coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्थानीय र भीमाद यातायात व्यवसायीबीच एकीकरण

दुई यातायात व्यवसायी मर्ज भएको घोषणा गर्दै । तस्बिरः सन्देश÷नागरिक

गण्डकी प्रदेशका दुई यातायात कम्पनिबीच एकीकरण भएको छ । स्थानिय यातायात प्रालि (कास्की) र भीमाद यातायात प्रालि (तनहुँ) बीच एकीकरण भएको हो ।  पोखरामा सोमबार एक कार्यक्रमबीच स्थानीय यातायातका अध्यक्ष केदारप्रसाद पौडेल र भीमाद यातायातका महेन्द्रबहादुर श्रेष्ठले संयुक्त रुपमा दुई यातायात कम्पनि एक भएको घोषणा गरे ।

अब यी दुई यातायात कम्पनिले एकीकृत रुपमा व्यवसाय सञ्चालन गर्ने भएका छन् । साथै एकले अर्को ठाउँको रुटमा गाडी सञ्चालन गर्न समेत दिने भएका छन । एकीकरण भएका दुई यातायात कम्पनि मध्ये स्थानिय यातायातमा २२५ र भीमाद यातायातमा ८० भन्दा बढी सवारी साधन रहेको बताएका छन् ।  

पोखरादेखि कास्कीसहित तनहुँ, स्याङ्जा, पाल्पा लगायतका जिल्लाका विभिन्न ठाउँहरुमा सञ्चालन हुने स्थानिय यातायातका जीप, हायस लगायतका गाडी छन् । भीमाददेखि काठमाडौं, पाल्पा, स्याङ्जा, रामपुर, नवलपरासी लगायतका जिल्लाका विभिन्न ठाउँमा सञ्चालन हुने भीमाद यातायातले जीप, मिनिबस, हायस लगायतका सवारी सञ्चालन गर्दै आएको छ ।

एकीकरण घोषणा गरिएपनि एकीकृत यातायात प्रालिको नामाकरण भने गरिएको छैन । नाममा छलफल गर्दा एकीकरणमा असर पर्ने भएकाले तत्काल एकीकरण गर्ने र पछि नाम तय गर्नेगरी एकीकरण गरिएको दुई संस्थाले जनाएका छन् । दुवै संस्था घाटामा रहेकाले हाल दुबै संस्थाको कुल पुँजी कति छ भन्ने यकीन भइनसकेको बताइएको छ । एकीकरणपछि यातायात प्रालिको अध्यक्षमा स्थानियका केदार पौडेललाई अध्यक्ष र भीमाद यातायातका महेन्द्रकुमार श्रेष्ठलाई सह–अध्यक्ष तोकिएको छ ।

घोषणा कार्यक्रममा बोल्दै एकीकरण पछिको संयुक्त यातायात प्रालिका अध्यक्ष केदारप्रसाद पौडेलले छिन्नभिन्न हुने अवस्थामा पुगेको यातायात क्षेत्रलाई बचाउन दुई यातायात कम्पनिबीच एकीकरण गरिएको बताए । उनले २–३ वर्ष अघिदेखि नै एकीकरण गर्ने प्रयास भइरहेपनि अहिले आएर त्यसले सार्थकता पाएको बताए । उनले एकीकरणपछि बन्ने एकीकृत यातायात कम्पनि बलियो हुनुका साथै सेवा बिस्तार, शाखा बिस्तार गर्दै व्यवसायीको कमाईसमेत बृद्धि हुने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा अन्य यातायात प्रालिसँगपनि मर्ज गर्दै लैजाने योजना रहेको उल्लेख गरे ।

एकीकरणपछि बनेको यातायात प्रालिका सह–अध्यक्ष महेन्द्रकुमार श्रेष्ठले फुटेर भन्दापनि जुटेर अघि बढ्दा संस्था बलियो हुने र व्यवसायीको कमाईपनि बढ्ने बताए । उनले छरपष्ट रहेको यातायात क्षेत्रलाई एकीकरण गर्दै उद्योगको रुपमा विकास गर्ने उद्देश्यले आफूहरु एकीकृत भएको बताए । एकीकरण घोषणा कार्यक्रममा दुबै यातायात प्रालिका सञ्चालक समितिका पदाधिकारी सहभागी थिए । 

प्रकाशित: ४ श्रावण २०७८ ११:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App