१६ चैत्र २०८० शुक्रबार
अर्थ

नेपाल–भारत मुख्य नाका जोड्ने मितेरी पुलको जीर्णोद्धार हुँदै

वीरगन्ज रक्सोलबीचमा रहेको मितेरी पुलको जीर्णोद्धारका लागि बिहीबार स्थलगत अवलोकन गरिँदै। जीर्णोद्धार हुने भएको वीरगन्ज रक्सोलबीचमा रहेको मितेरी पुल। तस्बिरः रितेश नागरिक

नेपाललाई भारतसँग स्थलमार्ग भएर जोड्ने मुख्य नाका वीरगन्ज र रक्सौलबीचमा रहेको मितेरी पुलको जीर्णोद्धार चाँडै हुने भएको छ। पुलमुनी नेपाल-भारत सीमा भएर बग्ने सिर्सिया नदी छ, पुलमाथि दर्जन बढी खाल्डो। राम्रो भारवहन क्षमतासहित कालोपत्रे र आरसिसि ढलान भएपछि खाल्डोको ठाउँमा चिटिक्कको बाटो हुने भएको छ।  

नेपाललाई भारत र ब्यपापारिक रुपमा अन्य देशसँग जोड्ने मुख्य नाकामा रहेको मितेरी पुल मानिस र सवारी साधन आवतजावतका लागि पार गर्न चुनौतिपूर्ण बनेको अवस्थामा अहिले मर्मत हुन लागेको सीमा जागरण मञ्चका बिहार प्रदेश अध्यक्ष महेशकुमार अग्रवालले बताए।

‘चिन्ताजनक अवस्थामा पुगेको पुलको जीर्णोद्धार अति जरुरी रहेको,’ उनको टिप्पणी थियो। केही दिन अगाडि नेपालतर्फका सरोकारवालाहरु वीरगन्जका नगरप्रमुख विजय सरावगी र पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अग्रसरतामा नाकालाई ब्यवस्थित गर्ने सवालमा बैठक बसेकाे थियाे। सोही बैठकबाट सीमापारीका अधिकारीहरुसँग समन्वय गर्ने तय भए अनुसार पहल भएपछि मितेरी पुलको जीर्णोद्धार सम्भव भएको हो।  

बिहीबार वीरगन्जस्थित महावाणिज्य दूतावासका काउन्सुलर शैलेन्द्र कुमारको अग्रसरतामा भारतका अधिकारीहरुले मितेरी पुलको स्थलगत अवलोकन गरी एक हप्ताभित्र यसको मर्मत कार्य सक्ने बताएका छन्। भारत बिहारको पथ निर्माण बिभागका इन्जिनियर अशोक कुमार, रक्सौल नगरपालिकाका सिइओ विजय कुमार, सहायक इन्जिनियर मृत्युन्जय कुमार र रक्सोल भन्सारका अधिकारीहरुसहितको टोलीले पुलको निरीक्षणपछि एक हप्ताभित्र काम सम्पन्न गर्ने सहमति जनाए। 

पुलको मध्य भागबाट यता नेपालतर्फ भागमा ५० मिटर र पारीको आवश्यक भाग गरी ९६ मिटर खण्ड मर्मत तथा जीर्णोद्धारको काम गरिने सहायक इन्जिनियर मृत्युन्जय कुमारले बताए। ‘हामी शुक्रबारदेखि काम थाल्ने लक्ष्य लिएका छौं, करिब एक हप्ताभित्रै सकिने अनुमान छ,’ उनले नागरिकसँग  भने। पर्साका सहायक प्रम्ख जिल्ला अधिकारी भीमकान्त पौडेल, सशस्त्र प्रहरी भन्सार गुल्मका सशस्त्र प्रहरी निरीक्षक सुवर्णबहादुर बम, मिडिया फोर बोर्डर हार्मोनी नेपालका अध्यक्ष अनिल तिवारी, अभियन्ता प्रकाश खेतान र दिलिपराज कार्की लगायत बिहीबार यसका लागि पहल गर्न रक्सोल पुगेका थिए।

प्रकाशित: २१ श्रावण २०७८ १४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App