७ वैशाख २०८१ शुक्रबार
अर्थ

गाँउपालिकाले तोक्यो कृषि उत्पादनको न्यूनत्तम समर्थन मूल्य

पाँचथरको मिक्लाजुङ गाँउपालिकाले कृषि उत्पादनको न्यूनत्तम समर्थन मूल्य तोकेको छ। कृषकको उत्पादनले राम्रो मूल्य नपाउँदा उत्पादन लागत समेत नउठ्ने बाध्यतालाई न्यूनीकरण गर्न पालिकाले न्यूनत्तम समर्थन मूल्य निर्धारण गरेको हो।  

गाँउपालिका प्रमुख अमर माखिमका अनुसार न्यूनत्तम मूल्यभन्दा कम बजार भाउ भए गाँउपालिकाले व्यहोरी दिने गरी निर्णय गरिएको छ। उत्पादन लागतलाई मध्यनजर गरी न्यूनत्तम समर्थन मूल्य निर्धारण गरिएको माखिमले जानकारी दिए। उनका अनुसार आलु, प्याज र लसुनमा न्यूनत्तम मूल्य निर्धारण गरेको हो।

साथै यी उत्पादनको बिउ किन्नका लागि कूल लागतको ५० प्रतिशत मूल्य गाँउपालिकाले सापटी दिने निर्णय समेत गरेको माखिमले जानकारी दिए।  

न्यूनत्तम मूल्य निर्धारणसँगै जैविक खेतीलाई समेत प्रोत्साहन गर्न खोजिएको माखिमले बताए। ‘कम्पोष्ट तथा गोठेमल र झारपात कुहाएर बनाएको बिषाधी तयार गरी भएको उत्पादनमा न्यूनत्तम समर्थन मूल्य निर्धारण गरेका छौँ। यसको अनुगमन सम्बन्धित शाखाबाट हुन्छ’ माखिमले भने ‘यी खेती गर्न चाहने किसानलाई बिउ किन्नका लागि कूल लागतको आधा मूल्य गाउँपालिकाले सापटी दिने छ। किसानले उत्पादन बिक्री गरेपछि फिर्ता दिनुपर्ने छ।’

उनका अनुसार ग्रेडिङ गरिएको आलु ठूलो साइजको हिउँदे प्रतिकेजी ४० र बर्षे प्रतिकेजी ४५ मूल्य निर्धारण गरिएको छ। सानो साइजको बर्षे प्रतिकेजी ४० र हिउँदे प्रतिकेजी ३५ निर्धारण गरिएको छ। यस्तै उन्नत जातको प्याज प्रतिकेजी ५० र स्थानीय जातको प्याज प्रतिकेजी ४५, सुकेको स्थानीय जातको  लसुन १ सय १० रुपैयाँ र सुकेको लसुन चाईनीज ९० रुपँयाँ निर्धारण गरिएको छ।

प्रकाशित: ३१ असार २०७८ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App