९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

गत वर्ष १३० मेगावाट व्यापारिक उत्पादन

गत आर्थिक वर्षमा बहुचर्चित मािथल्लो तामाकोसी जलविद्युत आयोजनाको दुईवटा युनिटबाट १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो। सोही वर्ष निजी क्षेत्रबाट निर्माणाधीन एक दर्जनभन्दा धेरै जलविद्युत् आयोजनाका उत्पादन राष्ट्रिय  प्रसारणमा जोडिए।  

अपर तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानले गत आर्थिक वर्षमा उक्त आयोजनाको दुईवटा युनिटको १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान भएको बताए। ‘गत असार २१ गते पहिलो युनिटको ७६ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो,’ उनले भने, ‘असारको अन्तिम साता अर्काे युनिटबाट ७६ मेगावाट जोडियो।’ १५ दिनको प्राविधिक परीक्षणपछि मात्रै तामाकोसीको व्यापारिक परीक्षण सुरु गरिने उनले जानकारी दिए।  

१८ महिनापछि सिंगटी प्रसारण लाइनमा  

२५ मेगावाटको सिंगटी खोला जलविद्यत् आयोजनाबाट उत्पादित बिजुली साउन १ गतेदेखि राष्ट्रिय प्रसारणमा जोडिएको छ। दोलखा जिल्लामा निर्मित यो आयोजनाको बिजुली निर्माण सम्पन्न भएको १८ महिनापछि राष्ट्रिय ग्रिडमा आएको हो। आयोजना निर्माण सकिए पनि प्रसारण लाइन अभावले बिजुली जडान हुन सकेको थिएन। 

नेपाल विद्युत् प्राधिकरणले बिहीबारदेखि १३२ केभीको सिंगटी लामोसाँघु प्रसारण लाइन सञ्चालनमा ल्याएसँगै यसको बिजुली राष्ट्रिय प्रसारणमा आएको हो। आयोजनाका प्रबन्ध निर्देशक गणेश कार्कीले समयमै प्रसारण लाइन नबन्दा एक अर्ब रूपैयाँभन्दा धेरै नोक्सानी बेहोर्नुपरेको बताए। ‘ऋण–धन गरेर निर्माण गर्‍यौं, समयमै प्रसारण लाइन नबन्दा झण्डै एक अर्ब रूपैयाँ नोक्सानी बेहोर्नुपर्‍यो,’ उनले भने, ‘कोभिड–१९ को कारण देखाएर उल्टै क्षतिपूर्तिसमेत नपाउने अवस्था सिर्जना भएको छ।’ यो आयोजनाको लागत पाँच अर्ब तोकिएको थियो। निर्माण ढिलो हुँदा ब्याज मात्रै एक अर्ब रूपैयाँ पुग्ने भएको छ।

प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले गत आर्थिक वर्षमा करिब ३२२ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिएको बताए। उनले भने, ‘यो विवरण साउन १ गते जोडिएको सिंगटी सहितको हो।’ प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा निजी क्षेत्रबाट ११८ मेगावाट र सोलार तथा बायोमास गरेर १३० मेगावाट व्यापारिक उत्पादन सुरु भएको हो।  

प्राधिकरणका प्रवक्ता तिमल्सिनाले गत आर्थिक वर्षमा लक्ष्य अनुसार बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न नसकेको बताए। ‘गत आर्थिक वर्षमा निर्माणाधीन करिब १५ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेका थियौं। कोभिड–१९ र बाढीपहिरोको कारण लक्ष्य भेट्न सकेनौं,’ उनले भने, ‘ठेकेदार कम्पनीको ढिलासुस्ती र अन्य कारणले पनि लक्ष्य अनुसार बिजुली उत्पादन हुन नसकेको हो।’  

प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ मा निजी क्षेत्रबाट सोलार, बायोमास गरेर १३० मेगावाट बिजुली व्यापारिक उत्पादन भएको जनाएको छ। गत आर्थिक वर्षदेखि साउन ३ गतेसम्म ३ सय २२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान भएको छ। 

प्रकाशित: ४ श्रावण २०७८ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App