coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सीमा नाका खुकुलो : भारतीय बजारमा नेपाली ग्राहकको चाप

मंगलबार साँझको करिब पाँच बजेको छ। बाँकेस्थित जमुनाह नाकाबाट किनमेलका लागि भारतीय बजार रुपैडिहा जाने नेपालीको बाक्लो चहलपहल देखिन्छ। सीमा नाका बन्द भए पनि प्रहरी पाष्टनेरबाट एकएक व्यक्ति गर्दै रुपैडिहा प्रवेश गरिरहेका छन्। कोभिड–१९ (कोरोना भाइरस) जोखिम कम गर्न नेपाल सरकारले बन्द गरेको नेपाल–भारत सीमा खुलाउन पछिल्लो निर्णय नगरे पनि जमुनाह नाका किनमेलका लागि खुला छ।

भारतसँगको सीमा नाकामा जारी अवरोध नहटे पनि नेपाली ग्राहक भारतीय बजारमा सहजै आवतजावत गरिरहेका छन्। बिनारोकावट दैनिक उपभोग्य सामग्री खरिद गरेरे ल्याउने गरेका छन्। जसले कोरोना भाइरसको जोखिम बढाएको स्थानीयहरु बताउँछन्।

नेपाल–भारतबीचको सीमा नाका पूर्ववत् किसिमले त खुलेको छैन तर बन्द अवस्थामा पनि देखिँदैनन्। सस्तोमा सामान पाइने हुँदा कोरोना भाइरसको जोखिमका बीच नेपालीहरु किनमेलका लागि सीमावर्ती भारतीय बजारमा पुग्ने गरेका छन्। सीमा नाका रोजगारीका लागि भारत गएर घर फर्किएकाहरुका र किनमेलका लागि गएकाहरुको शंकास्पद भएमा मात्र पीसीआर परीक्षण गरिन्छ।

दुई देशबीचमा पूर्ववत् तरिकाले सवारीसाधन भने चलेका छैनन्। नेपालतिरका सवारी साधन नाकासम्मै पुग्छन् भने उताका सीमाभन्दा करिब ५० मिटरसम्म सवारीसाधन पुग्छन्।

भारतसँगका नाका खुलाउन नेपाल सरकारले निर्णय नगरे पनि व्यवहारिक रुपले नाकामा केही खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रवक्ता दीर्घराज उपाध्यायले जनाए। ‘सीमा खुलाउने भन्ने केही परिपत्र आएको छैन,’ उनले भने, ‘व्यवहारिकरुपमा किनमेलका लागि नाका खुकुलो बनाएका छौं।’  

भारतीय नागरिक, नेपाली कामदार र कर्मचारीहरुलाई भने स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेशका लागि अनुमति दिइएको छ। नेपाल र नेपालगन्जसँग सीमा जोडिएको रुपैडिहामा कोरोना भाइरसको जोखिम कम भएकाले पनि नाकामा केही खुकुलो पारिएको उनको भनाइ छ। कोरोनाको जोखिम कम हुँदा पनि नाका पूर्णरुपले बन्द हुँदा स्थानीयले विरोध गर्न सक्ने भन्दै उनले भने, ‘नागरिकको सहजताका लागि नाका सामान्य खुकुलो छ।’

यता नेपालगन्जमा बजार खुले पनि किनमेलका नागरिक बन्द सीमाबाट रुपैडिहा जाँदा यहाँको व्यापार उकालो लाग्न सकेको छैन। लामो बन्दाबन्दी (लकडाउन)पछि पसल खोलेका व्यापारहरुले सीमा नाका सरकारले निर्णय नगर्दासम्म बन्द हुनुपर्ने बताएका छन्। ‘सरकार नाका खुला गर्ने निर्णय गरेको छैन,’ नेपालगन्जकी व्यापारी जामिया खातुनले भनिन्, ‘स्थानीय प्रशासनले आफूखुसी नाका खुकुलो बनायो। कोरोनाको जोखिम न्यूनीकरण नहुँदै सीमा खोल्नु राम्रो होइन।’  

नेपाली ग्राहकले चलेका भारतीय सिमावर्ती बजारमा सिमानाका खुकुलो बनेपछि पुनः चहलपहल बढ्दो छ। नेपाली ग्राहकले भारतीय बजार भरिभराउ छन्। नेपालसँग सीमा जोडिएका नाका खुकुलो हुँदा भारतीय व्यापारी खुसी भएका छन् ।

सुदूरपश्चिममा पनि खुकुलो

सरकारले लगाएको लकडाउन र स्थानीय प्रशासनले बेलाबेला लगाएको निषेधाज्ञा खुकुलो भएसँगै भारततर्फको आवागमन बढेको छ। सुदूरपश्चिमका दुईवटा सीमा नाकाबाट ओहोरदोहोर गर्नेको संख्या दैनिक बढ्दो छ। कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीबाट दिनहुँ सयौं मानिस ओहोरदोहोर गरिरहेका छन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार दैनिक करिब चार हजार मानिस भारततर्फ गइरहेका छन्। भारततर्फ जानेको तुलनामा नेपाल आउनेको संख्या न्यून छ।

नेपालतर्फ दैनिक करिब दुई सयको हाराहारीमा मानिसहरु आउने गर्छन्। ‘सीमा क्षेत्रको अवस्था खुकुलो बन्दै गएको छ,’ उनले भने, ‘धेरै संख्यामा मानिसहरु भारततर्फ गइरहेका छन्।’

नेपालतर्फ आउने विदेशी नागरिकलाई ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट आवश्यक पर्ने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए। उनले नेपाली नागरिकका हकमा भने सीमा क्षेत्रमा रहेको हेल्थ डेस्कमा चेकजाँचको व्यवस्था गरिएको बताए।

उता कञ्चनपुरको गड्डाचौकीमा पनि नेपालतर्फ आउनेभन्दा जानेको संख्या अधिक छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले नेपालतर्फ आउनेको भन्दा भारततर्फ जानेको संख्या दोब्बरभन्दा धेरै रहेको जानकारी दिए। उनका अनुसार दैनिक करिब दुई सय मानिस नेपालतर्फ आइरहेका छन् भने करिब सात सय भारततर्फ गइरहेका छन्। गड्डाचौकीमा समेत नेपालतर्फ आउने व्यक्तिहरुलाई सीमा नाकामै चेकजाँचको व्यवस्था गरिएको छ।

उनीहरुको स्वास्थ्य परीक्षण गरेपछि नेगेटिभ भए सवारी साधनमा राखेर जिल्लासम्मै पुर्याउने र पोजेटिभ भए स्वास्थ्य संस्थामा राखेर उपचारको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।  

सरकारले औपचारिक रुपमा भारतसँगको सीमा खुल्ला नगर्दै ओहोरदोहोर गर्नेको संख्या बढेपछि कोरोनाको जोखिम समेत बढेको छ। सुदूरपश्चिमका नौ जिल्लाका मानिसहरु रोजगारीका लागि भारत जाने चलन छ। उनीहरु खेतीपाती सकेर भारततर्फ जाने क्रम बढेको छ।

प्रकाशित: ३० असार २०७८ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App