coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

धान रोपाइँ ९० प्रतिशत पुग्यो

निरन्तर वर्षा भएकाले साउनको दोस्रो सातासम्म करिब ९० प्रतिशत धान रोपाइँ भएको छ । लक्ष्य अनुसार रोपाइँ भएकाले यो वर्ष करिब ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ।

मौसमले साथ दिएकाले धान रोपाइँ राम्रो भएको कृषि विभागका कृषि अर्थविज्ञ महादेवप्रसाद पौडेलले बताए। ‘साउनको अन्तिमसम्ममा नै रोपाइँ हुन्छ,’ पौडेलले भने, ‘करिब ९८ प्रतिशत धान रोपाइँ हुने अनुमान गरिएको छ ।’ गत बुधबारसम्म ८८.७५ प्रतिशत रोपाइँ भएको थियो। ‘यो साता ५/७ प्रतिशत वृद्धि भयो होला,’ पौडेलले भने, ‘अहिलेसम्म ९० प्रतिशतमाथि पुगेको अनुमान छ।’ यही दरमा रोपाइँ वृद्धि हुँदै जाँदा ९८ प्रतिशत हुने पौडेलले दाबी गरे।

सार्वजनिक भएको पछिल्लो तथ्यांक अनुसार प्रदेश नम्बर १ मा ८०.०२ प्रतिशत, प्रदेश २ मा ८८.१४, वाग्मतीमा ९०.३४, गण्डकीमा ८७.६४, लुम्बिनीमा ९२.२४, कर्णालीमा ९३.८२, सुदूरपश्चिममा ९६.७४ प्रतिशत रोपाइँ भएको छ । एक लाख २५ हजार १२ लाख ५७ हजार ६ सय सात हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। समयमै बर्खा सुरु भए पनि बेर्ना तयार नहुँदा सुरुआती चरणमा रोपाइँ कम भएको भए पनि पछिल्लो समय लक्ष्य अनुसार रोपाइँ भएको छ । धानको बीउ राख्ने बेला वर्षा कम भएकाले बीउ राख्न ढिला भएकाले रोपाइँ ढिला सुरु भएको थियो । 

यो वर्ष सरकारले ‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ धान दिवस मनाएको थियो । शतप्रतिशत रोपाइँ, समयमा वर्षा, मलको अभाव नभएकाले धान उत्पादन वृद्धि हुने अपेक्षा गरिएको गरिएको छ । करिब ९८ प्रतिशत धान रोपाइँ हुने भएकाले आगामी वर्ष ६० लाख मेट्रिक टन उत्पादन हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले बताए। ‘लक्ष्य अनुसार रोपाइँ भएको छ,’ कार्कीले भने, ‘धान रोप्न किसानले मागे जति रासायनिक मल समेत पाएकाले उत्पादन वृद्धि हुन्छ।’ आर्थिक वर्ष ०७७/७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो।  

धान उत्पादन वृद्धि गर्ने बताइरहँदा चामल आयात भने रोकिएको छैन। गत वर्ष करिब ५२ अर्ब रूपैयाँको चामल आयात भएको छ। चीन, भारत, फिलिपिन्स, जापान, थाइल्यान्ड, अमेरिका लगायत दुई दर्जनभन्दा बढी मुलुकबाट चामल आयात भएको हो।  

चामल लगायत कृषिजन्य वस्तुको आयात बढेकाले उत्पादन वृद्धि गर्नुपर्ने धानविज्ञहरूले बताउँदै आएका छन्। उत्पादन वृद्धि गर्न उन्नत जातको धानको बीउ, वैज्ञानिक ढंगले खेत रोपाइँ, प्रयाप्त सिँचाइ, मल, औजारको व्यवस्था गर्नुपर्ने विज्ञको सुझाव छ । सरकारले उत्पादन वृद्धि गर्न आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरणमा ध्यान दिनुपर्ने किसानको माग छ ।  

गुणस्तरीय बीउ प्रतिस्थापन दर न्यून, माटोमा प्रांगारिक पदार्थ न्यून भई उर्वराशक्ति कमजोर हुनु र सन्तुलित मलखादको अभावले उत्पादकत्व वृद्धि हुन सकेको छैन। अहिले पनि किसानले ४७ वर्ष पुरानो धानको बीउ प्रयोग गरेका छन्। उन्नत जातको धानको बीउ प्रयोगमा ल्याएर १५÷२० प्रतिशत उत्पादन वृद्धि हुन्छ। उत्पादन बढाउन सरकारले धान उत्पादन बढाउन केही वर्षदेखि मसिना तथा बासनादार धान उत्पादन प्रवद्र्धन कार्यक्रम, बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न जिल्लामा धानका पकेट, जोन, सुपरजोन बनाइएको छ।

चामल आयातको उच्च तथ्यांक रहे पनि करिब १० लाख मेट्रिक टन धान उत्पादन वृद्धि गर्न सके चामलको आवश्यकता परिपूर्ति हुने कृषि मन्त्रालयको दाबी छ । मिठो–मसिनो चामल विदेशबाट आयात भएकाले पनि यहाँ उत्पादन भएको धान अन्य प्रयोजनमा प्रयोग भएको सरकारी अधिकारीको तर्क छ। नेपालीलाई एक करोड १२ लाख मेट्रिक टन खाद्यान्न चाहिन्छ । मुलुकमा खेती गरिने कुल क्षेत्रफलको ४७ प्रतिशतमा धान खेती गरिन्छ।

प्रकाशित: १४ श्रावण २०७८ ०३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App