coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

इन्धन खरिद अनलाइनबाट

पेट्रोल पम्प सञ्चालकले घर मै बसेर डिजेल, पेट्रोल खरिद गर्न सुरु गरेका छन्। नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडान गरेपछि व्यवसायीले अनलाइनबाट तेल अर्डर गर्न थालेका हुन्। म्यानुअल सिस्टममा काम गर्दै आएको निगमले पूर्ण डिजिटलाइजेसमा जान इआरपी जडान गरेपछि व्यवसायीले विद्युतीय माध्यमबाट इन्धन खरिद गर्न सुरु गरेका छन्।  

निगमले साउन पहिलो साताबाट इआरपी सिस्टममार्फत इन्धन बिक्री सुरु गरेको छ। अनलाइनबाट अर्डर र भुक्तानी आएपछि लोड दिन सुरु गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए। ‘व्यवसायीहरू तेल अर्डर गर्न र भुक्तानी दिन निगमको डिपो आइरहनु पर्दैन,’ उपाध्यायले भने, ‘बैंकमा पैसा जम्मा गरेको इआरपी सिस्टममा देखिएपछि त्यसलाई अर्डर मानेर डिजेल, पेट्रोलको लोड दिएका छौं।’  

पेट्रोल पम्प सञ्चालकले आइपिस प्रयोग गरेर निगमको खातामा पैसा जम्मा गर्ने र त्यसका आधारमा लोड दिन सजिलो भएको उपाध्यायले बताए। अहिले निगमले इआरपी प्रणालीबाट नै बिलिङ सुरु गरेको छ। निगमले थानकोट, अमलेखगन्ज विराटनगर, भैरहवा, नेपालगन्ज, सुर्खेत, धनगढी लगायत डिपोबाट अनलाइनमार्फत आएको अर्डरका आधारमा तेल लोड दिइरहेको छ। अनलाइनबाटै तेल खरिद–बिक्री हुने भएकाले व्यवसायी र निगम दुवैलाई सजिलो भएको निगमको प्रादेशिक कार्यालय प्रदेश नम्बर २ अमलेखगन्जका प्रमुख प्रदीप यादवले बताए। ‘व्यवसायी तेल अर्डर गर्न अब डिपो धाइरहनुनै पर्दैन,’ यादवले भने, ‘इआरपीले छिटो छरितो बनाएको छ।

यसले इन्धन कारोबारमा पारदर्शिता बढाउने विश्वास गरिएको छ। इआरपी सिस्टममा निगमका लेखा, प्रशासन, वितरण, इन्जिनियरिङसहित सातै प्रदेशका डिपो, शाखा कार्यालय, हवाई इन्धन डिपोहरू एकीकृत सूचना प्रणालीमा क्रमशः जोड्न सुरु गरेको निगमले जनाएको छ। इन्धन कारोबारमा हुने चुहावट नियन्त्रण गर्न, वित्तीय सुशासन कायम गर्न, छिटोछरितो प्रभावकारी सेवा प्रदान गर्दै र पेपरलेस अभ्यास गर्न इआरपी जडान गरेर कार्यान्वयनमा ल्याएको निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले बताए। निगमका सबै काम डिजिटलाइज गर्ने इआरपी जडान गरेको पौडेलले बताए। इआरपीमा पहिलो चरणमा पेट्रोलियम पदार्थ बिक्री, आपूर्ति, भुक्तानी, गुणस्तर नियन्त्रण रहेको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी)देखि निगम हुँदै पम्पसम्म डिजिटलाइज गर्ने निगमले जनाएको छ।

सुरुआती चरणमा केही समस्या देखिए पनि सुधार गर्दै लैजाने प्रवक्ता उपाध्यायले बताए। ‘नयाँ प्रविधि भएकाले केही सामान्य समस्या देखिएका छन्,’ उनले भने, ‘सुधार गर्दै अघि बढेका छौं।’ पेट्रोलियम व्यवसायीले पनि नयाँ सिस्टम भएकाले निगमले सहायता कक्षको व्यवस्था गरेर सिकाउँदै लैजानुपर्ने जनाएका छन्। प्रयोग गर्ने र गराउने दुवै निकायका लागि नयाँ भएकाले प्रविधिबारे सिकाउनुपर्ने पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए । ‘सुधार गर्नुपर्ने पक्षबारे निगमलाई जानकारी गराएका छौं,’ प्रधानले भने, ‘नयाँ प्रविधि भएकाले बानी पर्न समय लाग्छ।’

