६ वैशाख २०८१ बिहीबार
अर्थ

पोखरा–ढाका सिधा उडानबारे छलफल

पोखरालाई विदेशी सहरसँग हवाई सेवामार्फत जोड्ने प्रयास गरिएको छ। पर्यटन व्यवसायीले पोखराबाट भारतीय सहरमा मात्र नभई बंगलादेशको ढाकामा पनि सिधा उडान सुरु गर्न छलफल थालेका हुन्।  

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकी, विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच यस विषयमा छलफल भएको छ। अहिले पोखराबाट नेपालका विभिन्न सहरमा सिधा हवाई उडान छ। पोखरालाई स्वदेशी मात्रै नभई विदेशी सहरसँग समेत जोड्नुपर्ने खाँचो पर्यटन व्यवसायीले औंल्याउँदै आएका छन्।  

‘पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ। त्यसैले पनि अब पोखराबाट सिधै ढाका लगायत अन्य विदेशी सहरमा हवाई सेवा सुरु गर्नुपर्छ,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले भने, ‘बंगलादेशका १० प्रतिशतमात्र पर्यटक नेपाल ल्याउन सके यहाँको पर्यटन प्रवद्र्धन हुन्छ।’  

पर्यटन व्यवसायीले पोखरामा पर्यटन प्रवद्र्धन गर्न बर्सेनि अन्तर्राष्ट्रिय बजारमा पुगेर अभियान सञ्चालन गर्दै आएका छन्। भारतीय सहरमा ‘चलो पोखरा’ अभियान सञ्चालन भएको छ। अन्य एसियाली सहरमा बिटुबी कार्यक्रम गर्दै आएका छन्।  

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएलगत्तै बंगलादेशको राजधानी ढाका र पोखराबीच सिधा हवाई सेवा प्रभावकारी हुने विमान बंगलादेशका कन्ट्री म्यानेजर असिसुर रहमानले बताए। उनका अनुसार पोखराको मनोरम सुन्दरतामा बंगलादेशीहरू आकर्षित हुने गरेका छन्। हाल ढाका–काठमाडौं दैनिक एक उडान मात्रै छ। ढाकाको लागि उडान थप्नुपर्ने सुझाव समेत पर्यटन व्यवसायीले दिएका छन्।  

विमान सञ्चालन गर्न नेपाल सरकारसँग आवश्यक पहल गरिदिने नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतिबद्धता जनाए। पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले वर्षमा झण्डै ५० हजार हाराहारीमा बंगलादेशीहरू नेपाल आउने गरेकोमा २० हजार जति पोखरा घुम्ने बताए। पछिल्लो समय बंगलादेशीको आकर्षण पोखरामा बढ्दै गएको व्यवसायीको भनाइ छ।

कोरोनाले थलिएको पर्यटन क्षेत्रमा छिटोभन्दा छिटो खोप उपलब्ध गराएर चलायनमान बनाउनुपर्नेमा जोड पर्यटन व्यवसायीको छ। पर्यटन व्यवसायीले पनि पर्यटन प्रवद्र्धनसँगै पर्यटक गतिविधिको लागि खोप अनिवार्य भएको जिकिर गरेका छन्। ‘नो भ्याक्सिन नो टुरिज्म’ पर्यटन व्यवसायीको नारा नै छ।  

कार्यक्रममा परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठ, नाट्टाका उपाध्यक्ष हरिराज अधिकारी, नाट्टाका सचिव संगीता पौडेल, टानका अध्यक्ष सुशीलराज पौडेल लगायतले बोलेका थिए। छलफलमा बंगलादेशका पाँच प्रतिनिधिको सहभागिता थियो। पोखरामा निर्माणाधीन विमानस्थल यसै वर्ष सकिने लक्ष्य रहेकोमा कोरोना प्रभावले एक वर्ष पछि धकेलिएको छ।

प्रकाशित: १० श्रावण २०७८ ०२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App