सडक निर्माणको कार्य सम्पन्न भइसकेको आयोजनाको पूर्वी खण्ड कार्यालयका सूचना अधिकारी इन्जिनियर शंकर पौडेलले बताए। ‘पुलतर्फ यस खण्डमा तीन चरणमा ठेक्का सम्झौता भई काम भएको हो,’ उनले भने, ‘जसमध्ये पहिलो चरणमा ठेक्का लागेका ४४ वटा निर्माण सम्पन्न भइसकेका छन्।’  

पुर्वी खण्डमा उदयपुरको बसाहादेखि सिन्धुलीको भीमानसम्मको १३४ किलोमिटरको झण्डै ९० प्रतिशत काम भइसकेको छ। तीन वर्षमा सक्ने लक्ष्य राखेर निर्माण थालिएको उक्त राजमार्गको ठेक्का पश्चिम खण्डमा कालिका, स्वच्छन्द, रकेन जेभी काठमाडौंले र पुर्वी खण्डको जेट आइइसी शर्मा एन्ड लामा जेभीले पाएको छ । ११ मिटर चौडा उक्त सडक दुई पत्रमा पिच भइरहेको छ। पहिलो लेयरमा ११ मिटर चौडाइमै पिच हुने र त्यसमाथि ७ मिटर चौडाइमा दोस्रो लेयर पिच भइरहेको आयोजनाले जनाएका छन्।

प्रकाशित: २२ श्रावण २०७८ ०१:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App