१५ चैत्र २०८० बिहीबार
अर्थ

महुरे–सिमपानी सडक कालोपत्रेको काम ठप्प, स्थानीयले खोसे ठेकेदारको चावी

भुक्तानी नपाएको भन्दै स्थानीय कामदार तथा व्यवसायीले खोटाङको महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको काम ठप्प बनाएका छन्। तीन वर्षबित्दा समेत काम गरे वापतको पारिश्रमिक नपाएको तथा निर्माण कम्पनीलाई दिइएको उधारो सामानको भुक्तानी नपाएको भन्दै बुईपा, विजयखर्क र राजापानीका स्थानीय कामदार तथा व्यवसायीले गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्ड अन्तरगत महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको काम ठप्प बनाएका हुन्।

काम गरेवापतको पारिश्रमिक तथा होटल, हार्डवेयर, खाद्य सामग्री वापतको भुक्तानी नपाएका स्थानीय कामदार र व्यवसायीले निर्माण कम्पनी भारत कन्ट्रक्सन/सिद्धि शाही जेभीको ट्रक, टिफर र ट्याक्टरको चाबी नियन्त्रणमा लिएर काम रोकेका हुन्। सडकको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तहिन भएको र कार्यरत कामदारले वर्षौँसम्म पनि पारिश्रमिक नपाएको बिरोधमा २०७६ साल पुस २० गतेदेखि महिना दिन र फागुन ८ गतेदेखि २ दिन सडकको काम ठप्प बनाएका स्थानीयले पुनः सोही मागमा महुरे–राजापानी (सिमपानी) (२२ किलोमिटर) सडक कालोपत्रेको काममा अवरोध गरेका हुन्। स्थानीय कामदार तथा व्यवसायीको अवरोधका कारण साउन २ गतेदेखि सडकको काम ठप्प बनेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ।

खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भने कामदार तथा व्यवसायीले निर्माण कम्पनीको सवारी साधनको चाबी नियन्त्रणमा राखेको विषयमा दुबैपक्षबाट जानकारी नआएको बताए। सडक कालोपत्रेको काममा स्थानीय व्यवसायी तथा कामदारले गरेको अवरोध फुकाउने विषयमा हालसम्म कसैको ध्यान पुगेको छैन। 

काम गरेवापतको कामदारको पारिश्रमिक तथा होटल, खाद्यान्न र हार्डवेयरको भुक्तानी नपाएसम्म काम अघि बढाउन नदिइने बुईपाका व्यवसायी मोहन श्रेष्ठले बताए। २०७६ सालमा गरिएको सम्झौता अनुसार निर्माण कम्पनीले भुक्तानी नदिएपछि सडकको काम रोक्नु परेको स्थानीयको भनाइ छ । ‘ठेकेदारले यसअघि गरेका सम्झौता अनुसार भुक्तानी दिएन। फोन गर्दा फोन उठाउँदैन। हामीलाई ढाँटेको ढाँट्यै गर्यो,’ श्रेष्ठले भने, ‘कामदारलाई रुवाउने काम भएको छ। कतिपय कामदारको श्रम खेर गएको छ। हामी अन्यायमा पर्यौं। सिडियो, डिएसपी र ठेकेदारलाई भनेरै हामीले सवै सवारी साधनको चाबी मागेर हामीसँगै राखेका छौँ।’  

कामदार तथा व्यवसायीले निर्माण कम्पनीबाट २८ लाख पाउन बाँकी रहेको बताएका छन्। महुरेमा रातदिन गिटी कुटेका दर्जनौं महिला कामदारले समेत पारिश्रमिक पाएका छैनन्। गिटी कुटेवापत प्रतिव्यक्ति कम्तीमा ३० हजार रुपैयाँ नपाएको महिला कामदारको गुनासो छ। निर्माण कम्पनी भारत कन्ट्रक्सन/सिद्धि शाही जेभीका सुपरभाइजर गणेशप्रसाद तिम्सिनाले भने गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले दुई वर्ष यता बिल भुक्तानी नदिएकाले कामदार तथा व्यवसायीको बक्यौता रकम भुक्तानी दिन नसकिएको बताए। झण्डै दुई वर्ष यता सडकको काम सन्तोषजनक देखिन्न । अवरुद्ध काम सुरु गर्ने र विचैमा रोक्ने क्रम चल्दा सडकको प्रगती नदेखिएको हो। सडक कालोपत्रेको काममा ढिलासुस्ती गरेकामा भारत कन्ट्रक्सन/सिद्धि शाहीबाट करिब साँढे ६ करोड बैंक ग्यारेन्टी तानिसकिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ।  

भारत कन्ट्रक्सन÷सिद्धि शाही जेभीले २०७७ साल असार २९ गते सम्पन्न गर्ने शर्तमा २०७३ साल असार ३० गते महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो। ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको छ। यस्तै, देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले कालोपत्रे गर्ने जिम्मा लिएको सिमपानी भञ्ज्याङ–फोक्सिङटार (२७ किलोमिटर) सडक खण्डको हालसम्म करिब ५९ प्रतिशत भौतिक प्रगती भएको छ। ५५ करोड ८७ लाखमा २०७७ साल साउन १० गतेभित्र कालोपत्रे पूरा गर्ने शर्तमा २०७३ साल साउन ११ गते सो खण्डको सम्झौता गरिएको थियो। कालोपत्रे गरेर चिल्ला हुनुपर्ने सडकमा हिलो र धुलोको कारणले यात्रा गर्नै सकस भइरहेको बुईपाका स्थानीय मिलन राईले बताए।  

गुणस्तरमाथि स्थानीयको प्रश्नै–प्रश्न  

महुरे–फोक्सिङटार सडक कालोपत्रेको गुणस्तरको विषयमा समेत आवाज उठ्ने गरेको छ । महुरे–सिमपानी (राजापानी) खण्डमा गुणस्तरहिन काम भएको भन्दै स्थानीयले २०७६ साल पुस २३ गते करिब ३० मिटर ड्रेन भत्काइदिएका थिए। सडकको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तहिन भएको र कार्यरत कामदारले वर्षौँसम्म पनि पारिश्रमिक नपाएको बिरोधमा स्थानीयले २०७६ साल पुस २० गतेदेखि महिना दिन र फागुन ८ गतेदेखि दुई दिन सडकको काम ठप्प बनाएका थिए।  

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको माटोखानी (साविकको राजापानी–२)मा सव–बेस ओछ्याउनका लागि पाखाबाट ल्याइएको गिटी तथा पाखाकै बालुवालाई ढलानको काममा प्रयोग गरिरहेको भन्दै स्थानीयले २०७७ साल भदौमा  आवाज उठाएका थिए। डे«न निर्माणका क्रममा पाखाबाट उठाएर ल्याइएको सव–बेस गिटीलाई प्रयोग गरिरहेको पाइएपछि राजापानीका वडाध्यक्ष सन्तोष खत्रीले गत भदौ १२ गते रोक लगाएका थिए। सडकको गुणस्तरका बारेमा जनताले पटक–पटक गुनासो गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताइन्।

प्रकाशित: १७ श्रावण २०७८ १४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App