७ वैशाख २०८१ शुक्रबार
अर्थ

कलमीपछि मेलका बोटमा फले नास्पाती !

बारीका डिलमा उम्रिएका मेलका बोट काटेर दाउरा बाल्ने डोटी सानागाउँका किसान अहिले त्यसलाई सम्पत्ति मान्न थालेका छन्।  

दस वर्षअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले मेलका बोटलाई कलमी गरेर नास्पाती बनाएका थिए। ती मेलका बोटमा गत वर्षदेखि नास्पाती फल्न थालेका छन्। स्थानीय कृषक सिद्धराज जोशी भन्छन्,‘दस वर्षअघि मेलको बोटमा नास्पाती कलमी गरिएको थियो, यसपालि लटरम्मै फलेको छ।’  

मेलका बोटमा फलेको नास्पाती गाउँमै ४० रूपैयाँ केजीसम्ममा बिक्री हुन थालेको स्थानीय मंगली खड्काले बताइन्। ‘बारीका डिलमा आफैं उम्रिएका मेललाई कलमी गरेपछि अहिले नास्पाती लटरम्म फलेका छन्,’ उनले भनिन्।

पहिले नास्पाती तराईबाट किनेर खाने गरेको स्मरण गर्दै उनले भनिन्, ‘अहिले आफ्नै बारीमा जति पनि छ।’ मेलका बोटमा नास्पाती फलेपछि बेचेर घरखर्च चल्न थालेको उनले बताइन्। मेलको बोटलाई कलमी गरेर नास्पाती फल्न थालेपछि कृषक हौसिएका छन्। ‘आफ्नो बारीमा कति मेलका बोट थिए भन्ने हेक्का समेत नराखेका सानागाउँका कृषकले नास्पाती फल्न थालेपछि गन्न थालेको पूर्वीचौकी गाउँपालिकाका कृषि सेवा केन्द्र प्रमुख उदयराम साउँदले बताए।  

मेलका बोटलाई दस वर्षअघि नास्पाती कलमी गरेको जानकारी दिँदै कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले भने, ‘मेलका बोटमा नास्पाती फल्न थालेपछि कृषकको आय वृद्धि हुने विश्वास गरिएको छ।’ आफूले दस वर्षअघि मेलका बोटलाई कलमी गरे नास्पाती फल्छ भन्दा नपत्याएका किसान अहिले चकित परेको उनले बताए। ‘म त्यतिबेला तत्कालीन जिल्ला कृषि विकास कार्यालयको प्रमुख रहँदा मेलका बोटमा नास्पाती कलमी गरेको थिएँ,’ निर्देशक जोशीले दस वर्षअघिको कुरा सम्झँदै भने, ‘त्यसबेला मेलमा नास्पाती कलमी गर्दा फल्छ भन्दा किसानले पत्याएका थिएनन्, फलेपछि दंग छन्।’  

आफैं उम्रिएका मेलका बोटलाई कलमी बनाउँदा यसबाट फल्ने फल शुद्ध अर्गानिक भएकाले विश्व बजारमै राम्रो बजार पाउन सक्ने उनले बताए। उनले भने, ‘तर यसको गुणस्तर र प्रमाणीकरण गर्न सके विश्व बजारमा अर्गानिक नास्पाती भनेर ब्रान्डिङ गर्न सकिन्छ।’ दस वर्षअघि डोटीको सानागाउँ र खातीवाडाका बारीमा उम्रिएका मेलमा नास्पाती कलमी गरिएको थियो भने डोटीकै बुडरस्थित डिलासैनी सामुदायिक वन उपभोक्ता समूहमा रहेको २ हेक्टर जमिनमा आफैं उम्रिएको मेलको जंगलमा पनि नास्पाती कलमी गरिएको थियो। अहिले त्यो जंगलमा नास्पाती लटरम्म फलेको छ।

प्रकाशित: ६ श्रावण २०७८ ०२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App