निगमले जडान गरेको इआरपी जर्मन प्रविधि हो। आइओसी सहित विश्वका अधिकांश तेल उत्पादक तथा बिक्रेता कम्पनीले प्रयोगमा ल्याएको प्रविधि भएकाले गुणस्तरीय र विश्वसनीय भएको निगमले जनाएको छ। समयसापेक्ष छिटोछरितो सेवा दिएर चुहावट नियन्त्रण गर्न यो प्रविधिले सघाउने विश्वास गरिएको छ। आयल निगमले वार्षिक अर्बौं रूपैयाँको कारोबार गर्दै आए पनि परम्परागत रूपमा चल्दै आएको थियो। संस्थालाई व्यावसायिक योजना अनुसार चलाउने प्रयासस्वरूप नविनतम इआरपी प्रविधि प्रयोगमा ल्याएको निगमको दाबी छ।

प्रविधि प्रयोगमा ल्याएपछि निगमको खर्च घट्ने, चुहावट रोकिने र नाफा बढ्ने अपेक्षा गरिएको छ। इआरपी सिस्टमबाट कुनै पम्पका लागि इन्धन लोड भयो भने त्यो इन्धन बोकेको ट्यांकर पम्पमा नपुग्दै कुन गाडी, कति लिटर इन्धन लिएर आउँदैछ भन्ने जानकारी सम्बन्धित पम्प सञ्चालकले पाउँछन्। यो सिस्टममा गुणस्तर नियन्त्रण पनि राखिएको छ। कुनै ट्यांकरको पेट्रोलियम पदार्थमा खराबी आयो भने सिस्टमबाट त्यसको रिपोर्ट सम्बन्धित विभागमा पुग्ने व्यवस्था गरिएको छ। दोस्रो चरणमा आइओसीको सिस्टमसम्म पनि यो प्रणाली जडान गर्ने निगमको योजना छ। आइओसीसँग एकीकृत गरेपछि आइओसीको रिफाइनरीमा लोड भएको ट्यांकरको विवरण पनि रियल टाइम निगमले थाहा पाउनेछ।इआरपी जडान गरेपछि निगमको केन्द्रीय कार्यालय काठमाडौंमा भएका सबै विभाग तथा मुलुकका जुनसुकै डिपोमा भएको काम उही समय (रियल टाइम) देख्न सकिन्छ। निगमले आइओसीबाट लोड गरेर इन्धन लिएर आउने ट्यांकरलाई समेत यो प्रविधिसँग इन्टरलिंक गरिएको छ।

आइओसीका डिपोमा पुगेर कुन ट्यांकरले कति बजे तेल लोड गर्‍यो, ट्यांकर कहाँ छ भन्नेसम्मको सूचना निगमको केन्द्रीय सर्भरमा आउने व्यवस्था मिलाउने तयारी छ। चालकले बीच बाटोमा तेल चोरी गर्ने आरोप छ। तेल चुहावट नियन्त्रण रोक्न निगमले अहिले सेक्युरिटी लकिङ सिस्टम जडान गरेको छ। यसले चुहावटमा केही कमी आएको छ। निगमले ट्यांकरको निगरानी गर्न डिजिटल भेइकल ट्र्याकिङ सिस्टमलाई यही इआरपी सिस्टममा जोड्ने जनाएको छ। निगमका हवाई इन्धन डिपोमा पनि यो प्रविधि प्रयोगमा ल्याउने निगमले जनाएको छ। निगमका कर्मचारी सूचना, तथ्यांक खोज्न एक विभागबाट अर्को विभाग भौंतारिनुपर्ने बाध्यताको अन्त्य हुने बताइएको छ।  

प्रकाशित: ८ श्रावण २०७८ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App