coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटक पर्खाइमा फेवाका डुंगा चालक

नेपालकै प्रसिद्ध पर्यटकीय क्षेत्र फेवातालमा डुंगा सेवा सञ्चालनमा ल्याइएको छ। वैशाख दोस्रो साताबाट सुरु भएको निषेधाज्ञासँगै बन्द रहेको डुंगा सेवा शनिबारदेखि सञ्चालनमा आएको हो। डुंगा चढ्दा पर्यटकलाई मास्क अनिवार्य गरिएको छ भने एकपटकमा ४ जनामात्र चढाउने गरिएको छ। एकैघरका वा समूहमा आएका भने एकपटकमा ६÷७ जनासम्म डुंगाामा सयर गर्न पाउने व्यवस्था गरिएको डुंगा व्यवसायी समितिले जनाएको छ।

फेवातालमा डुंगा सञ्चालनमा आए पनि पर्यटक नआउँदा चालकहरू फुर्सदिला देखिएका छन्। निषेधाज्ञा पूर्ण रूपमा नखुल्दा पर्यटक आउन नसकेको डुंगा चालकहरूको भनाइ छ।  

फेवातालमा सञ्चालन हुने डुंगा ७६४ वटा छन्। जसमध्ये वाराहीघाटमा मात्र ३ सय डुंगा रहेको डुंगा व्यवसायी संघ पोखराका उपाध्यक्ष मंगलबहादुर नेपालीले बताए। उनका अनुसार अहिले वाराही घाटबाट दैनिक ८/१० वटामात्र डुंगा चल्ने गर्छन्। ‘कोरोनाअघि दैनिक कसैको १ पटक त कसैको २/३ पटक पालो आउँथ्यो। तर अहिले पालो आउन १५ दिन नै कुर्नुपर्ला जस्तो छ’, उनले भने। दैनिक ८/१० वटामात्र डुंगा चल्दा ३ सय वटा डुंगा भएको वाराहीघाटमा पालो पाउन कम्तीमा २०/२२ दिनभन्दा बढी कुर्नुपर्ने स्थिति देखापरेको उनको भनाइ छ।

फेवातालमा अन्य ठाउँमा भन्दा मानिसको चहलपहल बाक्लिएको छ। तर त्यहाँ पुग्ने प्रायः सबै पर्यटक होइनन्। विश्वव्यापी महामारीका कारण लगाइएको निषेधाज्ञाका कारण पर्यटक आउन छाडेको उपाध्यक्ष नेपालीले बताए। ‘फेवाताल किनारमा चहलपहल देख्दा पर्यटक धेरै नै आए कि भन्ने लाग्न सक्छ। तर यहाँ आउने अधिकांश पोखरेली नै हुन्’, उनले भने। उनका अनुसार आएकामध्ये अधिकांश फेवातालको किनारैकिनार बनाइएको फुटट्र्याकमा पैदल हिँडेर फर्किन्छन्। एकदमै न्यून मान्छेले मात्र डुंगा चढ्ने गरेकाले व्यवसाय चल्न नसकेको उनको भनाइ छ।

डुंगा सेवा खुले पनि फेवातालको मध्य भागमा रहेको वाराही मन्दिर खुलेको छैन। मन्दिर नखुल्दा पनि डुंगा खाली भएका छन्। मन्दिरमात्र खुल्ने हो भने पनि डुंगा चढ्ने बढ्ने उपाध्यक्ष नेपालीले बताए।

लामो समयपछि डुंगा चलाउन पाएकोमा चालक मख्ख छन्। सोचेजसरी पर्यटक नआउँदा भने उनीहरू खिन्न छन्। पोखरा सराङकोट घर भएका चालक लक्ष्मण परियारले डुंगा सेवा खुल्दा खुसी भएको बताए। ‘डुंगा चलाउन बन्द हुँदा हाम्रो रोजीरोटी पनि बन्द थियो, खुलेपछि अलिकति भए पनि सहज भएको छ तर कमाइ भने खासै छैन’, उनले भने। सेवा खुलेको सन्देश दिएपछि पर्यटक आउने आशामा डुंगा सञ्चालन गरिरहेको उनको भनाइ छ।

अर्का चालक दीपेश पुरीले पनि फाइदा नभएको तर डुंगा चलाइरहेको बताए। ‘पहिले दिनमा हजार/बाह्र सय कमाइ हुन्थ्यो, अहिले १/२ सय पनि हुँदैन। तैपनि कमाइको सुरुवात भएकोमा हामी खुसी छौं’, उनले भने। उनले बिस्तारै पर्यटक बढ्ने र कमाइ पनि बढ्ने आशा व्यक्त गरे।

डुंगा व्यवसायी अब बिस्तारै रेस्टुरेन्टदेखि होटल हुँदै ट्रेकिङसम्म खुलाउनुपर्ने बताउँछन्। त्यसो भएमात्र पोखरा आउने पर्यटक बढ्ने र डुंगा चढ्ने पनि वृद्धि हुने उनीहरूको भनाइ छ। त्यसका लागि सरकारसँगै पर्यटनसँग सम्बद्ध संघसंस्थाले पहल गर्नुपर्ने उनीहरूको माग छ।

प्रकाशित: ७ श्रावण २०७८ ०१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App