७ वैशाख २०८१ शुक्रबार
अर्थ

७ हजार बढी मुद्दाबाट ४० करोड राजस्व

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले आर्थिक वर्ष ०७७/७८ मा आपराधिक गतिविधिमा संलग्नमाथि कारबाही चलाउँदा ४० करोडभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ। प्रदेश अन्तर्गत १४ वटै जिल्ला प्रहरी कार्यालयमार्फत वर्षभर ७ हजार ३ सय ८४ मुद्दा दर्ता र फस्र्योटबाट ४० करोड ७८ लाख ४२ हजार ३ सय १७ रूपैयाँ राजस्व संकलन भएको हो।

आपराधिक घटना, अदालती फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, अवैध नदीजन्य पदार्थ दोहन, काठ चोरी निकासी तथा ट्राफिक व्यवस्थापनमा प्रभावकारी प्रहरी परिचालनबाट सो सफलता हासिल भएको प्रदेश प्रहरी प्रवक्ता एसपी नविनराज राईले बताए। उनका अनुसार ०७७ साउनदेखि ०७८ असारसम्ममा ७ हजार ३ सय ८४ वटा बिभिन्न अपराधसम्बन्धी मुद्दामाथि कारवाही भएको छ।  

विभिन्न आपराधिक क्रियाकलाप आरोपमा अदालतबाट कैद सजाय र जरिवानाको फैसला सुनाइए पनि फरार रहेकालाई पक्राउ र कारबाही गर्न पनि प्रहरीलाई उल्लेख्य सफलता मिलेको उनको दाबी छ। प्रहरीले वर्षभरमा फरार ७ सय ४३ जना फरार अपराधीलाई पक्राउ गरी फैसला कार्यान्वयन गर्दा ७ सय ३५ वर्ष कैद भुक्तान भएको छ भने ४ करोड ४३ लाख ५८ हजार ९ सय २७ रूपैयाँ राजस्व संकलन भएको प्रवक्ता राईले बताए।  

लागुऔषध नियन्त्रणतर्फ पनि प्रहरीले सफलता पाएको दाबी गरेको छ। वर्षभर लागूऔषध नियन्त्रण अभियान अन्तर्गत ३ हजार ५ सय १६ ग्राम ब्राउन सुगर (खैरो हिरोइन) १ हजार ७ सय ८९.११ किलो गाँजा बरामद भएको छ। त्यसैगरी, विभिन्न मनोद्विपक (मानसिक सन्तुलन खल्बल्याउने लागूपदार्थ) क्याप्सुल ५० हजार २ सय ५५ ट्याब्लेट, मनोद्विपक सुई (इन्जेक्सन) १० हजार ३ सय ५८ एम्पुल र अन्य मनोद्विपक औषधि २ हजार ४ सय ८३ ट्याब्लेट बरामद भएको छ। प्रहरीले वर्षभर २ हजार ४ सय २३ रोपनी क्षेत्रफल जग्गामा लगाइएको ८ लाख ७६ हजार ८ सय ६३ बोट अवैध गाँजा खेती फँडानी गरी नष्ट गरेको एसपी राईले बताए।  

प्रकाशित: १० श्रावण २०७८ ०२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App