४ वैशाख २०८१ मंगलबार
अर्थ

कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकियो

पाँचथरको मिक्लाजुङ गाँउपालिकाले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकेको छ। कृषि उत्पादनको लागत समेत नउठ्ने स्थिति हटाउन गाँउपालिकाले न्यूनतम समर्थन मूल्य तोकेको हो।  

गाउँपालिका प्रमुख अमर माखिमका अनुसार न्यूनतम मूल्यभन्दा कम बजार भाउ भए गाउँपालिकाले बेहोरिदिने गरी निर्णय गरिएको छ। उत्पादन लागतलाई मध्यनजर गरी न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको हो। 

उनका अनुसार आलु, प्याज र लसुनमा न्यनतम मूल्य निर्धारण गरिएको छ । साथै यी उत्पादनको बिउ किन्न कुल लागतको ५० प्रतिशत मूल्य गाउँपालिकाले सापटी दिने निर्णय भएको मखिमले जानकारी दिए।  

न्यूनतम मूल्य निर्धारणसँगै जैविक खेतीलाई समेत प्रोत्साहन गर्न खोजिएको माखिमले जानकारी दिए। ‘कम्पोस्ट तथा कोठेमल र झारपात कुहाएर बनाएको विषादी प्रयोग गरी उत्पादित वस्तुको न्यूनतम समर्थन मूल्य निर्धारण गरेका छौं। यसको अनुगमन सम्बन्धित शाखाबाट हुन्छ,’ माखिले भने ‘यस्तो खेती गर्न चाहने किसानलाई बिउ किन्न कुल लागतको आधा गाउँपालिकाले सापटी दिनेछ । किसानले उत्पादन बिक्री गरेपछि फिर्ता दिनु पर्नेछ।’

ग्रेडिङ गरिएको आलु ठूलो साइजको हिउँदे प्रतिकेजी ४० र बर्खे प्रतिकेजी ४५ रूपैयाँ मूल्य निर्धारण गरिएको छ। गे्रडिङ गरिएको आलु सानो साइजकको बर्खे प्रतिकजी ४० र हिउँदे प्रतिकेजी ३५ निर्धारण गरिएको छ। यस्तै, उन्नत जातको प्याज प्रतिकेजी ५० र स्थानीय जातको प्याज प्रतिकेजी ४५, सुकेको स्थानीय जातको लसुन १ सय १० रूपैयाँ र सुकेको लसुन चाइनिज ९० रूपैयाँ मूल्य निर्धारण गरिएको छ।

बिउ खरिदका लागि ५० प्रतिशत ऋण दिन सार्वजनिक सूचना जारी गरीएको प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिए। उनका अनुसार न्यूनतम समर्थन मूल्य लिन प्रांगागिर खेती गर्न किसानलाई आह्वान गरिने छ। उनका अनुसार किसानलाई सहयोग गर्ने तथा प्रात्साहन गर्ने नीति गाउँपालिकाले लिएको छ।  

यो गाउँपालिका यसअघि धेरै उत्पादन गर्ने किसानलाई लाख रूपैयाँ पुरस्कार दिएको थियो। यो कार्यक्रमलाई पनि निरन्तरता दिइएको प्रमुख माखिमले जानकारी दिए। कोभिड–१९ का कारण गरिएको लकडाउनको समयमा बाहिरबाट खाद्यान्न ल्याउन समस्या भएपछि कृषि उत्पादन वृद्धिका लागि गाउँपालिकाले यो जुक्ति निकालेको थियो। ४० मुरीभन्दा बढी धान फलाउने र २० फिट लम्बाइ र ४ फिट चौडाइको मकैको थाङ्ग्रो राख्नेलाई लाख रूपैयाँको दरले पुरस्कृत गरिएको थियो।  

किसानको खातामा एक करोड २५ लाख रूपैयाँ पुरस्कारको रूपमा जम्मा भएको थियो। धान खेती गर्ने ६६ र मकैमा ५९ किसानको खातामा पुरस्कार रकम प्रदान गरिएको थियो।  

गाउँपालिकाले सूचना जारी गरेपछि किसानले आवेदन दिएका थिए। आवेदन प्राप्त भएपछि किसानको घरमै पुगेर अनुगमन गरिएको थियो । यस्तै ३५ मनभन्दा धेरै आलु फलाउने किसानले २८ हजार रूपैयाँका दरले १४ लाख रूपैयाँ पुरस्कार पाएका थिए। 

प्रकाशित: ५ श्रावण २०७८ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App