coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बुधबारदेखि लामो दूरीमा बस चलाउने यातायात व्यवसायीको तयारी

पोखरा पृथ्वीचोकस्थित बसपार्कमा पार्किङ गरिएका बस । तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणको दोश्रो लहर सुरु भएसँगै स्थानीय प्रशासनले निषेधाज्ञा लागु गरेपछि लामो दूरीको सार्वजनिक यातायात बन्द भएको थियो । संक्रमण कम भएको भन्दै सरकारले हवाई यातायात, जिल्लाभित्रको सार्वजनिक यातायात र बजार खुला गरेपनि लामो दूरीको सार्वजनिक यातायात भने अझै संचालन गर्न अनुमति दिएको छैन ।  

सरकारले लामो दूरीको सार्वजनिक यातायात संचालन गर्न रोक लगाएपनि यातायात व्यवसायीले अटेर गर्दै सेवा थाल्ने तयारी गरेका छन् । लामो तथा छोटो दूरीमा बस सेवा संचालन गर्दै आएको पृथ्वी राजमार्ग बस संचालक कम्पनिले निषेधाज्ञा नहटाएपनि आगामि बुधबारदेखि देशभर लामो तथा छोटो दूरीको सार्वजनिक यातायात संचालन गर्ने बताएको छ ।  

‘निषेधाज्ञा रहेकै बेला पनि लामो तथा छोटो दूरीमा सार्वजनिक यातायात संचालन गर्ने रहर नभई दैनिक रोजीरोटीको व्यवस्था गर्न गरिएको अप्रिय निर्णय हो,’ कम्पनिका अध्यक्ष योगेन्द्रबहादुृर केसीले सोमबार पत्रकार भेटघाटमा भने, ‘सकेसम्म सरकारले नै सहज ढंगले लामो दूरीको यातायात सेवा संचालनल गर्ने वातावरण मिलाओस भन्ने चाहेका थियौ । तर, सरकारले त्यो गरेन, सरकारले वेवास्ता गरेपनि हामी बाध्य भयौं ।’ केसीका अनुसार बुधबारदेखि कम्पनिले आफ्ना काउन्टर खुला गरि टिकट बुकिङ गरेर यातायात सेवा संचालन गर्ने तयारी भएको छ ।  

कोरोनाको दोश्रो लहरको प्रभाव कम हुँदै गएपनि विभिन्न पेशा व्यवसाय खुला भएपनि लामो दूरीको सार्वजनिक यातायात सेवा संचालन हुन नसकेको उनले बताए । ‘सरकारले मध्यम तथा लामो दूरीको यातायात संचालन गर्दा कोरोना संक्रमण बढ्छ भन्ने जस्तो तथ्यगत आधारबिना पेशा व्यवसायमा रोक लगाउनु न्यायोचित होइन,’ केसीले भने, ‘राज्यले सबै व्यवसायिक क्षेत्र चलायमान गराएपनि लामो दूरीको सवारीसाधनप्रतिको विभेदलाई भद्र अवज्ञा गर्न थालेका हौ । सरकारले रोकेर अब लामो दूरीको सार्वजनिक यातायात संचालन हुनबाट रोकिन्न ।’ सरकारले गत बैशाख १६ देखि लामो दूरीको सार्वजनिक यातायात सेवा बन्द गराएको थियो ।

व्यवसायी र तिनमा निर्भर हजारौं मजदुरको दैनिक रोजीरोटीको व्यवस्था गर्नका लागि पनि सवारी साधन संचालन गर्न बाध्यात्मक परिस्थिति निर्माण भएको उनले बताए । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गराएर सिमित संख्यामा सवारी संचालन गर्ने र यात्रुको मागको आधारमा बढाउँदै लैजाने पनि उनले बताए । यात्रा गर्ने सवारीका यात्रुका लागि स्यानिटाइजरको व्यवस्था बस संचालकले गर्ने र मास्क बिना यात्रा गर्न नदिइने पनि उनले बताए ।  

यात्रुसँग मास्क नभएमा सहचालकले १० रुपैैयाँ लिएर उपलब्ध गराउने पनि उनले जानकारी दिए । ‘हामीले संचालनमा आएका सवारीलाई दिनहुँ निसंक्रमित पनि गर्नेछौं । आम नागरिकको स्वास्थ्यप्रति हामी संवेदनशील छौ,’ उनले भने, ‘अहिले त व्यवसायी मात्र धरासायी नभई मजदुर क्षेत्र झनै बढी मारमा परेका छन । यातायातमा निर्भर मजदुरलाई रोजीरोटीको नै सकस छ ।’ सवारी साधन संचालन गर्न नपाउँदा दैनिक रोजीरोटीको समस्या जटिल बन्दै गईरहेको पनि उनले बताए । अघिल्लो वर्ष र योपटकको लकडाउनले कम्पनिमा आवद्ध भन्डै १० प्रतिशत यातायात व्यवसायी बिस्थापित भईसकेको पनि केसीले बताए ।  

अध्यक्ष केसीका अनुसार पृथ्वीले सबै रुटमा सिमित संख्यामा गाडी संचालन गर्ने तयारी छ । रात्री र दिवा गरेर ४ सय रुटमा पृथ्वीमा आवद्ध गाडी गुड्दै आएका छन । ‘लामो दूरीका गन्तव्यमा पहिलो चरणमा कम्तिमा एउटा गाडी पठाउँछौ । अहिले यात्रु पनि भनेजति नपाइएलान, तर बस सेवा सुरु भएको सन्देश दिन जरुरी छ,’ उनले भने, ‘कतिपय गन्तव्यमा धेरै संख्यामा गाडी चल्ने भएपनि यात्रुको अवस्था र माग हेरेर थोरै संख्यामा संचालन गर्ने हो ।’ अहिलेलाई पुरानै भाडादरमा यात्रुलाई सेवा दिने उनले बताए ।

व्यवसायी सोमबार नै कास्की प्रशासनमा यसबारेमा जानकारी गराएका छन । कास्की प्रशासनले लामो दूरीको सार्वजनिक यातायात संचालनमा सहजीकरण गर्ने आश्वासन दिएको उनले बताए । पृथ्वी राजमार्ग बस संचालक कम्पनिमा हाल १४ सय विभिन्न प्रकृतिका सवारी साधन रहेका छन । ती सवारीमा ७२ सयजना मजदुर आवद्ध छन ।

 नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष ऐनकुमार साई व्यवसायी निकै नै मारमा परेकोले गाडी गुडाउन बाध्य भएको बताउँछन । महासंघले केहीदिन पर्खिन भनेको भएपनि मजदुरको अवस्थाले गर्दा व्यवसायीले हतार गर्न बाध्य भएको उनले सुनाए । ‘मजदुरले व्यवसायीको ढोका ढकढकाउन आउने बेला भयो । कि त सबै गाडी रोक्नुपर्ने हो, नत्र सिमित गाडीलाई संचालन गर्न दिनुपर्छ,’ साइले भने, ‘व्यवसायी र मजदुर बाच्ने व्यवस्था मिलउनुपर्छ । लामो समय रोकिराख्दा निकास दिन जरुरी छ ।’ 

प्रकाशित: २८ असार २०७८ ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App