७ वैशाख २०८१ शुक्रबार
अर्थ

कनकासुन्दरीमा आलुबाली कृषक पाठशाला

आलु खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाउन जुम्लाको कनकासुन्दरी गाउँपालिका ७ मा आलुबाली कृषक पाठशाला सञ्चालन गरिएको छ। पाठशालामा आलुको अनुसन्धान, रोगकिराको व्यवस्थापन र कम्पोष्ट मल बनाउने तरिकाले खेतबारीमै सिकाउने गरिएको छ। किसानले आलु खेती गरेपछि अपेक्षाअनुसारको उत्पादन गर्न नसकेकोले पाठशाला सञ्चालन गरिएको हो।  

आलु खेतीबारे पाठशाला सुरु भएपछि जुम्ला कनकासुन्दरी ७ की जुना कार्की आलु खेतीमा निकै हौसिएकी छिन्। उनी आलु खेती नै समृद्धिको आधार ठान्छिन्। आलु उत्पादन गरेर बजारसम्म लैजाने र बजारबाट रकम लिएर पारिवारिक खर्च जुटाउने गरि व्यवसायीक आलु खेती गर्न लागेकी हुन्। बिहानै खेतबारीमा जाने आलु गोडमेल गर्ने गरेकी उनी आलुमै समृद्धिको सपना भएको बताउँछिन्।  

उनले भनिन्,‘आलु पहिलेदेखिको उत्पादन भएकोले खासै समस्या छैन। रोगकिराबाट जोगाउनु र उत्पादित आलु बजारसम्म लैजानु मुख्य चुनौति हो।’ सोही गाउँकी मुना कार्की आलु खेती आम्दानीको राम्रो स्रोत भएको बताउँछिन्। उनी आधुनिक खेती प्रणाली अपनाएर आलु लगाएको खण्डमा मनग्गे आमदानी गर्न सकिने अनुभव उनको छ। उनले भनिन्,‘आलुको बजारमा माग धेरै छ। उत्पादन गर्न सकिएको छैन। उत्पादित आलु खेर गइरहेको छैन। यसैमा खुसी छौँ।’

जुना र मुना एक उदाहरण मात्र हुन्। उनका गाउँमा ६ जना पुरुष र १४ जना महिला मिलेर महादेव समूह गठन गरेका छन्। समूह मार्फत सामूहिक आलु खेती गरेर जिल्लामै उदाहरणीय कार्य गरेका हुन्। जर्मनी र कारीतास नेपालको आर्थिक सहयोगमा पेस नेपालको साँझेदारीमा गाउँमै आलुबाली कृषक पाठशाला सञ्चालन भएपछि स्थानीय आलु खेतीमा आकर्षित भएका हुन्।

एकीकृत खाद्य सुरक्षा विपद जोखिम न्यूनीकरण जलवायु अनुकुलन परियोजनाले कृषक पाठशाला चलाएर किसानलाई आलु खेतीको महत्व र आवश्यकताका विषयमा कक्षा सञ्चालन गरेको थियो। कक्षामा आलु खेतीको अनुसन्धान, रोगकिराको व्यवस्थापन र कम्पोष्ट मल बनाउन सिकाइएको थियो।

पाठशालामा परम्परागत र आधुनिक तरिकाले आलु खेती गरिएको थियो। जुन विधिबाट बढी आलु उत्पादन हुन्छ। किसानलाई त्यही विधिबाट आलु खेती गर्न सिकाउने नेपालका हेमराज भट्टले जानकारी दिए। किसानले खेतबारीमा आफै गएर डेमा मार्फत आलु खेतीको बारेमा प्रशिक्षण गरिएको थियो। गत चैतमा सुरु भएको पाठशाला साउन महिनाको पहिलो साता सकिएको थियो।  

५ सय वर्गमिटर जग्गामा आलु खेती गरेर अनुसन्धान गरिएको थियो। २ सय ५० वर्गमिटर जमिनमा परम्परागत विधिबाट ५० केजी आलु रोपिएको थियो। २५० वर्गमिटरमा आधुनिक विधिबाट आलु खेती गरिएको थियो। ५० केजी आलु रोपिएको थियो। उनले भने,‘परम्परागत विधिबाट गरिएको खेतीमा ३ क्वीन्टल आलु फल्यो। आधुनिक विधिबाट गरिएको खेतीमा ६ क्वीन्टल आलु फल्यो।’ किसानलाई आधुनिक विधिबाट आलु खेती गर्न उत्साहित गरिएको उनले बताए।  

स्थानीय जुना कार्कीले आधुनिक विधिबाट आलु खेती गर्न थालेको बताउँछिन्। उनले भनिन्,‘कृर्षक पाठशालाबाट आलुको गुणस्तरीय उत्पादनमा जोड दियौँ। गाउँमा आलु खेतीको लागि आह्वान गरेका छौँ। यो क्षेत्रलाई आलु पकेट क्षेत्र बनाएर जिल्ला बाहिर आलु निर्यात गर्न सकिने अवस्था सिर्जना गर्न लागि परेका छौँ। यो क्षेत्रलाई आलु आत्मनिर्भर क्षेत्रका रुपमा विकसित गर्न चाहन्छौँ।’

प्रकाशित: १२ श्रावण २०७८ ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App